हरिश्चन्द्र बाग, कञ्चनपुर, १२ भदौ । कञ्चनपुरको पुनर्वासमा फुटबल प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ । लालझाडी युवा क्लब ११ को आयोजनामा शनिबारदेखि फुटबल प्रशिक्षण कार्यक्रम सुरु गरिएको क्लबका अध्यक्ष काशीराम बोहराले बताउनु भयो । पुनर्वास नगरपालिका वडा नम्बर १० बाइसेविचवा स्थित क्लबको खेल मैदानमा अबदेखि निरन्तर नि:शुल्क फुटबल प्रशिक्षण गराई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म फुटबल खेल्न सक्ने क्षमतावान खेलाडी तयार गर्ने योजनाका साथ क्लबले फुटबल प्रशिक्षण कार्यक्रमको शुभारम्भ गरिएको अध्यक्ष बोहराको भनाइ छ ।
शनिबार अपराह्न क्लबको खेल मैदानमा आयोजित औपचारिक कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पाले फुटबल प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नुभएको छ । क्लबले फुटबल एकेडेमीका रूपमा कार्य गर्ने इच्छा व्यक्त गर्दै त्यसको अनुमतिका लागि एन्फाका अध्यक्ष शेर्पालाई ज्ञापन पत्र समेत बुझाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पाले शिक्षा र खेलकुदलाई एकसाथ अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो । उहाँले कोभिड १९ को महामारीको कारण थला परेको खेलकुद गतिविधिलाई चलायमान बनाउन सरकारसँग अनुरोध गर्नुभयो । खोप लगाएरै भएपनि खेलकुदका कार्यक्रम सञ्चालन गर्ने वातावरण बनाउनु पर्ने उहाँको भनाइ छ ।
त्यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिकाका उपप्रमुख शारदा शर्मा बिष्टले नगरपालिकाबाट खेलकुद प्रशिक्षणका लागि गर्न सकिने सहयोगका लागि कार्यपालिकाको बैठकमा प्रस्ताव लैजाने बताउनु भयो । उहाँले नगर क्षेत्र भित्रका खेलाडीहरूको स्तरोन्नतिका लागि पुनर्वास नगरपालिकाले समेत नीति र योजनामै समावेश गरेको बताउनु भयो । कार्यक्रममा एन्फाका केन्द्रीय उपाध्यक्ष एवं ग्रासरूट फुटबल कार्यक्रमका संयोजक उपेन्द्रमान सिंह, सुदूरपश्चिम प्रदेश फुटबल संघका अध्यक्ष दिनेश श्रेष्ठ, कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्द, पुनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण बहादुर तामाङ लगायतका वक्ताहरूले लालझाडी युवा क्लब ११ ले सुरु गरेको फुटबल प्रशिक्षण अभियानको प्रशंसा गर्नु भएको छ ।
फुटबल प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा एन्फाका केन्द्रीय सहायक महासचिव भीम बहादुर थापा, एन्फाका केन्द्रीय सदस्य प्रकाश सिंह बिष्ट, प्रदेश, जिल्ला र स्थानीय क्षेत्रमा रहेका खेलकुद सम्बन्धी संघसंस्थाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी, समाजसेवी, बुद्धिजीवी, युवा तथा खेलाडीहरूको पनि उपस्थिति रहेको थियो । ग्रामीण क्षेत्रमै नि:शुल्क फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन हुन थालेपछि खेलाडीहरू र खेलकुद प्रेमीहरूले खुसी व्यक्त गर्नुभएको छ । क्लबले आफ्नो स्थापना काल देखि नै खेलकुद सहित सामाजिक कार्यक्रममा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।