हरिश्चन्द्र बाग, कञ्चनपुर । यही असार २६ र २७ गते काठमाडौँ आयोजना हुने सातौँ सगरमाथा अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी हुनका लागि कञ्चनपुरको दक्षिणी क्षेत्रबाट समेत खेलाडीहरू प्रस्थान गरेका छन् । कञ्चनपुरको बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिकाबाट समेत खेलाडीहरू बिहीबार प्रस्थान गरेका छन् । नेपाल सितोरियो कराँते डो, संघ शाखा डोजो नक्साल काठमाण्डौँको २२औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको प्रतियोगितामा सहभागी हुने खेलाडी र प्रशिक्षकहरूलाई बिहीबार बिदाइ गरिएको छ ।
बेलौरी नगरपालिकाले प्रशिक्षकहरू दिल्ली राज सुवेदी, विष्णु जैसी, मनिष खड्का र परशुनारायण चौधरी तथा खेलाडीहरूलाई एक कार्यक्रमका बिच शुभकामना सहित बिदाइ गरेको डोजो बेलौरी नगर अध्यक्ष एवं जिल्ला सदस्य राम खड्काले जानकारी दिनुभयो । बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी, उपप्रमुख, चित्रकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र प्रसाद चौधरी, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख देव बहादुर चन्द सहित कर्मचारीहरूको उपस्थितिमा बिदाइ गरिएको हो ।
त्यस्तै, लालझाडी गाउँपालिकाले पनि एक औपचारिक कार्यक्रम गरी प्रशिक्षक तथा खेलाडीहरूलाई बिदाइ गरेको छ । लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायक, प्रमुख प्रशासकीय अधिकृत महेन्द्रसिंह रावल, शिक्षा शाखा प्रमुख सिद्धराज भट्ट सहित कर्मचारीहरूको उपस्थितिमा प्रशिक्षकहरू लिलाधर भट्ट, राजकुमार एसके र जर्मन राना तथा खेलाडीहरूलाई फुलमाला र अबिर लगाई शुभकामना व्यक्त गर्दै बिदाइ गरिएको बताइएको छ । सो कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरका प्रमुख भरत सुवेदीको समेत विशेष सहभागिता रहेको थियो ।