कञ्चनपुर, १५ भदौ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले कञ्चनपुरका पालिका स्तरमा सङ्गठन विस्तार गरिरहेको छ । शैक्षिक विकृति विसङ्गति नियन्त्रण एवं जिल्ला र केन्द्रीय सम्मेलनका लागि भन्दै क्रान्तिकारीले कञ्चनपुरका स्थानीय तह स्तरमा सङ्गठन विस्तारमा जोड दिएको छ । अखिल क्रान्तिकारी कञ्चनपुरका सचिव किशोर भट्टले पुर्ववत एमाले-माओवादी केन्द्र एक भई नेकपा हुँदा विद्यार्थी सङ्गठन सक्रिय हुन नसकेको अवस्थामा शैक्षिक माफियाको चलखेल बढेकोले अब शैक्षिक विकृति रोक्दै शिक्षा क्षेत्रमा सुधारका लागि क्रान्तिकारीले हरेक विद्यालय, क्याम्पस तथा विश्वविद्यालय सहित पालिका स्तरमा समेत साङ्गठनिक संरचनाको खाँचो परेकाले कञ्चनपुरका पालिकाहरूमा सङ्गठन विस्तार अभियान सुरुवात गरेको जनाएको छ । क्रान्तिकारी कञ्चनपुरका सचिव भट्टले मंगलबार बेलडाँडी गाउँपालिकामा सङ्गठन विस्तार गरिएको बताउनु भयो ।
अखिल क्रान्तिकारी बेलडाँडीको भेलाले नरेन्द्र शाहको अध्यक्षतामा सङ्गठन विस्तार गरेको छ । उपाध्यक्षमा दिनेश ठकुराठी र कमला जोशी, सचिवमा दिनेश जोशी, सहसचिवमा ललित साउद, पार्वती भट्ट र रेखा शाह तथा कोषाध्यक्षमा जगत रावल चयन हुनु भएको छ । त्यस्तै, सदस्यहरूमा विद्या शाह, विमला लुहार, महेश साउद, किरण कुँवर, नीरज भट्ट, महेश भट्ट, कमलेश चौधरी, दीपक जोशी, धर्मेन्द्र कलौनी, लक्ष्मण भट्ट र सागर भट्ट चयन हुनु भएको छ । नेकपा माओवादी केन्द्र बेलडाँडीकी नेतृ द्वय कल्पना गिरी र रमा बिष्ट, माओवादी नेताहरू भुवन एस्.के., मोहन गिरी, वाईसियल इन्चार्ज चेत बहादुर शाह, क्रान्तिकारी कञ्चनपुरका उपाध्यक्ष कैलाशचन्द्र गिरी, उपाध्यक्ष प्रेम रावल, सचिव किशोर भट्ट, कोषाध्यक्ष सुरेश भट्ट, क्रान्तिकारी नेता डम्बर कुँवर, भुवन सिंह बिष्ट सहितको उपस्थितिमा सङ्गठन विस्तार भएको हो ।
भदौ २४ गते हुने जिल्ला सम्मेलनको तयारी कमिटीका बेलडाँडी-बेलौरी इन्चार्ज समेत रहेका क्रान्तिकारी कञ्चनपुरका उपाध्यक्ष कैलाशचन्द्र गिरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रेम रावल, सचिव किशोर भट्ट कोषाध्यक्ष सुरेश भट्ट, क्रान्तिकारी नेता डम्बर कुँवर, भुवन सिंह बिष्ट लगायतका वक्ताहरूले शैक्षिक सुधार, गुणस्तरीय शिक्षा र शिक्षा क्षेत्रमा देखिएका शैक्षिक विकृति हटाउनका लागि क्रान्तिकारीले सशक्त रूपमा सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभएको छ । अन्य पालिकाहरूमा समेत क्रमिक रूपमा सङ्गठन विस्तार गरिने क्रान्तिकारी कञ्चनपुरका उपाध्यक्ष एवं सम्मेलन तयारी आयोजक कमिटीका बेलडाँडी-बेलौरी इन्चार्ज कैलाशचन्द्र गिरीले बताउनु भयो ।