हरिश्चन्द्र बाग, कञ्चनपुर, १५ असार । कञ्चनपुरको बेलौरीमा समेत १८ औँ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव मनाइएको छ । “धान उत्पादनमा वृद्धि; खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि” भन्ने नारा सहित कृषक समन्वय समिति बेलौरी नगरपालिका वडा नम्बर १० को समन्वय र बेलौरी नगरपालिका कृषि विकास शाखाको आयोजनामा मंगलबार धान दिवस मनाइएको हो । औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले नगर क्षेत्र भित्र अधिकांश घरपरिवार कृषिमा निर्भर रहेको परिस्थितिलाई मध्यनजर गरी आधुनिक कृषि प्रणालीको प्रवर्धन गरिएको बताउनु भयो । बेलौरी नगरपालिकामा परम्परागत ढङ्गबाट कृषि कार्य हुँदै आएकोमा पछिल्ला केही वर्षयता आधुनिक कृषि यन्त्र उपकरणको प्रयोग, नयाँ प्रविधिबाट खेतीपाती गर्ने कार्य र कृषकहरूलाई उन्नत जातको विउविजनको व्यवस्थापनमा बेलौरी नगरपालिकाले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको नगर प्रमुख चौधरीको दाबी छ ।
कृषि पेसालाई व्यावसायिक पेसाका रूपमा अवलम्बन गर्ने कृषकहरूलाई संघीय, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारको समन्वय र सहकार्यमा अनुदान सहित विभिन्न लोकप्रिय कार्यक्रममा समेटेको नगर प्रमुख चौधरीको भनाइ छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मुख्यमन्त्री कृषि आधुनिकीकरण परियोजना र नगर प्रमुख कृषि आधुनिकीकरण परियोजनाको सफल कार्यान्वयनले नगर क्षेत्र भित्रका थुप्रै कृषकहरू लाभान्वित भएको उहाँले बताउनु भयो । कृषि पेसामा युवाहरूलाई समेत आकर्षित गर्ने नीति बेलौरी नगरपालिकाले लिएको उल्लेख गर्दै नगर प्रमुख चौधरीले त्यसको सफल कार्यान्वयनमा जोड दिनुभयो । अनुदानका लागि मात्रै कृषि पेसामा लाग्ने तर उपलब्धि हासिल गर्न नसक्ने व्यक्तिहरूलाई निरुत्साहन गर्नुपर्ने र व्यावसायिक कृषि पेसामा संलग्न परिश्रमी कृषकहरूलाई प्रोत्साहन गर्नुपर्ने नगर प्रमुख चौधरीको भनाइ छ ।
बेलौरी नगरपालिकाले स्थानीय तहको निर्वाचन पछि क्रमबद्ध रूपमा पहिलो वर्ष हात्तिबोझा, दोस्रो वर्ष रिछाहा, तेस्रो वर्ष वडा नम्बर ७ र चौथो वर्ष वडा नम्बर १० मा राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव मनाइएको बेलौरी नगरपालिकाका उपप्रमुख चित्रकुमारी चौधरीले बताउनु भयो । बेलौरी नगरपालिकाले प्रत्येक वडामा कृषि समन्वय समिति गठन गरेको र समिति मार्फत कृषकहरूले माग गरेका कृषि औजार, विउविजन, तथा प्राविधिक सहयोग गर्दै आएको र बेलाबेलामा तालिम समेत सञ्चालन गरेको भए पनि अपेक्षाकृत उपलब्धि हुन नसकेको उपप्रमुख चौधरीको भनाइ छ । बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र प्रसाद चौधरीले राज्यका विभिन्न निकायले लागु गरेका योजनाहरूको सफल कार्यान्वयन गर्न नसक्दा कृषि क्षेत्र पनि पछाडि धकेलिएको बताउनु भयो ।
कार्यक्रमका सभापति एवं बेलौरी नगरपालिका आर्थिक विकास समितिका संयोजक नेत्रराज गिरीले कृषि क्षेत्रमा आत्मनिर्भर भई समृद्धिको यात्रालाई अगाडि बढाउन सकेमा नगर क्षेत्र भित्रको बेरोजगारी घट्ने बताउनु भयो । खाद्य उपभोक्ता मात्रै नभई खाद्यान्न उत्पादक समेत बन्ने गरी केन्द्रित हुनु पर्ने उहाँको भनाइ छ । बेलौरी नगरपालिकाको पहिलो प्राथमिकता व्यावसायिक कृषि क्षेत्र भएकोले त्यस तर्फ लक्षित वर्ग सक्रिय हुनुपर्नेमा उहाँले जोड दिनुभयो । बेलौरी नगरपालिका कृषि विकास शाखाका प्रमुख सुमन राज जोशीले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण कृषि प्राविधिक हरिश सेटीले गर्नुभएको थियो । स्थानीय जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी सहित कृषकहरूको उपस्थितिमा हिलो छ्यापाछ्याप गर्दै रमाइलो गरी धान रोप्ने र दही चिउरा खाने कार्यक्रम समेत गरिएको थियो ।