हरिश्चन्द्र बाग, कञ्चनपुर, ०९ असार । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य सेवा विभागबाट प्राप्त स्वास्थ्य सामग्री बुधबार बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदान गरिएको हो । राष्ट्रिय सभा सदस्य इन्दु कडरिया बिष्ट र नेकपा एमालेका नेता खेम सुवेदीको विशेष पहलमा अक्सिजन सिलिन्डर ३ थान, अक्सिजन कन्सन्ट्रेटर १ थान (रौतेली स्वास्थ्य चौकी), थर्मलगन १ थान, पल्स अक्सिमिटर १ थान, मास्क १ हजार थान, ग्लोब्स १ सय थान, फेस सिल्ड २० थान, गाउन ५० थान, एन्टीजिन कीट ५० थान, भिटिएम कीट ५० थान, फ्लो मिटर ३ थान र नसल पाइप १ थान लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो ।
त्यसक्रममा, राष्ट्रिय सभा सदस्य इन्दु कडरिया बिष्टले कञ्चनपुर क्षेत्र नम्बर १ का नागरिकहरूले कोभिड महामारीको समयमा खेप्नु परेको दु:खमा मल्हम लगाउन विभागसँग अत्यावश्यक स्वास्थ्य सामग्री माग गरिएको बताउनु भयो । माग भएका सबै सामग्रीहरू विभागबाट प्राप्त नभए पनि केही सामग्री प्राप्त भएको उल्लेख गर्नुभयो । प्राप्त सामग्रीहरू कञ्चनपुर क्षेत्र नम्बर १ का विभिन्न स्वास्थ्य संस्थाहरूलाई हस्तान्तरण गरिएको र थप सामग्रीका लागि पुनः विभागमा माग गरिने उहाँको भनाइ छ । बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले विभागबाट स्वास्थ्य सामग्री ल्याई बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रलाई उपलब्ध गराउनु भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । त्यस्तै, बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष कमला देवी कार्कीले आगामी दिनमा एक्सरे र भिडियो एक्सरे मेसिन सहित थप सहयोगको अपेक्षा गर्नुभयो ।
नेकपा एमालेका नेता खेम सुवेदीले कोभिडका कारण सिंगो विश्व नै छिन्नभिन्न भएको अवस्थामा महामारीसँग लड्न नेपाललाई निक्कै गाह्रो भएको परिस्थितिमा विभिन्न दातृ निकायबाट सहयोग पाएको उल्लेख गर्नुभयो । उहाँले अग्रपंक्तिमा खटिएका सबै पक्ष प्रति आभार व्यक्त गर्नभयो । बेलडाँडी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष एवं बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष प्रेमराज खातीले कोभिड रोकथामका लागि यस क्षेत्रबाट प्रत्यक्ष निर्वाचित प्रदेश र प्रतिनिधि सभाका सदस्यहरूबाट कुनै किसिमको सहयोग नपाए पनि राष्ट्रिय सभा सदस्य इन्दु कडरिया बिष्ट सहितका नेताहरूको पहलमा स्वास्थ्य सामग्री पाइएकोमा उहाँहरू प्रति आभार व्यक्त गर्नुभयो । बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. राजेन्द्र प्रसाद भट्टले सबै पक्षको सहयोगबाट प्राथमिक स्वास्थ्य केन्द्रले स्वास्थ्य सेवा प्रवाह गर्न सकेको उल्लेख गर्नुभयो । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख माधवानन्द भट्ट सहित कर्मचारी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
बुधबार नै कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ८ मा रहेको रामपुर स्वास्थ्य चौकीलाई समेत स्वास्थ्य सामग्री प्रदान गरिएको छ । स्वास्थ्य सेवा विभागबाट प्राप्त स्वास्थ्य सामग्रीहरु मध्ये केही सामग्री रामपुर स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवं बेलौरी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष नन्दकुमार रानालाई राष्ट्रिय सभा सदस्य इन्दु कडरिया बिष्ट र नेकपा एमालेका नेता खेम सुवेदीले संयुक्त रूपमा हस्तान्तरण गर्नुभएको हो । रामपुर स्वास्थ्य चौकी कलकत्तालाई अक्सिजन कन्सन्ट्रेटर १ थान, थर्मलगन २ थान, पल्स अक्सिमिटर २ थान, सर्जिकल मास्क २ सय थान, एन नाइन्टी फाइभ मास्क १० थान, ग्लोब्स १ सय थान, फेस सिल्ड २० थान, गाउन २० थान, पिपिई सेट १ थान र अक्सिजन सिलिन्डर २ थान लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो ।