हरिश्चन्द्र बाग र धन बहादुर बि.क., कञ्चनपुर, ११ भदौ । सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा परेको अविरल वर्षाको कारण दोँदा लगायतका अधिकांश नदीहरूमा आएको बाढीले कञ्चनपुरको दक्षिणी क्षेत्र समेत डुबानमा परेको छ । दोँदा नदीमा आएको बाढी बस्तीमा पसेपछि कञ्चनपुरको लालझाडी गाउँपालिका, पुनर्वास नगरपालिका र बेलौरी नगरपालिकाका केही क्षेत्र डुबानमा परेका हुन् ।
लालझाडी र पुनर्वासका २ सय भन्दा बढी घरधुरी डुबानमा परेका छन् । डुबानबाट मानवीय क्षति नभए पनि घरमा भण्डारण गरी राखिएको अन्नबाली, खेतीपाती र पशु चौपाया पानीले बगाएको स्थानीयहरूले बताएका छन् । लालझाडी गाउँपालिकामा किसानले पालन गरेका माछा समेत बाढीले बगाएको लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले जानकारी दिनु भएको छ ।
बाढीका कारण डोकेबजार–बेलौरी हुलाकी राजमार्गको कालोपत्रे सडकमा पनि क्षति पुगेको छ । बाढीले डुबानमा परेका मानिसहरूलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस र सँगसँगै अभियानका अभियन्ता सहित स्थानीय सक्रिय युवाहरूको टोलीले उद्धार गरी सुरक्षित स्थानमा पु¥याएको छ । नेपाल प्रहरीले गएराति १२ बजे बाढीको सूचना पाएको र लगत्तै अलर्ट साइरन बजाएकोले अधिकांश मानिस सुरक्षित स्थानमा बसेको हुँदा मानवीय क्षति हुन नपाएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टको भनाइ छ ।
अकस्मात् गाउँ पसेको बाढीले घर डुबानमा परेका व्यक्तिहरूको तत्काल उद्धार गरिएको र उहाँहरूका लागि खाना र बस्नका लागि नजिकैको विद्यालयमा व्यवस्थापन मिलाइसकेको विपद् व्यवस्थापन समितिका अध्यक्ष तीर्थ राज रानाले बताउनु भयो । माटोको गाह्रो प्रयोग गरी बनाइएका कच्ची घरहरू भत्किएका छन् । घरमा फर्किने अवस्था नआउँदासम्म पीडित व्यक्तिहरूलाई खाना बस्न र औषधी उपचारका लागि नगरपालिकाले व्यवस्था गर्ने पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन राज थापा बताउनु भयो ।
उता कञ्चनपुर र कैलालीको सिमाना भएर बग्ने राजघाट मोहना नदीमा समेत बाढी आएको छ । चुरे क्षेत्रमा भएको भारी वर्षापछि मोहना नदीमा बाढी आएको हो । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार गएराति मोहना नदीले खतराको सतह पार गरेकोले आवतजावत गर्न अवरुद्ध भएको बताउनु भयो । मोहना नदीमा पानीको बहाव बढेसँगै धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरबाट कञ्चनपुरको कृष्णपुर स्थित राजघाट जोड्ने पक्की पुलमा आवागमन अवरुद्ध भएको छ ।
पुलको निर्माण सम्पन्न नभए पनि माटो भरान गरेर सोही पुल भएर आवागमन हुने गरेको थियो । तर भरान गरिएको माटो बगाए पछि अहिले आवतजावत नै ठप्प भएको स्थानीय समाजसेवी मोहनसिंह महराले बताउनु भयो । अविरल वर्षाका कारण बाढीले धनगढी–राजघाट जोड्ने स्काई फोल्डिङ पुलमा समेत असर गरेकोले आवतजावत बन्द रहेको बताइएको छ । क्षतिको पूर्ण विवरण आउन भने बाँकी नै छ ।
बाढी पीडितहरूको उद्धार र राहत वितरणमा रेडक्रसको पनि योगदान ।।
धनबहादुर बिक, कञ्चनपुर, ११ भदौ । कञ्चनपुरको दक्षिणी क्षेत्रमा शुक्रबार बिहानैदेखि एक्कासि आएको बाढीले प्रभावित बनेका क्षेत्रमा नेपाल रेडक्रस सोसाइटी पुनर्वास उपशाखाको टोलीले पनि उल्लेखनीय भूमिका निर्वाह गरेको छ । उपशाखाको टोलीले बाढी प्रभावित पुनर्वास नगरपालिका वडा नम्बर ५ सिमरी र रातोखाल गाउँमा पुगी उद्धारमा खटिएका प्रहरी प्रशासन र जनप्रतिनिधिहरूसँग हातेमालो गर्दै सो क्षेत्रका बाढी प्रभावित पीडितहरूको उद्धारमा खटिएको हो । रेडक्रस पुनर्वास उपशाखाको टोलीले शुक्रबार नै बाढीपीडित परिवारहरूलाई १२ पेटी चाउचाउ, ५ पेटी शुद्ध पिउने पानी समेत उपलब्ध गराएको छ ।
पुनर्वास उपशाखाका सभापति युवराज सुंयल, सचिव रूपेश खरेल, कोषाध्यक्ष कल्पना श्रेष्ठ, सहसचिव नवीन तिमिल्सिना, सदस्य मित्र सिंह लामा, पुनर्वास नगर कार्यपालिका सदस्य शकुन्तला क्षेत्री, वडा सदस्य लालबहादुर राना लगायतको उपस्थितिमा उद्धार तथा राहत वितरण कार्यक्रम गरिएको सचिव रूपेश खरेलले जानकारी दिनुभयो । तत्कालका लागि आंशिक रूपमा राहत वितरण गरिएको र समस्या जटिल हुँदै गएमा बाढीबाट प्रभावित व्यक्तिहरूका लागि थप राहतका कार्यक्रम ल्याउन पहल गरिने रेडक्रस उपशाखा सभापति युवराज सुंयलले बताउनुभयो ।