हरिश्चन्द्र बाग, कञ्चनपुर, ११ असार । कञ्चनपुरको लालझाडी गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य सेवा विभागबाट प्राप्त स्वास्थ्य सामग्रीहरू शुक्रबार लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकलाई हस्तान्तरण गरिएको हो । राष्ट्रिय सभा सदस्य इन्दु कडरिया बिष्ट र नेकपा एमालेका नेता खेम सुवेदीको विशेष पहलमा अक्सिजन कन्सन्ट्रेटर १ थान, थर्मल गन ६ थान, गाउन १० थान, सर्जिकल मास्क १ हजार १ सय थान, एन नाइन्टी फाइभ मास्क १ सय थान, ग्लोब्स १ सय थान, अक्सिजन सिलिन्डर ४ थान, फेस सिल्ड ३० थान र एन्टीजिन कीट १ सय थान लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो । उक्त सामग्री लालझाडी गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरूका लागि हस्तान्तरण गरिएको बताइएको छ ।
शुक्रबार नै कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ मा रहेको लक्ष्मीपुर स्वास्थ्य चौकीलाई पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य सेवा विभागबाट प्राप्त स्वास्थ्य सामग्रीहरू मध्ये केही सामग्री लक्ष्मीपुर स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवं बेलौरी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष कलवीर चौधरीलाई राष्ट्रिय सभा सदस्य इन्दु कडरिया बिष्ट र नेकपा एमालेका नेता खेम सुवेदीले संयुक्त रूपमा हस्तान्तरण गर्नुभएको हो । लक्ष्मीपुर स्वास्थ्य चौकी गोकुलपुरलाई अक्सिजन कन्सन्ट्रेटर १ थान, सर्जिकल मास्क ५ सय थान, एन नाइन्टी फाइभ मास्क १५ थान, ग्लोब्स १ सय थान, फेस सिल्ड ५० थान, गाउन ५० थान, पिपिई सेट २ थान लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो ।
त्यस क्रममा, राष्ट्रिय सभा सदस्य इन्दु कडरिया बिष्टले कञ्चनपुर क्षेत्र नम्बर १ का नागरिकहरूले कोभिड महामारीको समयमा खेप्नु परेको दुःखमा मलहम लगाउन विभागसँग अत्यावश्यक स्वास्थ्य सामग्री माग गरिएको बताउनु भयो । माग भएका सबै सामग्रीहरू विभागबाट प्राप्त नभए पनि केही सामग्री प्राप्त भएको उल्लेख गर्नुभयो । प्राप्त सामग्रीहरू कञ्चनपुर क्षेत्र नम्बर १ का विभिन्न स्वास्थ्य संस्थाहरूलाई हस्तान्तरण गरिएको र थप सामग्रीका लागि पुनः विभागमा माग गरिने उहाँको भनाइ छ । नेकपा एमालेका नेता खेम सुवेदीले कोभिडका कारण सिङ्गो विश्व नै छिन्नभिन्न भएको अवस्थामा महामारीसँग लड्न नेपाललाई निक्कै गाह्रो भएको परिस्थितिमा विभिन्न दातृ निकायबाट सहयोग पाएको उल्लेख गर्नुभयो । उहाँले अग्रपङ्क्तिमा खटिएका सबै पक्ष प्रति आभार व्यक्त गर्नभयो ।