हरिश्चन्द्र बाग, कञ्चनपुर । कञ्चनपुर जिल्लामा निःशुल्क बिरुवा वितरण सुरु गरिएको छ । सब डिभिजन बन कार्यालयबाट निःशुल्क बिरुवा वितरण कार्य बुधबारबाट सुरु गरिएको हो । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १० मा रहेको कुण्डा सब डिभिजन बन कार्यालय पचकडियाले मात्रै पनि यस वर्ष १ लाख ५० हजार र पुनर्वास नगरपालिकासँगको सहकार्यमा थप १ लाख गरी जम्मा २ लाख पचास हजार बन प्रजातिका बिरुवा निःशुल्क वितरण गरिरहेको कार्यालयले जनाएको छ । गत विगतका वर्षहरूमा असार २० गतेबाट बिरुवा वितरण गर्ने गरिएको भए पनि यस वर्ष छिट्टै वर्षात भएकोले केही दिन पहिले नै बिरुवा वितरण गर्न सुरु गरिएको कुण्डा सब डिभिजन बन कार्यालय पचकडियाका प्रमुख (सहायक बन अधिकृत) दिनेश कुमार यादवले बताउनु भयो ।
कुण्डा सब डिभिजन बन कार्यालय पचकडिया र पुनर्वास नगरपालिकाको समन्वय र सहकार्यमा विगतका वर्षहरूमा करिब ६ लाख जति बिरुवा वितरण गरिएको थियो । यस वर्ष पनि अढाई लाख बिरुवा वितरण गरिरहँदा त्यसको निरीक्षणमा समेत जोड दिइएको छ । बिरुवा उत्पादन गरी निःशुल्क वितरण गर्ने र निजी बन बनाउने व्यक्तिहरूलाई प्रोत्साहन गर्ने कार्य योजना पुनर्वास नगरपालिकाको नीति तथा कार्यक्रममा समेत समेटिएको पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवनराज थापाले बताउनु भयो । सहरीकरणका नाममा बन जङ्गल र हरियाली क्षेत्र मासिने क्रम बढिरहेको अवस्थामा कोभिड महामारीले उत्पन्न अक्सिजनको अभाव जस्ता परिस्थितिले पनि वृक्षारोपण गर्नुपर्ने आवश्यकता औँल्याएको पुनर्वास नगरपालिकाका उपप्रमुख शारदा शर्मा बिष्टको भनाइ छ ।
कुण्डा सब डिभिजन बन कार्यालय पचकडियाले मसला, टिक, बकाइनो, बडहर, अमला, निम, बाँस, सिरिस, सिसौ, पपुलर, गोल्ड मोहर आदि प्रजातिका बिरुवा निःशुल्क वितरण गरिरहेको छ । सङ्घसंस्था, विद्यालय, सरकारी कार्यालय, क्लब, सामुदायिक वनको लागि संस्थागत पत्र तथा व्यक्तिगत (निजी) जग्गामा वृक्षारोपणको लागि ५० गोटासम्म निवेदन मात्र, ५० देखि ३०० गोटासम्म नागरिकता तथा जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि र ३०० भन्दा बढी बिरुवा माग भएमा वडा कार्यालयको सिफारिस सहित निवेदन र कागजात आवश्यक पर्ने जनाइएको छ ।