हरिश्चन्द्र बाग, कञ्चनपुर, ३१ साउन । सरकारले गरेको भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन लगायतका जनहित विपरीतका कार्यहरूको विरोधमा नेकपा (एमाले) निकट जनवर्गीय सङ्गठनहरूले कञ्चनपुरको महेन्द्रनगरमा विरोध प्रदर्शन गरेका छन् । आइतबार दिउँसो नेकपा (एमाले) को पार्टी कार्यालय महेन्द्रनगरबाट सुरु गरिएको विरोध ¥याली महेन्द्रनगर बजार परिक्रममा पछि मदन चोकमा कोण सभामा परिणत गरिएको थियो । विरोध ¥यालीमा नेकपा (एमाले) का जनवर्गीय सङ्गठन अखिल नेपाल महिला सङ्घ, युवा सङ्घ नेपाल, श्रमिक सङ्गठन, किसान सङ्गठन, जातीय मुक्ति समाज, आदिवासी जनजाति, अनेरास्ववियु लगायतका प्रतिनिधि सहित नेता कार्यकर्ता र आरक्षपीडित तथा भूमिहीन, सुकुम्बासी एवं अव्यवस्थित बसोबासी नागरिकहरूले बजारमा विरोध प्रदर्शन गरेका हुन् ।
अदालतको परमादेशबाट गठन भएको नेपाली काँग्रेस नेतृत्वको गठबन्धन सरकारले भूमिहीन सुकुम्बासीहरूलाई जग्गाको मालिक हुनबाट वञ्चित गर्ने उद्देश्यले भूमि सम्बन्धी समस्या समाधान आयोग नै खारेज गरेको जन वर्गीय सङ्गठनहरूले आरोप लगाएका छन् । भूमिहीन सुकुम्बासी, भूमिहीन दलित, अव्यवस्थित बसोबासी र आरक्ष पीडित नागरिकहरूको समस्या समाधान गर्न उनीहरूले सरकारसँग माग समेत गरेका छन् । त्यस्तै, दार्चुलामा भारतीय एसएसबीले तुइन काटिदिँदा बेपत्ता भएका जयसिंह धामीको अवस्था पत्ता लगाई न्याय दिलाउन र उक्त घटनामा संलग्न पक्षलाई कारबाहीका लागि समेत सरकारसँग माग गरिएको छ ।
परमादेशबाट गठन भएको सरकारले जनहितमा कार्य गर्ने कुनै विश्वास नभए पनि नागरिकका आधारभूत आवश्यकता र नैसर्गिक अधिकार नखोस्न सरकारको ध्यानाकर्षण गराउन आफूहरू कोभिड महामारीकै बिच पनि सडकमा आई विरोध प्रदर्शन गर्नुपरेको नेकपा (एमाले) कञ्चनपुरले जनाएको छ । शेर बहादुर देउवा नेतृत्वको वर्तमान सरकारले नागरिकहरूको मौलिक अधिकार खोसिरहेको एमालेका जनवर्गीय सङ्गठनहरूको निष्कर्ष रहेको छ । मदन चोकमा आयोजित कोण सभामा नेकपा (एमाले) कञ्चनपुरका अध्यक्ष वीर बहादुर थापा (पातल), संविधान सभा सदस्य एवं एमालेका नेता कृपाराम राना, विघटित भूमि सम्बन्धी समस्या समाधान आयोग कञ्चनपुरकी जिल्ला अध्यक्ष कमला बोहरा, आरक्षपीडित सङ्घर्ष समिति कञ्चनपुरका अध्यक्ष हिरासिंह भण्डारी तथा विभिन्न जनवर्गीय सङ्गठनका प्रतिनिधिहरूले सम्बोधन गरेका थिए । कोण सभाको सहजीकरण अनेरास्ववियु कञ्चनपुरका संयोजक कमल रोकायाले गरेका हुन् भने कोण सभाको समापन अखिल नेपाल महिला सङ्घ कञ्चनपुरकी जिल्ला अध्यक्ष कलशा महराले गरेको बताइएको छ ।