हरिश चन्द्र बाग, कञ्चनपुर, ११ भदौ । सुदूरपश्चिममा औपचारिक रूपमा शुक्रबारबाट गौरा पर्व सुरु भएको छ । सुदूरपश्चिममा बस्ने पहाडी समुदाय र सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा पुर्ख्यौली घर भई हाल अन्यत्र बस्ने आस्थावान् विवाहित महिलाहरू गौरा पर्वमा व्रत बस्ने गर्दछन् । सुदूरपश्चिमेली पहाडी समुदायको महान् चाड गौरा पर्वले सुदूरपश्चिममा रौनकता छाएको छ । गौरा पर्वलाई धार्मिक आस्था र मौलिक विशेषताको पर्वका रूपमा लिने गरिन्छ । पञ्चमीका दिन महिलाहरूले व्रत बसी गहुँ, केराउ, गहत, मास र गुरौँस मिसाएर तयार गरिएको बिरुँडालाई तामाको भाँडामा धोएर भिजाउने चलन रहेको संस्कृतिका जानकार भानुदेवी बागले जानकारी दिनुभयो ।
गौरा पर्व पञ्चमीदेखि सुरु भएर फरक फरक समयमा समापन गरिन्छ । रङ्गीचङ्गी कपडामा सजिएका महिलाले गौरा राख्ने ठाउँमा पञ्च वनस्पतिले बनाइएको गौराको प्रतिमालाई रेशमी कपडाले श्रिङ्गारेर महेश्वरको प्रतिमासँगै आसनमा राखी आठ अध्याय र आठ खण्ड भएको अठेवाली परम्परागत फाग, गौराको गीति कथा गाउँदै पूजा गरेर गौरा र महेश्वरलाई शिरमा राखी नाच्ने गर्दछन् । यसै अवसरमा डेउडा र ठाडो खेल खेलेर रमाइलो गरिन्छ । गौरा पर्व कति वर्ष पहिले देखि मनाउन थालिएको हो भन्ने बारेमा तथ्य नखुले पनि भाद्र कृष्ण पञ्चमी देखि सुरु हुने गौरालाई अँधेरी गौरा र भाद्र शुक्ल पञ्चमीदेखि सुरु हुने गौरालाई उजेली गौरा भन्ने गरिएको प्राध्यापक एवं ज्योतिष पण्डित यज्ञराज पन्तले बताउनु भयो ।
सुदूरपश्चिमसँगै भारतको कुमाउ, गडवालमा समेत मनाइने यो पर्व प्रति पछिल्लो समय युवा पुस्तामा चासो कम भएको भन्दै बृद्धबृद्धाहरु चिन्तित छन् । चैत, धुम्मारी, फाग, बालो नचाउने, ठाडो खेल, गोःर्या कथा आदि युवाले सिक्ने उत्सुकता नदेखाउँदा बुढापाकाको ढल्किँदो उमेरसँगै लोप हुने सङ्घारमा पुगेको प्रति उनीहरूको चिन्ता छ । गौरा पर्व मौलिक पर्व भए पनि पछिल्लो समयमा यसको मौलिकता हराउँदै जान थालेको छ । नयाँ पीढीलाई गौरा पर्व सम्बन्धी ज्ञान नहुनु र सिक्ने चाँसो समेत नदेखिनुले कहीँ आउँदो पीढीसम्म पनि गौरा पर्वको मौलिकता नरहने हो कि भन्ने चिन्ताको विषय बनेको संस्कृतिका जानकार वयोबृद्धा खण्डी बिष्टको भनाइ छ ।
विगतका वर्षहरूमा गौरा पर्व सुरु भएदेखि हप्तौँसम्म हजारौँ व्यक्तिहरूको उपस्थितिमा ठाउँ ठाउँमा डेउडा खेल्ने गरिए पनि गत वर्ष देखि कोभिड १९ को महामारीका कारण सङ्क्रमण थप फैलिन नदिन धेरै मानिस जम्मा हुन नदिने, ठुलो समूहमा डेउडा खेल्न नहुने जस्ता कुरामा सतर्कता गराइएको छ । गौरा पर्वलाई मनोरञ्जनका लागि मात्र नभएर सामाजिक उत्थानलाई निरन्तरता दिन, पारस्परिक सम्बन्ध र सद्भाव बढाउन, धार्मिक भावना जागृत गराउन, लैङ्गिक समानताको पाठ सिकाउन र जातीय विभेद हटाउन समेत महत्त्वपूर्ण भूमिका रहने भएकोले यसको जगेर्नाका लागि सुदूरपश्चिमको बौद्धिक जमातले अगाडी सर्नुपर्ने आवश्यकता देखिन्छ ।