हरिश्चन्द्र बाग, कञ्चनपुर, ३१ जेठ । कञ्चनपुरको बेलौरीबाट लागु औषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी निरीक्षक कमल कुमार खड्काको कमान्डमा खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका वडा नम्बर ८ पचुई बस्ने ३० वर्षीय हरिकृष्ण रानालाई पक्राउ गरेको हो । आइतबार साँझ पचुई स्थित सीमा क्षेत्र नजिकै फेला पारेर शङ्का लागी चेकजाँच गर्दा रानाको साथबाट १३.०३ ग्राम लागु औषध खैरो हेरोइन समेत बरामद गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । रानामाथि कानुन बमोजिम थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षमा मात्रै पनि इलाका प्रहरी कार्यालय बेलौरी तथा मातहतको क्षेत्रबाट २०९.४३ ग्राम खैरो हेरोइन, २.५७० ग्राम चरेस, २२० ट्याब्लेट नाइट्राभेट, ८७ ट्याब्लेट कफट्याब डी, १४ ट्याब्लेट प्रेगास्टर, १६ क्याप्सुल स्पास्मो प्रोक्सीभोन प्लस बरामद गरिएको इलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी निरीक्षक कमल कुमार खड्काले जानकारी दिनुभयो । यस अवधिमा सो परिणामको लागु औषध सहित जम्मा ३२ जनालाई पक्राउ गरिएको उहाँको भनाइ छ । लागु औषध ओसारपसार तथा सेवनकर्ताहरू मध्ये अधिकांश किशोरावस्था र युवावस्थाका पुरुषहरू रहेको प्रहरीको तथ्याङ्कले देखाउँछ । लागु औषधको अवैध ओसारपसारमा संलग्न सङ्गठित गिरोहको गतिविधि सीमावर्ती क्षेत्रमा झन् बढ्दै गएको पाइन्छ ।
लागु औषध दुर्व्यसनी बढ्नुको मुख्य कारणका रूपमा लागु औषधको सहज पहुँच पहिलो नम्बरमा रहेको अनुसन्धानकर्ताहरूको भनाइ छ । त्यसबाहेक खुला सीमा नाका, अव्यवस्थित सहरीकरण, सङ्गठित आपराधिक सञ्जालको प्रभाव वृद्धि, तथाकथित आधुनिकीकरणको विस्तार, साथीभाइहरूको लहलहै, बेरोजगारी तर गलत कार्यबाट पैसाको सहज उपलब्धता, एकल पारिवारिक संरचना, पारिवारिक बेमेल, एक्लोपन आदि पनि लागु औषध दुर्व्यसनी बढ्नुका मुख्य कारणका रूपमा रहेका छन् । लागु औषध प्रयोगकर्ताहरू सुन्दर परिवार, सामाजिक मान प्रतिष्ठा, धन सम्पत्ति गुमाउनुका साथै विभिन्न रोगहरू कुपोषण, रक्त अल्पता, हेपाटाइटिस, एच.आई.भी. एड्स जस्ता खतरनाक यौनजन्य रोगबाट समेत सङ्क्रमित हुने क्रम बढ्दै गएको छ । लागु औषधको दुर्व्यसन तथा अवैध ओसारपसार बहुपक्षीय सरोकारको विषय भएकोले यसको रोकथाम तथा नियन्त्रणको कार्यमा सबै पक्षको सहकार्य र साझेदारी हुनुपर्ने देखिन्छ ।