हरिश्चन्द्र बाग, कञ्चनपुर, ०९ साउन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट तथा सामाजिक विकास मन्त्री लाल बहादुर खड्का सहितको टोलीले कञ्चनपुरमा निर्माणाधीन विभिन्न सडकखण्डहरूको स्थलगत अनुगमन गरेको छ । शनिबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट, मन्त्री खड्का तथा प्रदेश सभा सदस्यद्वय महेशदत्त जोशी र कुलबीर चौधरी, भौतिक विकास मन्त्रालय तथा पूर्वाधार विकास कार्यालयका प्रतिनिधि सहितको टोलीले स्थलगत अनुगमन गरेको हो । सो टोलीले बेलौरी-कलुवापुर सडकखण्ड, कलुवापुर-नाइल-बुडर सडकखण्ड र दैजी-लिप्ना सडकखण्ड लगायतका आयोजनाहरूको स्थलगत अनुगमन गरेको छ ।
त्यसैक्रममा कञ्चनपुरको बेलौरी नगरपालिका कार्यालयमा आयोजित साक्षात्कार कार्यक्रममा बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले बेलौरी-कलुवापुर सडकखण्ड र डोकेबजार-बेलौरी-बेलडाँडी-दैजी हुलाकी सडकखण्ड कालोपत्रेको बाँकी काम, ड्रेन निर्माण, सीमा सम्बन्धी समस्या समाधान र भन्सार नाका स्तरोन्नति लगायतका सन्दर्भमा प्रदेश सरकारसँग आवश्यक सहयोगका लागि ज्ञापन पत्र पेस गर्नु भएको छ ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारको अधिकार क्षेत्र भित्र रहेर आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । प्रदेश सरकार मातहत रहेको कलुवापुर-बेलौरी सडकखण्डमा अधिकांश कार्य पूरा भएको र बाँकी अवरोध समेत समाधान गर्न तर्फ प्रदेश सरकार केन्द्रित भएको उहाँको भनाइ छ । हुलाकी सडकखण्ड, सीमा विवाद र भन्सार नाका स्तरोन्नति लगायतका विषयमा सङ्घीय सरकारसँग पहल गर्ने मुख्यमन्त्री भट्टले बताउनु भयो ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका क्षेत्रमा उपलब्धि देखिने गरी कार्य भइरहेको बताउनु भयो । आफ्नो निर्वाचन क्षेत्रसँगै जोडिएका सडकखण्डहरूको स्तरोन्नति र द्रुतगतिमा कार्य गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको मन्त्री खड्काको भनाइ छ । सो टोलीले शनिबार नै कञ्चनपुरका केही अन्य योजनाहरूको समेत अनुगमन गरेको छ । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख दीपक नेगी र सूचना अधिकारी हेमराज भट्टले सम्बन्धित सडक आयोजनाहरूको प्रगति विवरण बारे जानकारी दिनुभएको छ ।