हरिश्चन्द्र बाग, कञ्चनपुर, १५ साउन । कञ्चनपुरका विभिन्न क्षेत्रबाट सुरक्षा निकायले २४ घण्टा भित्र २१ लाख ८१ हजार बढी मूल्य बराबरका अवैध मालसामान बरामद गरेको छ । भारतीय सीमावर्ती बजारबाट निषेधाज्ञाको उल्लङ्घन तथा भन्सार छली गरी नेपाल भित्र्याइएका रु २१ लाख ८१ हजार ८ सय १५ मूल्य बराबरका विभिन्न अवैध मालसामानहरू नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको छुट्टाछुट्टै टोलीले अलगअलग स्थानबाट बिहीबार मध्यान्ह देखि शुक्रबार मध्यान्हसम्म २४ घण्टा भित्र बरामद गरिएको बताइएको छ ।
नेपाल प्रहरी ः
शुक्रबार मध्यान्हको समयमा इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५ बनदेवी मन्दिर नजिक पूर्व पश्चिम राजमार्ग सडकको छेउमा भन्सार छली गरी ल्याई राखेको असली बिडी, चिनी, प्लास्टिक (पोलिथिन), मिठा सुपारी, सुर्ती समेत गरी अन्दाजी मूल्य रु ९७ हजार ८ सय ९० मूल्य बराबरको अवैध समान कानुन बमोजिम बरामद गरी आवश्यक कारबाहीको लागी त्रिनगर भन्सार कार्यालय कैलाली पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लाल बहादुर बमले जानकारी दिनुभयो ।
यसअघि, बिहीबार दिउँसोको समयमा अवैध रूपमा भारतबाट भन्सार छली नेपाल भित्र्याइएको ३ लाख १८ हजार ५ सय मूल्य बराबरको ९८ बोरी चिनी र ओसारपसारमा संलग्न ६ लाख ८१ हजार मूल्य बराबरको मिनी टाटा ट्रक समेत गरी बेलडाँडीबाट दैजी तर्फ लैजाने क्रममा कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर १० स्थित दैजी बेलडाँडी सडकखण्डबाट सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त प्रहरी टोलीले बरामद गरेको थियो ।
बिहीबार नै भारतबाट भन्सार छली ल्याइएको २ लाख ७३ हजार मूल्य बराबरको ४२ क्विन्टल अवैध चिनी भीमदत्त नगरपालिका वडा नम्बर १ भाँसीबाट बरामद गरी आवश्यक कारबाहीको लागि गड्डाचौकी भन्सार कार्यालयमा पठाइएको कञ्चनपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शिद्ध राज न्यौपानेले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी बल नेपाल ः
बिहीबार रातीको समयमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरबाट सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर ऐरको कमाण्डमा खटिएको रात्री सीमा अनुगमन टोलीले अनुगमन गर्ने क्रममा निषेधाज्ञा उल्लङ्घन गरी अवैध रूपमा भारतबाट नेपाल भित्र्याई बेवारिसे अवस्थामा रहेको रु ६ लाख ३ हजार मूल्य बराबरको बिँडी र प्लास्टिक बरामद गरी आवश्यक कानुनी कारबाहीको लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरमा बुझाइएको छ ।
त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुर तथा मातहत बोर्डर आउट पोष्ट गड्डाचौकी, थापाचोक, पुनर्वास र पशुपतिटोलबाट खटिएको मोबाइल गस्ती तथा पैदल गस्ती टोलीले गस्ती गर्ने क्रममा निषेधाज्ञा उल्लङ्घन गरी अवैध रूपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको रु २ लाख ८ हजार ४ सय २५ मूल्य बराबरको सुर्ती, बिडी, किराना सामान, कस्मेटिक सामान, इलेक्ट्रिक सामान, मोटरसाइकल, युरिया मल, थान कपडा तथा तयारी कपडा लगायतका मालसामानहरू बरामद गरिएको बताइएको छ ।
विभिन्न ठाउँबाट कानुन बमोजिम बरामद गरिएका ती सबै मालसामान आवश्यक कानुनी कारबाहीको लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर र त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरले जनाएको छ ।
नोट : यसअघि प्रकाशित "२४ घण्टा भित्र १५ लाख ७८ हजार बढी मूल्य बराबरका अवैध मालसामान बरामद" शीर्षकको समाचारमा पछि जानकारी हुन आएको "रु ६ लाख ३ हजार मूल्य बराबरको बिँडी र प्लास्टिक बरामद" समेत थप गरी सोही समाचार संशोधन गरिएको हो ।