हरिश्चन्द्र बाग, कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा रहेका दुई वटै कोभिड अस्पतालहरूमा भूमि सम्बन्धी समस्या समाधान आयोग कञ्चनपुरको तर्फबाट स्वास्थ्य सामग्री वितरण गरिएको छ । ईशान मेमोरियल अस्पताल बेलौरीद्वारा सञ्चालित कोभिड अस्पताल बेलौरी तथा बेलौरी नगरपालिकाद्वारा सञ्चालित कोभिड अस्पताल कुण्डालाई बुधबार स्वास्थ्य सामग्री प्रदान गरिएको भूमि सम्बन्धी समस्या समाधान आयोग कञ्चनपुरका अध्यक्ष कमला बोहराले जानकारी दिनुभयो ।
उहाँका अनुसार, ईशान मेमोरियल अस्पताल बेलौरीद्वारा सञ्चालित कोभिड अस्पताललाई पिपिई सेट ४० थान, सर्जिकल मास्क १ हजार थान, नर्मल मास्क २ सय ५० थान, एफएफपी मास्क ८० थान, ग्लोब्स् २ सय थान, स्यानिटाइजर ५ लिटर र फेस सिल्ड २५ थान प्रदान गरिएको छ । उक्त सामग्री नेकपा एमाले बेलौरी ४ नम्बर वडा कमिटीका अध्यक्ष जितेन्द्र थपलियाको रोहबरमा हस्तान्तरण गरिएको हो ।
त्यस्तै, बेलौरी नगरपालिकाद्वारा सञ्चालित कोभिड अस्पताल कुण्डालाई पिपिई सेट ३४ थान, सर्जिकल मास्क ७ सय ५० थान, नर्मल मास्क २ सय ५० थान र फेस सिल्ड २५ थान प्रदान गरिएको छ । उक्त सामग्री वडा नम्बर ९ का वडाध्यक्ष शमशेर सिंह पेलाको रोहबरमा हस्तान्तरण गरिएको बताइएको छ । त्यस क्रममा नेकपा एमालेका नेताहरू खेम सुवेदी, बलदेव सिंह बुडाल, कर्मसाय राना, ज्ञानु गौतम, गोविन्द सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
उक्त स्वास्थ्य सामग्री उपलब्ध गराउन सहयोग गर्नुहुने अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य सरिता सापकोटा र समाजसेवी तथा बुद्ध एयर परिचारिका सरिता चन्द एवं उक्त स्वास्थ्य सामग्री यहाँसम्म ल्याई पुर्याउन सहयोग गर्ने दीपक बोहरा प्रति भूमि सम्बन्धी समस्या समाधान आयोग कञ्चनपुरका अध्यक्ष कमला बोहराले धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले कोभिडको महामारीमा आफूले गर्न सक्ने सहयोग सबैले आ–आफ्नो ठाउँबाट गर्नुपर्नेमा जोड दिनुभयो ।
कोभिडबाट सङ्क्रमित बिमारीहरूको उपचारमा सहजताका लागि अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गर्नु भएकोमा सहयोगीदाताहरू प्रति ईशान मेमोरियल अस्पतालका अध्यक्ष आई जङ्ग कुँवरले आभार व्यक्त गर्नुभएको छ । त्यस्तै, सङ्कटको यस घडीमा नागरिकको स्वास्थ्यलाई मध्यनजर गरी बेलौरी नगरपालिकाले सञ्चालन गरेको कोभिड अस्पताल कुण्डामा आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेकोमा बेलौरी नगरपालिकाले समेत धन्यवाद ज्ञापन गरेको छ ।