पूर्व निर्धारित चिसापानी,बर्दिया भ्रमणको स्थगन पश्चात् श्री राम जानकी तथा सिद्धनाथ बैजनाथ मन्दिर संरक्षण समितिद्वारा आयोजित होली सम्बन्धी अन्तरक्रिया एवं मन्दिर हाता भित्र होली खेल्ने कार्यक्रम चलिरहेको थियो । बेलुका पख फोन आउँदा भोलि(२०७७÷१२÷१५ गते) नैनीताल भ्रमणको कार्यक्रम फिक्स भएको जानकारी प्राप्त भयो । आफ्नो तर्फबाट आवश्यक तयारीको खासै व्यवस्थापन नभए पनि बिहान भ्रमण टोलीका सदस्य सित सम्पर्क गर्दा सहभागीको सङ्ख्या अलिक बढी भएमा झन् रमाइलो हुने विचार व्यक्त भयो ।
मैले आफ्नो २ जना साथीसित सम्पर्क गर्दा उहाँहरू जाने निश्चिततामा पुग्नु भयो ।यति गर्दा बिहानको १०ः०० बजिसकेको थियो । बाह्र बजेको गेटमा बनबासा पुल क्रस गरिसक्नुपर्छ भन्ने जानकारी सँगै हतारमै सम्पूर्ण तयारीहरू भए । स्नानसँगै भोजन पश्चात् द्रुत गतिमा नेपाल भारत सीमा नाका गड्डाचौकी पुगियो । दशगजा क्षेत्रमा इनोभा कम्पनीको यु.के. ०७ जे ए ४१४५ नम्बरको जिप खडा थियो । २ जना साथी सँगै म सहित ३ जनालाई देख्दा जिपबाट इशारा प्राप्त भयो कि —हामी यता छौँ भनेर ।
तत्पश्चात् जिप पार्किङ स्थलबाट बिस्तारै नेपाल भारत सीमामा भारतद्वारा निर्मित नयाँ गेट तिर प्रस्थान गर्यो र अभिवादनसहित हामी समेत जिप भित्र हानियौँ । अलिक अगाडी भारतीय सशस्त्र सीमा बलको चेकजाँच पश्चात् अङ्ग्रेज समयमा निर्मित बनबासाको शारदा पुल हुँदै अगाडी बढ्यौँ । करिब वर्ष दिन पश्चातको भारत यात्राले छुट्टै अनुभवको अनुभूति भइरहेको थियो । बनबासा बजारमा भ्रमण समयमा चाहिने खर्चको शेयर पश्चात् हामी पानी किनी भा.रु. सटही गरी भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरणको राजमार्ग हुँदै नैनीताललाई पछ्याइ रह्यौँ ।
जिप सँगै मन्द गतिमा सडकमा हिन्दी गीतहरू पनि कुदिरहेका थिए । होलीको समेत समय भएकाले मानिसका अनुहारहरू समेत रङ्गिन थिए । खटिमा चौराहाबाट दायाँतर्फ लागि नानक मत्ता हुँदै सितार गन्ज तर्फ अगाडी बढ्यौँ । सितार गन्ज चौराहाबाट समेत दायाँ मोडिकन हामी चोर गलिया हुँदै अगाडी बढिरहेका थियौँ ।साथीहरूका भ्रमणका सम्बन्धमा विविध विचारहरू आइरहेको थिए । उपयुक्त समयमा पर्यटकीय गन्तव्य थाइलेण्ड जाने विषयमा समेत चर्चा भइरहेको थियो । काठ गोदाममा भारतीय रिजर्भ पुलिसको ठुलो दस्ता रहेछ ,सयौँ बिघा जमिनमा फैलिएको ।
काठ गोदाम पश्चात् भुजीयाघाटमा आलुपराठाको नास्ता पछि हामी ज्युलीकोटलाई पछ्याइ रह्यौँ ।भ्रमण टोलीका नेता इन्जिनियर साब र व्यवस्थापक(मेनेजर) सब इन्जिनियर साबले व्यवस्थापनमा कुनै कसर बाँकी राखेका थिएनन् । काठ गोदामबाट सुरु हुने पहाडी इलाकाको मनोरम दृश्यहरू मोबाइलमा समेत कैद हुँदै थिए । विभिन्न स्थानको दुरी बताउने हरियो कलरको बोर्डले नैनीतालको दुरीलाई प्रष्टताका साथ बताइरहेको थियो ।पहाडी इलाका गाडी छिनछिनमा घुम्ने भएकाले पाचन प्रणालीमा समेत असहजताको अवस्था सिर्जना भइरहेको थियो ।
तराइ र पहाडको बाटो छिचोल्दै करिब ४ बजे हामी नैनीताल क्षेत्र पुग्यौँ । चारैतिर बजार,बिचमा सुन्दर मोहक तालले सबैको मनलाई मोहित बनाइरहेको थियो । रात्रिकालीन बसाइका लागि हामी होटेल सुरामा गयौँ,जुन नैनीताल जु रोडमा अवस्थित छ । बैतडी ,बझाङकै झल्को दिने नभए पनि अग्ला पहाड त नैनीतालमा पनि पर्याप्त छन् । सर्वप्रथम होटेलमा कोठाको तय भए पश्चात् झोला लगायतका सामग्री राखी ७ सदस्यीय भ्रमण टोली नैनीताल सँग साक्षात्कार गर्न निस्कियो । पहाडी क्षेत्र ,व्यवस्थित विकास,उल्लेख्य मानिसको उपस्थिति,चिसो मौसम,अलिक महँगी सायद नैनीतालका विशेषता हुन ।
नैनीतालसित व्यक्तिगत र सामूहिक फोटोहरूको कैद पश्चात् हामी तालको प्रत्यक्ष साक्षात्कार सँगै बोटिङको लागि डुङ्गामा बस्यौँ । २ डुङ्गामा ४ जना,१ डुङ्गामा ३ जना गरी जम्मा ७ जना ३ किस्तीमा बोरिङमा फोटो सँगै भिडियो,तालको पानी उछिट्ट्याउने,डुङ्गा खियाउने मानिस सँगको अन्तर्क्रिया जस्ता कुराले मनोरमता प्रदत्त गरिरहेको थियो । डुङ्गा खियाउने नाविकका अनुसार अङ्ग्रेजको समयबाटै रहेको यो ताल १.५ कि.मी.लामो तथा ४० मि. गहिरो छ । प्राकृतिक आनन्द लिन विदेश सँगै भारतका विभिन्न प्रान्तबाट हजारौँ मानिसहरू यहाँ आउने गर्दछन् ।
ताल बोटिङ पश्चात् सामूहिक फोटो सँगै पैदलै हामी अगाडी बढ्यौँ । मस्जिद सँगै गुरुद्वाराको अवलोकन एवं रातीको मनोरम दृश्यले मन प्रफुल्ल भई रहेको थियो । पहाडका टाकुराबाट लाइटको छाया तालभरि फिँजिएको दृश्य झन् लोभलाग्दो र चित्ताकर्षक थियो ।नैनिताल भूगोलको हिसाबले साह्रै ठुलो नभए पनि विशेषताका हिसाबले विशाल छ । नैनिताल अवस्थित भारतीय प्रान्त उत्तराखण्डका राज्य पालको गृष्म कालिन कार्यालय(राजभवन),उत्तराखण्डको उच्च अदालत, कुमाउँ विश्वविद्यालयको केन्द्रीय कार्यालय जस्ता विशालतम अड्डाहरू यहाँ छन् ।
२०७७÷१२÷१५ को नैनीतालसंगको प्रत्यक्ष साक्षात्कार ,बोटिङ,रात्रि कालिन मनोरम दृश्यावलोकनसँगै बेलुकी ७ः३० बजे होटेल सूर्या पुग्यौँ ।सबै भन्दा आवश्यक भइसकेको वायरलेस फिडालिटीमा आबद्ध भई सामाजिक सञ्जालका जालहरूभित्र घुस्न थाल्यौँ । गफगाफसँगै सामूहिक भोजन गर्यौँ ।कुनै पनि व्यवस्थापकीय सहजताका लागि २० नम्बरमा मा कल गर्न सकिने लण्ड लाइन टेलिफोन राखिएको थियो । पुरै कोठा भरी खैरो रङको वाल ,टायल एवं सेतो रङको फ्लोर टायल ,अति व्यवस्थित कोठा,वाल टिभी ,ढिलो गरी चल्ने वाई फाइले अलिक नमज्जा समेत ल्याइरहेको थियो ।
रात्रि कालिन प्रहर व्यतीत पश्चात् बिहान ५ बजे नै हामी उठ्यौँ ।नित्य कर्म सीतै अलिक छिटो फ्रेस हुनुपर्ने थियो किनकि हामीले ७ बजेदेखि नै नैनितालका अन्य मोहक स्थल हेर्नेगरि जिपसँग कन्टेक्ट गरेका थियौँ । युके०४ टि ए९३५४ नम्बरको जिपमा बिहान सुरुमा हिमालय दर्शनका लागि करिब २३१० मि.को उचाइमा प्रस्थान गर्यौ । कुहिरोले खासै हिमालयको दर्शन गर्न नपाइए पनि फोटोमा आफूलाई कैदसँगै त्यहाँको प्रकृतिसित प्रत्यक्ष अन्तरक्रिया गर्यौ । तत्पश्चात् हामी तल ओरालो हुँदै लवर्स पाइन्ट पुग्यौँ ।
खासै मोहक कुनै संरचना नभए पनि निश्चित ठाउँलाई पोइन्टको नाम दिई पर्यटक लोभ्याउने प्रयत्न गरिएको थियो । त्यहीँबाट हर्स राइडिङको व्यवस्था रहेको थियो । ५ कि.मी उकालो घोडा चढाइको भारु.८१० ।थेग्नै नसकिने महँगाइ !त्यहाँबाट हामी सुसाइड पाेइन्ट पुग्यौँ । त्यहां पनि खासै अवलोकनका संरचना थिएनन् । भिरालो पहाड मात्रै । पहिलेको समयमा जीवनबाट विरक्त मानिसहरू त्यही लवर्स पोइन्टको भिरबाट हाम फाली आत्म हत्या गर्ने भएकाले उक्त ठाउँको नाम सुसाइड पोइन्ट रहन गएको कुरा घुमाउन आएका गाइडले बताइरहेका थिए । तत्पश्चात् हामी सरिता ताल हुँदै खुर्पा ताल पुग्यौँ ।
खुर्पा तालमा आलु पराठाको नास्ताको आनन्द पश्चात् त्यहाँका प्राकृतिक छटाहरूको मनोरमता ग्रहणसँगै पुनः नैनीतालका लागि फिर्ता भयौँ । नैनीतालबाट करिब ८÷१० कि.मी टाढा एवं पहाडी बाटो भएकाले नैनीताल पुग्न अलिक समय लागिरहेको थियो । एनसीसी को ठुलो ट्रेनिङ सेन्टर समेत रहेछ नैनीतालमा । नैनीतालमा नैनीताल बैङ्क लिमिटेडको केन्द्रीय कार्यालय हुँदै हामी फेरी राती बसेको होटेल नजिक पुग्यौँ । फिर्तीका लागि जिप त्यहीँ पार्किङ थियो । होटेलबाट त बिहान ७ बजे नै हामी चेक आउट भइसकेका थियौँ । तत्पश्चात् सबै जना ऊर्जा क्षीण भएझैँ गरी जिपमा हानियौँ ।
जाने बेला र आउने बेलाको ऊर्जामा दिनरातको अन्तर भइसकेको थियो । उपयुक्त समयमा पुनः आउने प्रसङ्ग उद्धृत गर्दै नैनीताल सँगै बिदा माग्यौँ र बनबासाका लागि प्रस्थान गर्यौ । होलीको अन्तिम दिन भएकाले नैनीताल लगायतको क्षेत्रमा मानिसहरू होली खेल्ने ,रङ्ग छाप्ने कार्यमा व्यस्त थिए । आम मानिसहरू होली खेलिरहँदा आफूलाई पनि होली खेलौँ खेलौँ लागिरहेको थियो, यी सबै जिपमा बसी मनमा खेलिरहेका लहर थिए । पहाडको बाटो ,नेपाली,कुमाउनी गीतको आनन्दले कटाइरहेका थियौ ।
नैनीताल प्रस्थान गर्दाका समयमा पछ्याइरहेका स्थानको पुनरावृत्तिसँगै बनबासा शारदा पुल पुग्यौँ । दिउसोको १२ बजे गेट बन्द भइसकेकाले शारदा पुलमा पैदल यात्रा गर्दै शान्त शारदा नदीको आनन्द लिँदै कस्टम कार्यालय,एसएसबी चेक पाइन्ट हुँदै गड्डाचौकी पुग्यौँ । होलीको दिन भएकाले प्रायः इलाका सुनसान थिए । अटो रिक्सा र बाइक हुँदै सबै जना सकुशल घरतर्फ फर्कियौँ ।
भ्रमण टोलीका सदस्यहरू :
१. पवन सिंह विष्ट (टोली नेता)
२.नरेन्द्र बहादुर चन्द (व्यवस्थापक)
३.अमित प्रसाद भट्ट
४.केशव राज पन्त
५. राजेन्द्र सिंह गोयला
६.अङ्कित जोशी
७.विमल प्रसाद ओझा
- अमित प्रसाद भट्ट (दोगडाकेदार गाउँपालिका ४ पिपलकोट, बैतडी)
हाल : भीमदत्त नगरपालिका ७ हल्दुखाल, राम मन्दिर टोल,कञ्चनपुर ।
मोबाइल नम्बर ः ९८४८७४४५३५