कञ्चनपुर, २१ साउन । नेकपा (एमाले) कञ्चनपुरले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने मन्त्रीपरिषद्को निर्णय प्रति खेद व्यक्त गर्दै अविलम्ब आयोगको काम सुचारु गर्न नेपाल सरकारसँग माग गरेको छ । बिहीबार आयोजित पार्टी जिल्ला कमिटीको विस्तारित बैठकबाट गरिएका निर्णयहरू प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गर्दै नेकपा (एमाले) कञ्चनपुरका अध्यक्ष वीर बहादुर थापाले जनतालाई जमिनको मालिक बनाउन भूमिहीन सुकुम्बासीलाई जमिन उपलब्ध गराउने र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने कार्यको तयारी गरिरहेको अवस्थामा वर्तमान सरकारले गरेको आयोग विघटन गर्ने निर्णय प्रति पार्टी कमिटीले खेद व्यक्त गरेको जानकारी दिनुभयो ।
त्यस्तै, विश्वव्यापी महामारीका रूपमा फैलिएको नयाँ भेरिअन्ट सहितको कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाउनु हुने पार्टीका नेता कार्यकर्ता, शुभचिन्तक तथा नागरिकहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय समेत गरेको अध्यक्ष थापाले बताउनु भयो । कोभिड–१९ को सङ्क्रमणबाट नागरिकहरूलाई बचाउनका लागि सबैलाई अनिवार्य खोपको व्यवस्थापन गर्न नेपाल सरकारसँग माग गरेको छ ।
नेकपा (एमाले) कञ्चनपुरले केही दिन अघि दार्चुला जिल्लाबाट भारततर्फ तुइन चढेर जाँदै गर्दा भारतीय सीमा सुरक्षा बलद्वारा तुइन काटिएपछि जय सिंह धामी महाकाली नदिमा बेपत्ता हुनु भएको घटना प्रति दुःख व्यक्त गर्दै सो घटनामा संलग्न भारतीय सुरक्षाकर्मीलाई आवश्यक कारबाहीका लागि भारतीय पक्षसँग आवश्यक पहल गरी धामीको परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारसँग जोडदार माग गर्ने निर्णय गरेको अध्यक्ष थापाले जानकारी दिनु भएको छ ।
त्यसै गरी, भीमदत्त नगरपालिकाले विद्यमान ऐन कानुनको अधीनमा रही गरेको शिक्षक दरबन्दी मिलान पश्चात् नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल शिक्षक संघको नामबाट भइरहेको विरोध प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । माध्यमिक तहसम्मका विद्यालयहरू स्थानीय तह मातहत आएपछि वर्तमान ऐन कानुन अनुसार लामो छलफल र गृहकार्य पछि गरिएको दरबन्दी मिलान कार्य भीमदत्त नगरपालिका भित्रको शिक्षा क्षेत्रका लागि महत्त्वपूर्ण र ऐतिहासिक कार्य भएको ठहर गर्दै यसलाई राजनीतीकरण नगरी कहिँकतै समस्या देखिए थप छलफलबाटै समाधान निकाल्न र कार्यान्वयनमा सहयोग गर्न सम्बन्धित पक्षसँग आग्रह गर्ने निर्णय गरिएको अध्यक्ष थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बैठकले पार्टी एकतालाई कायम राख्ने कुरामा जोड दिँदै सम्पूर्ण पार्टी कार्यकर्ताहरूलाई पार्टीको काममा फर्किन आह्वान समेत गरेको छ । यसै गरी पदाधिकारी बैठकले गरेका निर्णय अनुमोदन गर्दै यही साउन २७ गतेसम्म पालिका स्तरीय कमिटीका बैठकहरू सम्पन्न गरी वडा स्तरका बैठक भेला गर्ने निर्णय गर्नुका साथै पार्टी सदस्यता नवीकरण तथा अद्यावधिक र पार्टी विधानको व्यवस्था बमोजिम नयाँ सदस्यता प्रदान गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने निर्णय गरेको अध्यक्ष थापाले बताउनु भएको छ । पार्टी जिल्ला कमिटीको काम व्यवस्थित रूपमा अगाडि बढाउन सचिवालयको सङ्ख्या थप गर्ने, विभाग र फाँटहरूको जिम्मेवारी तोक्ने सहितको महत्त्वपूर्ण साङ्गठनिक काम बारे पनि निर्णय गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
नेकपा (एमाले) का केन्द्रीय पोलीटब्युरो सदस्य तथा सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण बहादुर थापाको प्रमुख आतिथ्यमा पार्टी कार्यालय महेन्द्रनगरमा आयोजित बैठकमा केन्द्रीय कमिटी सदस्य द्वय प्रदेश कमिटी सचिव राजेन्द्र सिंह रावल र जिल्ला इन्चार्ज निरु पाल, प्रतिनिधि परिषद्का सदस्यहरू, प्रदेश कमिटी सदस्यहरू लगायतको उपस्थिति रहेको बताइएको छ ।