हरिश्चन्द्र बाग, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकाको सीमा क्षेत्र बनरा नदी किनारका अव्यवस्थित बसोवासीलाई खाद्यान्न वितरण गरिएको छ । भूमि सम्बन्धी समस्या समाधान आयोग कञ्चनपुरका अध्यक्ष कमला बोहराको पहलमा उक्त बस्तीका २८ घरपरिवारलाई आइतबार प्रति परिवार एक कट्टा चामल, तेल र दाल वितरण गरिएको हो ।
कैलाली निवासी शिव भुजेलले आफ्नो जन्मदिनको अवसरमा तेल र दाल सहयोग गरेको तथा विद्यार्थी नेता हेमन्त रेग्मीको समन्वयमा मनकारी व्यवसायीद्वारा चामल उपलब्ध भएपछि उक्त बस्तीका नागरिकहरूलाई खाद्यान्न वितरण गरिएको बताइएको छ । कोभिड महामारीका कारण दैनिक छाक टार्न समेत मुस्किल भएका उक्त बस्तीका नागरिकहरूमा खाद्यान्न वितरण गरिएको हो ।
सोही क्रममा भूमि सम्बन्धी समस्या समाधान आयोग कञ्चनपुरका अध्यक्ष कमला बोहराले कोभिडका कारण दैनिक जीविका चलाउन समेत समस्यामा परेका नागरिकहरूलाई विभिन्न सहयोगी दाताहरूको सहयोगमा राहत स्वरूप खाद्यान्न वितरण गरिएको बताउनुभयो । यद्यपि राहत वितरण गर्ने कार्य आयोगको जिम्मेवारी बाहिर रहेको भएपनि ती नागरिकहरूको दैनिकी हेर्दा खाद्यान्न अत्यावश्यक देखेर आयोग कञ्चनपुरकै अनुरोधमा सहयोग जुटेको उहाँले स्पष्ट पार्नु भएको छ ।
अध्यक्ष बोहराले भूमि सम्बन्धी समस्या समाधान आयोग कञ्चनपुरले तथ्याङ्क सङ्कलन गरी त्यसको फाइल अध्ययन गरिरहेको बताउनु भएको छ । दोस्रो भेरिअन्ट सहितको कोभिड सङ्क्रमणका कारण आयोगको काममा धेरै प्रभाव पारेको उल्लेख गर्दै अध्यक्ष बोहराले फाइल अध्ययन पश्चात् आउँदो साउन महिना देखि चरणबद्ध रूपमा आयोगले जग्गा धनी प्रमाण पुर्जा वितरणको कार्य सुरु गर्ने बताउनु भएको छ ।
उक्त बस्तीका विपन्न नागरिकहरूले विपत्तिको समयमा राहत पाउँदा निक्कै खुसी व्यक्त गरेका छन् । साँझ बिहानको छाक टार्नै मुस्किल भइरहेको समयमा सहयोग गर्ने व्यक्तिहरू आफूहरूका लागि भगवान् सरह भएको उल्लेख गर्दै बस्तीका नागरिकहरूले छिट्टै उचित बसोबासको व्यवस्थापन गरिदिन माग गरेका छन् । राहत वितरण कार्यक्रममा आयोगका जिल्ला सदस्य रमेश भट्ट, नेकपा एमाले कञ्चनपुरका सदस्य इन्द्र पुजारा, विद्यार्थी नेता हेमन्त रेग्मी लगायतको महत्त्वपूर्ण भूमिका रहेको बताइएको छ ।
![](https://www.nepalbodh.com/uploads/editor/FB_IMG_1624211896950.jpg)