हरिश चन्द्र बाग, कञ्चनपुर, १० मंसिर । कञ्चनपुरको बेलडाँडीमा धार्मिक सांस्कृतिक डेउडा प्रतियोगिता शुरू भएको छ ।
सुदूरपश्चिमको मौलिक संस्कृति संरक्षणका लागि सन्देशमूलक डेउडा प्रतियोगिता आयोजना गरिएको आयोजक कञ्चन सामुदायिक विकास केन्द्र बेलडाँडीका अध्यक्ष सरिता रोकाया बोगटीले बताउनु भएको छ । बेलडाँडी गाउँपालिका वडा नम्बर ५ को आर्थिक सहयोगमा झिलमिलाको नयाँ कालिका मन्दिरमा मंगलबारदेखि तीन दिनसम्म प्रतियोगिता सञ्चालन गरिने उहाँले बताउनु भएको छ ।
प्रतियोगिताको उद्घाटन सत्रलाई सम्बोधन गर्दै बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले सुदूरपश्चिमको मौलिक संस्कृतिका रूपमा विकसित डेउडाको संरक्षण र प्रवर्द्धनका लागि गाउँपालिका सहयोग गर्न तयार रहेको बताउनु भयो । उहाँले गाउँपालिका भित्र रहेका सबै समुदायको संस्कृति रक्षाका लागि गाउँपालिकाले सहयोग गर्दै आएको स्मरण गराउनु भएको छ ।
त्यस्तै, बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष कमला देवी कार्कीले डेउडालाई सन्देशमूलक प्रतियोगिताका रूपमा सञ्चालन गर्न र प्रतियोगितालाई मर्यादित बनाउन सबैलाई अनुरोध गर्नुभएको छ ।
बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष कृष्ण बहादुर रोकायाले हरेक वर्ष यही मितिमा डेउडा प्रतियोगिता गर्नुपर्ने धारणा राख्नुभयो ।
तर वडा नम्बर २ का वडाध्यक्ष प्रेम राज खातीले सुदूरपश्चिमेलीले मनाउने कुनै चाडपर्वको अवसर पारी प्रतियोगिता गर्न सुझाव दिनुभयो ।
त्यस्तै, बेलडाँडी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष अमर बहादुर खत्री लगायतका वक्ताहरूले संस्कृति संरक्षणमा जोड दिनुभएको छ ।