हरिश्चन्द्र बाग, कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा रहेको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीलाई निड्स नेपालले खानेपानी सरसफाइ तथा स्वच्छताका लागि प्रतिकार्य सामग्री सहयोग गरेको छ । दोस्रो चरणको कोभिड १९ महामारी रोकथामका लागि कोभिड प्रतिकार्यका क्षेत्रमा युनिसेफको साझेदारी र सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयसँगको समन्वयमा निड्स नेपालले बुधबार श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रतिकार्य सामग्री प्रदान गरेको निड्स नेपालका उपाध्यक्ष लोकेन्द्र जोशीले जानकारी दिनुभयो । कोभिड १९ को पहिलो र दोस्रो लहरमा निड्स नेपालले खानेपानी सरसफाइ तथा स्वच्छता (वास) को क्षेत्रमा प्रतिकार्य सहयोग गरेको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रशासन प्रमुख (हेल्थ असिस्टेन्ट) गोविन्द बहादुर बिष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार, उक्त संस्थाबाट कोभिड १९ को पहिलो लहरमा स्वास्थ्य केन्द्रको शौचालयका लागि २ वटा सेप्टी टङ्की निर्माण, खानेपानी टङ्की स्टेण्ड पाइप सहित ३ वटा स्टिलको टङ्की जडान, स्टिलको पानी टङ्की सहित १ वटा हात धुने स्टेण्ड जडान एवं खानेपानी सरसफाइ तथा स्वच्छतामा सामग्री हस्तान्तरण र सचेतनामूलक बोर्ड र फ्लेक्स समेत सहयोग प्राप्त भएको थियो । त्यस्तै, कोभिड १९ को दोस्रो लहरमा समेत सरसफाइ, फोहर व्यवस्थापन र निर्मलीकरणका सामानहरू सहयोग गरेको उहाँले बताउनु भयो । कोभिड १९ प्रतिकार्य सहयोगका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रको तर्फबाट धन्यवाद ज्ञापन सहित आगामी दिनहरूमा समेत थप सहयोगको अपेक्षा गर्नुभयो ।
हरेक महामारीका समयमा पिउने पानी, सरसफाइ र स्वच्छताको व्यवस्था निकै महत्त्व हुने गर्दछ । कोभिडको पहिलो लहरमा गत वर्ष सुदूरपश्चिमका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाको पिउने पानी, हात धुने व्यवस्था, शौचालय र धारा टुटी मर्मत तथा पानी आपूर्तिको व्यवस्थापनमा सहयोग गरिएको थियो । कोभिडको दोस्रो लहरमा यस वर्ष पनि तिनै अस्पताल, स्वास्थ्य संस्था र आइसोलेसनको सरसफाइ र स्वच्छता प्रवर्धनका लागि सरसफाइ र स्वच्छताका सामग्रीहरू निड्स नेपाल मार्फत हस्तान्तरण गरिएको निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले बताउनु भयो । उहाँका अनुसार, टिकापुर अस्पताल, भजनी प्राथमिक स्वास्थ्य केन्द्र, चौमाला स्वास्थ्य संस्था, दोधारा प्राथमिक स्वास्थ्य केन्द्र, महेन्द्रनगर बजारको आइसोलेसन, महाकाली अस्पताल र श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीलाई सामग्री हस्तान्तरण गरिएको छ ।