हरिश्चन्द्र बाग, कञ्चनपुर, २७ साउन । कञ्चनपुर र कैलालीमा बसोबास गर्दै आएका रानाथारु समुदायका महिलाहरूले आज बुधबार महत्त्वपूर्ण पर्व तीज मनाउँदै छन् । हरेक वर्ष श्रावण शुक्ल पक्षको तृतीया तिथिका दिन रानाथारु समुदायले तीज पर्व मनाउने गर्दछन् । रानाथारु समुदायले तीजलाई दिदीबहिनी र दाजुभाइको आत्मीयता बढाउने महत्त्वपूर्ण पर्वका रूपमा लिने गर्दछन् । असार शुक्ल पूर्णीमा देखि गाउँका सबै जना पायक पर्ने ठाउँमा सावनको डोला अर्थात् पिङ खेल्ने र श्रावण शुक्ल पक्षको तृतीया तिथिका दिन आफ्ना दाजुभाइ र भतिजाहरूको उन्नति, प्रगति र दीर्घायुको कामना गर्दै रानाथारु समुदायका दिदीबहिनीहरू पानी समेत नपिएर निराहार व्रत बस्ने गर्दछन् । तीजको दिन प्रसादका रूपमा परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाउने गर्दछन् ।
यसैबिच, रानाथारु समुदायको महत्त्वपूर्ण पर्व तीजका अवसरमा शुभकामना व्यक्त गर्दै प्रतिनिधि सभा सदस्य नारद मुनी रानाले साउन महिनामा रानाथारु समुदायले मनाउने तीजको मौलिक संस्कृति रहेको बताउनु भयो । कोभिड १९ जस्ता महामारी र प्राकृतिक विपद् रोकथाममा जोड दिँदै सरकारले समेत जनमुखी कार्यमा अग्रसरता देखाउनु पर्ने उहाँको भनाइ छ । लामो समयसम्मको संघर्ष र बलिदानबाट वि.सं. २०७६ माघ २० गतेका दिन नेपाल सरकारले रानाथारु समुदायलाई आदिवासी जनजातिका रूपमा अलग्गै सूचीकृत गरेको स्मरण गर्नुहुँदै प्रतिनिधि सभा सदस्य नारद मुनी रानाले रानाथारु समुदायको उत्थान र विकासका निम्ति स्वयं रानाथारु समुदाय एकताबद्ध भएर थप संघर्ष गर्नुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै, नेपाल रानाथारु समाजका केन्द्रीय अध्यक्ष तथा पूर्व सांसद एवं संविधान सभा सदस्य कृपाराम रानाले शुभकामना व्यक्त गर्दै रानाथारु समुदाय आदिवासीका रूपमा अलग्गै सूचीकृत र भाषा आयोगमा समेत स्थान पाइसकेपछि अहिले रानाथारु भाषाको स्थानीय पाठ्यक्रम र तत्सम्बन्धी व्याकरण तयार गर्ने कार्यले मूर्त रूप लिएको बताउनु भयो । अब राज्यका प्रत्येक निकायमा अन्य समुदाय जस्तै रानाथारु समुदायको समेत समानुपातिक प्रतिनिधित्व गराउनु पर्ने र रानाथारु समुदायको मौलिक कला, संस्कृति एवं भेषभुषालाई संरक्षण गर्न मद्दत पुग्ने गरी रानाथारु विकास परिषद् गठन गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।
कलकत्ता गाउँमा तीज विशेष कार्यक्रम ।।
कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ८ को आयोजनामा बुधबार कलकत्ता गाउँमा तीज विशेष कार्यक्रम गरिएको छ । “संस्कृति बचामै, कुरीति हटामै । रानाथारुको निर्झल समाज बनामै ।।” भन्ने मूल नाकाका साथ बेलौरी नगरपालिका वडा नम्बर ८ को कार्यालय कलकत्ताद्वारा रानाथारु तीज मिलन तथा सावनको डोला कार्यक्रम गरिएको वडाध्यक्ष नन्द कुमार रानाले बताउनु भयो । कार्यक्रममा बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी, उपप्रमुख चित्र कुमारी चौधरी सहित स्थानीय जनप्रतिनिधिहरू, समाजसेवी बुद्धिजीवी, पत्रकार तथा रानाथारु कलाकारहरूको समेत सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले देश संघीय गणतन्त्रमा परिवर्तन भइसकेपछि सबै जातजाति र समुदायको पहुँचमा वृद्धि भएको बताउनु भयो । उहाँले स्थानीय तहको निर्वाचन पछि गाउँघरमै सिंहदरबारको अधिकार स्थापित हुँदा सबैले अपनत्व महसुस गर्न सक्ने वातावरण बनेको उल्लेख गर्नुभयो । नगर प्रमुख चौधरीले बेलौरी नगरपालिका मार्फत विनियोजन हुने बजेटमा समेत प्रत्येक वर्ष सबै जातजाति र समुदायलाई समानुपातिक बाँडफाँड गर्दै आएको दाबी गर्नुभयो । कार्यक्रममा विभिन्न सङ्घसंस्था र व्यक्तिहरूलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
पुनर्वासमा पनि मनाइयो रानाथारु महिलाको तीज विशेष कार्यक्रम ।।
कञ्चनपुरको पुनर्वास नगरपालिकामा पनि रानाथारु महिलाको तीज विशेष कार्यक्रम मनाइएको छ । पुनर्वास नगरपालिका वडा नम्बर १० विकास बस्तीमा बुधबार आयोजना गरिएको तीज विशेष कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका पुनर्वास नगरपालिकाका उपप्रमुख शारदा शर्मा बिष्टले सामाजिक सद्भावका साथ समाजमा सकारात्मक परिवर्तन र समृद्ध पुनर्वास बनाउन सबैलाई प्रेरणा मिलोस् भन्दै सम्पूर्ण रानाथारु समुदायलाई शुभकामना व्यक्त गर्नुभयो ।
रानाथारु महिला समूहद्वारा आयोजित औपचारिक कार्यक्रमपछि दोँदा नदी किनारामा गएर रानाथारु महिलाहरूले पूजा अर्चना गरिएको बताइएको छ । कार्यक्रममा पुनर्वास नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष शुकदेव राना, रानाथारु नगर समन्वय समितिबाट तीर्थ राना सहित सोही गाउँका भलमन्सा, सञ्चारकर्मी, सुरक्षाकर्मी, समाजसेवी, बुद्धिजीवी र रानाथारु समुदायका व्यक्तिहरूको सहभागिता रहेको थियो ।