हरिश्चन्द्र बाग, कञ्चनपुर, १८ जेठ । विश्वभर फैलिरहेको कोभिड १९ को त्रासदीपूर्ण अवस्थालाई मध्यनजर गर्दै कञ्चनपुर जिल्लाका विभिन्न क्षेत्रमा सञ्चालन गरिएका कोभिड अस्पतालहरूलाई चाइना रेडक्रस फाउन्डेसन र मर्सिकोर नेपालको सहयोगमा नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेश कार्यालय र कञ्चनपुर जिल्ला शाखाले मंगलबारका दिन स्वास्थ्य सामग्री तथा उपकरणहरू र विपद् व्यवस्थापनका सामग्री सहयोग गरेको छ । कञ्चनपुर जिल्ला भित्र रहेका महाकाली अस्पताल, वेदकोट कोभिड अस्पताल, पुनर्वास कोभिड अस्पताल, बेलौरी कोभिड अस्पताल र दोधाराचाँदनी कोभिड अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर ३ थान, डेडबडी कबर २० थान र मेडिकल मास्क ३३ हजार थान, स्यानिटाइजर २ सय बोतल, ग्लोब्स २ सय जोर, पिपिई सेट ५० थान, फेस सिल्ड २ सय थान, एन नाइन्टी फाइभ मास्क ८ सय थान, त्रिपाल ६० थान, बाल्टी ३० थान, डस्ट्रबीन ६० थान, मिनिरल वाटर ३ हजार बोतल, मग ३० थान सम्बन्धित पालिकाका नगर प्रमुख र उप प्रमुख एवं संस्थाका पदाधिकारीहरू र रेडक्रस उपशाखाहरूलाई हस्तान्तरण गरिएको छ ।
महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी बोक्सरलाई दश हजार थान मास्क र ५० थान पिपिई सेट नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेश कार्यालयका प्रदेश अध्यक्ष केशवदत्त पन्त र नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति कञ्चनपुरका उपसभापति मञ्जु दाहाल, नर बहादुर राना, कोषाध्यक्ष थिरेन्द्रचन्द्र भट्ट र कार्यालय प्रमुख मनोज प्रसाद उप्रेतीबाट हस्तान्तरण गरिएको थियो । त्यसैगरी वेदकोट नगरपालिकामा सञ्चालनमा रहेको आइसोलेसनका लागि एक थान अक्सिजन कन्सनट्रेटर र २ हजार थान मास्क नगर प्रमुख अशोक कुमार चन्दलाई हस्तान्तरण गरिएको बताइएको छ । मंगलबार नै दोधाराचाँदनी नगरपालिकामा सञ्चालित कोभिड अस्पतालका लागि पनि एक थान अक्सिजन कन्सनट्रेटर र २ हजार थान मास्क नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेश कार्यालयका अध्यक्ष केशवदत्त पन्त, नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्य समिति कञ्चनपुरका सदस्य धन बहादुर शाही, दोधारा उपशाखाका पदाधिकारी र रेडक्रसका कर्मचारीहरूको उपस्थितिमा दोधाराचाँदनी नगरपालिकाका नगर प्रवक्ता एवं ६ नम्बर वडाका वडाध्यक्ष दिल बहादुर सिलाजीलाई हस्तान्तरण गरिएको छ ।
त्यस्तै, पुनर्वास नगरपालिकामा नेपाल रेडक्रस सोसाइटी उपशाखा पुनर्वासको समन्वय र मर्सिकोर नेपाल धनगढीको आर्थिक सहयोगमा नगरपालिकाबाट सञ्चालित कोभिड अस्पताल र आईसोलेशनलाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । मर्सिकोर नेपालले नगरपालिकालाई पिपिई सेट ५० थान, सेनिटाईजर १ सय बोतल, सर्जिकल मास्क २ हजार थान, सर्जिकल ग्लोब्स १ सय जोडी, झुल ३० थान, फेस सिल्ड १ सय थान, एन नाइन्टी फाइभ मास्क १ सय थान, त्रिपाल ३६ थान, प्लास्टिक बाल्टी ३० थान, मग ३० थान, डस्ट्रबिन ठूलो ३० थान र मिनिरल वाटर १ हजार ५ सय बोतल सहयोग गर्दै नगर प्रमुख जीवनराज थापालाई सो स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको रेडक्रस उपशाखा पुनर्वासका सहसचिव रुपेश खरेलले जानकारी दिनुभयो । त्यस क्रममा नगर प्रमुख थापाले यस्तो विपद्को समयमा नगरपालिकालाई सम्झिने मर्सिकोर नेपाल र नेपाल रेडक्रस उपशाखाका प्रतिनिधिहरूलाई धन्यवाद व्यक्त गर्नुहुँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको बताउनुभयो ।
बेलौरी नगरपालिकामा सञ्चालनमा रहेको कोभिड अस्पतालका लागि १ थान अक्सिजन कन्सनट्रेटर, मेडिकल मास्क २ हजार थान, स्यानिटाइजर १ सय बोतल, ग्लोब्स १ सय जोर, पिपिई सेट ५० थान, फेस सिल्ड १ सय थान, एन नाइन्टी फाइभ मास्क १ सय थान, त्रिपाल २४ थान, डस्ट्रबीन ३० थान, मिनिरल वाटर १ हजार ५ सय बोतल नगर उपप्रमुख चित्रकुमारी चौधरी एवं पदाधिकारीहरूलाई नेपाल रेडक्रस सोसाइटी बेलौरी उपशाखाका सभापति विष्णु प्रसाद तिवारीबाट हस्तान्तरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाले १५ वटा उपशाखाहरूलाई प्रति उपशाखा १ हजार थान मास्क र ४० थान एन नाइन्टी फाइभ मास्क वितरण गरिरहेको नेपाल रेडक्रस सोसाइटी अन्तर्गत सञ्चालित एमरेड परियोजनाका कार्यक्रम संयोजक महेश घिमिरेले जानकारी दिनुभयो । यसअघि पनि विभिन्न क्षेत्रमा कोभिडको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि उक्त संस्थाले सहयोग प्रदान गरेको थियो ।