कञ्चनपुर । विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले शान्ति पुनर्स्थापना गृह शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुरले स्थानीय तहहरू भीमदत्त नगरपालिका र दोधाराचाँदनी नगरपालिकालाई स्वास्थ्य सामग्रीहरू (मास्क, स्यानिटाइजर, अक्सिमिटर, थर्मल गन, फेस सिल्ड, ह्याण्ड ग्लोब्स, पिपिई सेट) प्रदान गरेको छ । स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण कार्यक्रममा भीमदत्त नगरपालिकामा भीमदत्तका नगर प्रमुख सुरेन्द्र बिष्ट, महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर), जनस्वास्थ्य अधिकृत नरेन्द्रराज जोशी, वडा नम्बर ४ का वडाध्यक्ष, कानुनी सल्लाहकार प्रेम बहादुर सिंह लगायत कर्मचारीहरूको बिचमा सामग्री हस्तान्तरण गरिएको हो ।
त्यसैगरी, दोधाराचाँदनी नगरपालिकामा नगर उपप्रमुख चिनी गिरी, प्रशासकीय अधिकृत गणेश दत्त मिश्र, स्वास्थ्य शाखा प्रमुख जयदेव महरा, योजना शाखा अधिकृत भानदेव भट्टको सहभागितामा सामग्री हस्तान्तरण गरिएको छ । त्यसक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्ट र दोधाराचाँदनी नगरपालिकाका उपप्रमुख चिनी गिरीले मन्तव्य राख्दै महासङ्कटको यस घडीमा नगरपालिकालाई स्वास्थ्य सुरक्षाका सामग्रीहरू सहयोग गरेकोमा शान्ति पुनर्स्थापना गृहलाई धन्यवाद दिँदै आगामी दिनहरूमा समेत निरन्तर सहयोग र सहकार्यका लागि प्रतिबद्धता जनाउनु भयो ।
शान्ति पुनर्स्थापना गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले कोभिड महामारीको विषम परिस्थिति हुँदा सङ्क्रमणबाट महिला तथा बालबालिका माथि हुने जोखिमलाई ध्यानमा राखी स्वास्थ्य सामग्री स्थानीय तहहरूलाई उपलब्ध गराएको बताउनु भयो । शान्ति पुनर्स्थापना गृह शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुरले भारतसँग जोडिएका सीमा नाकाहरू मध्ये गड्डाचौकी, दोधाराचाँदनी, ब्रह्मदेव र बेलौरीमा मानव बेचबिखनको रोकथाम तथा नियन्त्रणका क्षेत्रमा कार्य गर्दै आएको छ । यद्यपि हाल कोभिड सङ्क्रमणलाई ध्यानमा राखी कोभिडको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहयोग गरिरहेको शान्ति पुनर्स्थापना गृह कञ्चनपुरका जिल्ला संयोजक सञ्जित सिंहले बताउनुभयो ।