हरिश्चन्द्र बाग, कञ्चनपुर, ०४ भदौ । कञ्चनपुरको बेलौरी नगरपालिकाले अहेब र अनमीको परीक्षा पुनः स्थगित गरेको छ । बेलौरी नगरपालिका अन्तर्गत स्वास्थ्य संस्था नभएका वडाहरूमा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनका लागि करार सेवामा ७ जना अहेब र ७ जना अनमी भर्नाका लागि गत असार ३ गतेका दिन ७ दिने सूचना प्रकाशन गरी दरखास्त आह्वान गरेको थियो । असार ३ गतेका दिन प्रकाशित सूचनामा असार १० गते सम्पर्क मिति तोकिएकोमा सातौँ नगर सभाको कारण देखाउँदै असार १४ गतेपछि नगरपालिकाको वेबसाइटमै छोटो सूचि प्रकाशन गरिने सूचना जारी गरियो ।
त्यसपछि नेपाली काँग्रेस बेलौरीको छाया सरकारले लोक सेवा आयोगको परीक्षा प्रणाली विपरीत छोटो सूचि र अन्तर्वार्ताबाट मात्रै कर्मचारी भर्ना गर्न नहुने सुझाव सहित ध्यानाकर्षण पत्र पेस गरेपछि अनिश्चित बनेको छनौट प्रक्रिया गत साउन २५ गतेको नगरपालिकाको निर्णयबाट नयाँ परीक्षा प्रणाली र मिति तय गरिएको थियो । उक्त निर्णय अनुसार अहेब र अनमी पदको छनौट लिखित र अन्तर्वार्ता परीक्षाको माध्यमबाट गर्ने र लिखित परीक्षाको लागि यही भदौ ५ गतेका दिन बिहान ८ बजेबाट अहेबको छनौट र सोही दिन बिहान ११ बजेबाट अनमीको छनौट परीक्षा गर्ने समय निर्धारण गरिएको थियो । यद्यपि शुक्रवार अपराह्न बेलौरी नगर कार्यपालिकाको कार्यालयबाट जारी सूचना पत्रमा अर्को आदेश नभएसम्मका लागि अहेब र अनमीको लिखित परीक्षा स्थगित गरिएको उल्लेख गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र प्रसाद चौधरीद्वारा हस्ताक्षरित सूचना पत्रमा परीक्षार्थीहरूमा पर्न गएको असुविधा प्रति क्षमा याचना गरिएको छ ।

अधिकांश परीक्षार्थीहरूलाई प्रवेश पत्र समेत वितरण गरिसकेको अवस्थामा यसअघि कोभिड १९ नियन्त्रणका लागि करार सेवामा खटिएका स्वास्थ्यकर्मीहरू सहितको एक समूहले उक्त परीक्षा स्थगित गर्नुपर्ने र आफूहरूको उचित व्यवस्थापन गर्नुपर्ने लगायतका माग राखी नगरपालिका कार्यालय सहित विभिन्न कक्षहरूमा तालाबन्दी गर्दै नगरपालिकालाई ज्ञापन पत्र बुझाएपछि बेलौरी नगरपालिका पुनः परीक्षा स्थगित गर्न बाध्य भएको हो । आन्दोलनरत पक्षसँग बेलौरी नगरपालिकामा गरिएको लामो छलफल पछि बेलौरी नगरपालिकाले अर्को आदेश नभएसम्मका लागि अहेब र अनमीको लिखित परीक्षा स्थगित गरेको नगर प्रवक्ता विनोद नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार, परीक्षा स्थगित गर्ने सूचना प्रकाशन पश्चात् आन्दोलनरत पक्षले ताला खोलेको छ । आन्दोलनरत पक्षसँग निरन्तर छलफलको माध्यमबाट निकास निकालिने र स्थगित भएको परीक्षा समेत यथाशीघ्र सञ्चालन गरिने नगर प्रवक्ता नेपालीले बताउनु भयो ।
आन्दोलनरत पक्षद्वारा नगरपालिकालाई बुझाइएको ज्ञापन पत्रको पूर्ण पाठ :
मिति : २०७८।०५।०४
श्रीमान् नगर प्रमुख ज्यू
बेलौरी नगरपालिका
नगर कार्यपालिकाको कार्यालय, कञ्चनपुर
विषय : ज्ञापन–पत्र ।
विगत १ वर्ष देखि विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ संक्रमण महामारी संसारभर द्रुत रुपमा फैलिएको अवस्थामा हामीजस्ता कैयौं युवायुवतीहरुले कोरोना नियन्त्रणका लागि संचालित क्वारेन्टाइनहरु र आइसोलेसनमा व्यक्तिगत जिवनको प्रवाह नगरी ज्यानको बाजी लगाई पु¥याएको सेवा अविस्मरणीयनै छ । त्यतिबेला कोरोना नियन्त्रणका लागि आफ्ना नगरवासी जनताको जिउ ज्यानको रक्षा गर्ने कार्यमा अहोरात्र अग्रपंक्तिमा खटिने व्यक्तिहरुको सम्मानका खातिर स्वास्थ्य क्षेत्रमा पहिलो प्राथमिकता प्रदान गर्ने भन्ने सुझाव पाए अनुसार हामी उक्त अवसरको प्रतिक्षा गर्दागर्दै एक्कासी हाम्रो हित विपरित हुनेगरि खुलेको विज्ञापन प्रति हाम्रो असन्तुष्टि रहेको व्यहोरा समेत अवगत गराउदछौं । साथै उक्त प्रकाशित विज्ञापन तथा प्रक्रिया स्थगित गराउनको लागि अनुरोध गर्दछौं र नगरपालिकाले दिएको आश्वासन विपरीत कुनै प्रक्रिया चालिएमा हामी थप संर्घषका कार्यक्रमहरु गर्ने र ज्ञापन–पत्रको अवज्ञा गरी प्रक्रिया चालेमा त्यसको जिम्मेवारी स्वयं बेलौरी नगरपालिका रहने व्यहोरा अवगत गराउँदछौं ।
आफ्नो निजि जिवनको प्रवाह नगरी पु¥याएको सेवाको प्रतिफल हामिले कहिले कहाँ प्राप्त गर्ने ? सो समेतको जवाफदेहिताका लागि समेत विनम्र अनुरोध गर्दछौं ।
ज्ञापन पत्र मार्फत माग गरिएका विषयहरु ः
१. स्थानिय सरकार, प्रदेश सरकार, संघिय सरकार तिन तहका सरकारको वैधानिक व्यवस्था अनुसार अक्षरस पालना तथा कार्यान्वयन गर्न गराउनको लागि ।
२. स्थानिय सरकार जस्तो जनताको प्रत्यक्ष सरोकार राख्ने, सुशासनको प्रत्याभुति गराउँदै बेरोजगार यूवा युवतीहरुको रोजगार सुनिश्चित तथा रोजगारका अवसर सृजना गरि युवा लक्षित कार्यक्रमको सही कार्यान्वयन गर्नका निमित्त ।
३. स्थानिय सरकार नजिकको सरकार हुनुको नाताले सुशासन र विभिन्न प्रकारका विकृति विसंगतीको अन्त गरि सभ्य तथा सुसंस्कृत समाजको परिकल्पनालाई सार्थक तुल्याउन गर्नुपर्ने सवल र सशक्त प्रत्यक्षहरुको बारेमा जनगुनासो संवोधन गर्नुपर्ने ।
४. हालै मात्र मिति २०७८ । ०३ । ०३ गतेको विज्ञापन अनुसार यस नगरपालिका भित्र आवश्यक स्वास्थ्यकर्मीहरुका लागि करार सेवाका लागि प्रकाशित विज्ञापन अनुसार स्थानिय दक्ष, क्षमतावन सम्बन्धि विषयका योग्यता प्राप्त यूवा यूवतीहरुको हक हित सुनिश्चित हुने गरि प्राथमिकताका आधार पहिचानको संवोधन हुने प्रकारका कुनै संकेत नदेखिएको र स्थानीय हक हित विपरित हुने गरि ल्याईएको विज्ञापनले समाजमा अन्याय मात्र नभई अशान्ती सृजना हुन सक्ने संभावनालाई मध्यनजर गरी तत्काल उक्त विज्ञापन प्रति पुर्नविचार तथा संशोधन हुन जरुरी भएको व्यहोरा अवगत गराउन चाहन्छौं ।
५. ७५३ वटा स्थानिय तहहरुमा समान रुपमा करार सेवा सृजना भएको हुनुपर्दछ । यहाँका यूवा युवतीहरुले पाउनु पर्ने प्राथमिकता के हो ? र हामिले कस्तो अवस्थामा रोजगार प्राप्त गर्न सक्छौ ? हाम्रो रोजगारीको सृजना गर्ने दायित्व कस्को ? हामिले आफ्नो पिरमर्का स्थानिय सरकार समक्ष नराखे कहाँ कुना निकायमा प्रस्तुत गर्ने ? आदि विविध समस्या प्रकट भएको अवस्था, योग्यता क्षमता कार्यदक्षताको सही मुल्याङ्कन गरी पारदर्शि निष्पक्ष परीक्षा पद्धतीको प्रबन्ध गरियोस अन्यथा यसबाट उत्पन्न असहज परिस्थितीको जवाफदेहिता कस्को हुने ? सम्बन्धि जिज्ञासाको सामाधान सहित हाम्रो माग संवोधनका लागि स्थानिय सरकार प्रमुख ज्यू समक्ष क्वारेन्टाईनमा कामगरेका तपशिल बमोजिमका स्वास्थ्यकर्मिहरुको हस्ताक्षर सहित यो ज्ञापन–पत्र पेश गर्दछौं ।
वोधार्थ :
१. श्री नगर उप–प्रमुख ज्यू (बेलौरी नगरपालिका, कञ्चनपुर)
२. श्री प्रमुख कार्यकारी अधिकृत ज्यू (बेलौरी नगरपालिका, कञ्चनपुर)
संयुक्त ज्ञापन प्रस्तुतकर्ताहरु
नोट : (कोभिड–१९ को समयमा बेलौरी न.पा. ले सञ्चालन गरेको क्वारेन्टाईनमा सहभागी भई केहि महिना कामगरेका स्वास्थ्यकर्मिहरु तपशिल बमोजिम रहेकाछौं ।)
१. विद्यामति कुमारी राना
२. कुमारी जानकी राना
३. उमा चौधरी
४. प्रेमा चौधरी
५. सारा राना
६. राजेश चौधरी
७. संगिता राना
८. मायामती चौधरी
९. लिला चौधरी
१०. हेमलता नेपाली
११. सुनिता राना
१२.आशा चौधरी
१३. मैना चन्द
१४. आयुषा खत्री बिष्ट
१५. ममता बिष्ट