हरिश्चन्द्र बाग, कञ्चनपुर, १६ जेठ । राष्ट्रपति महिला उद्यमी समुन्नति पुरस्कारका लागि सुदूरपश्चिमबाट लक्ष्मी देवी बिष्ट छनौट हुनु भएको छ । तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आयोजित कार्यक्रममा सुदूरपश्चिमबाट राष्ट्रपति महिला उद्यमी समुन्नति पुरस्कारका लागि कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४ बस्ने लक्ष्मी देवी बिष्टलाई छनौट गरिएको जानकारी दिइएको छ । ‘महिलाको सुरक्षा र अधिकार ः सङ्कटकालीन व्यवस्थापन हाम्रो सरोकार’ भन्ने नारा सहित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशबाट बिष्ट सहित सात वटै प्रदेशबाट छनौट हुनुभएका उद्यमी महिलाहरूको नाम तथा विवरण सार्वजनिक गर्नुभएको हो ।
सुदूरपश्चिमबाट राष्ट्रपति महिला उद्यमी समुन्नति पुरस्कारका लागि छनौट हुनुभएका कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४ निवासी लक्ष्मी देवी बिष्टले बेलौरीमा सिद्धबाबा गाई भैँसी पालन तथा दाना उद्योग सञ्चालन गरिरहनु भएको छ । उहाँले वि.सं. २०६८ सालदेखि उद्योग सञ्चालन गरी २०७० सालमा घरेलु साना उद्योग कार्यालय कञ्चनपुरमा दर्ता गर्नुभएको थियो । उद्योगमा सुरु लगानी रु. ५ लाख रहे पनि हाल बढाएर कुल लगानी रु. १ करोड पुर्याइएको उद्यमी लक्ष्मी देवी बिष्टका श्रीमान् हिरासिंह बिष्टले जानकारी दिनुभएको छ । उहाँका अनुसार, सिद्धबाबा गाई भैँसी पालन तथा दाना उद्योगमा ५ जना महिलाहरू र ३ जना पुरुषहरू गरी जम्मा ८ जनालाई प्रत्यक्ष रोजगारी दिइएको छ । ५ जना महिलाहरूमध्ये ३ जना एकल महिला हुनुहुन्छ । त्यस्तै, दर्जनौँ अन्य व्यक्तिहरूले अप्रत्यक्ष रोजगारीको अवसर पाउने गरेका छन् ।
सिद्धबाबा गाई भैँसी पालन तथा दाना उद्योगमा मुर्रा भैँसी ६० वटा र होल स्टेन्डर्ड जर्सी गाई ८० वटा गरी जम्मा १४० वटा गाई भैँसी पालन गरिएको छ । दैनिक ३०० लिटर दूध उत्पादन हुने गरेको र करिब २०० किसान अप्रत्यक्ष रूपमा जोडिएको उद्यमी लक्ष्मी देवी बिष्टले बताउनु भयो । बेलाबेलामा विभिन्न क्षेत्रबाट उद्यमको अनुगमन गर्न आउने सङ्घसंस्था तथा व्यक्तिहरूलाई खाना, बस्न तथा प्रशिक्षणको समेत निःशुल्क व्यवस्था गर्दै आएको उहाँको भनाइ छ । कडा परिश्रम र लगनशीलताको साथमा थोरै लगानीबाट पनि महिलाहरूले समेत उद्यम गर्न सके आफू सफल हुने मात्रै नभई अन्य बेरोजगार व्यक्तिहरूलाई समेत रोजगारी दिन सकिने हुँदा उद्यम गर्न उहाँले अन्य महिलाहरूलाई समेत आग्रह गर्नुभएको छ । आफूलाई राष्ट्रपति महिला उद्यमी समुन्नति पुरस्कारका लागि सुदूरपश्चिमबाट छनौट गर्नु भएकोमा सम्बन्धित सबैलाई उहाँले कृतज्ञता ज्ञापन गर्नुभयो ।
राष्ट्रपति महिला उद्यमी समुन्नति पुरस्कारका लागि सम्बन्धित प्रदेशका सामाजिक विकास मन्त्रालयहरूबाट छनौट तथा सिफारिस भएका उत्कृष्ट सफल उद्यमी महिलाहरूलाई प्रदेशगत रूपमा सम्मान तथा पुरस्कृत गर्न लागिएको बताइएको छ । सम्मान तथा पुरस्कारका लागि छनौट हुनुभएका उत्कृष्ट सफल उद्यमी महिलाहरूमा प्रदेश नम्बर १ बाट दीपा गुरुङ (इलाम नगरपालिका ८, इलाम), प्रदेश नम्बर २ बाट सरिता देवी मण्डल (धनौजी गाउँपालिका ५, धनुषा), बागमती प्रदेशबाट कल्पना लिम्बु (गोकर्णेश्वर नगरपालिका ४, काठमाडौँ), गण्डकी प्रदेशबाट विष्णुकुमारी गुरुङ (बेनी नगरपालिका ४, म्याग्दी), लुम्बिनी प्रदेशबाट चित्रकली बुढामगर (स्याउलीबाङ गाउँपालिका ५, प्युठान), कर्णाली प्रदेशबाट निर्मला आचार्य (वीरेन्द्रनगर नगरपालिका ४, सुर्खेत) र सुदूरपश्चिम प्रदेशबाट लक्ष्मी देवी बिष्ट (बेलौरी नगरपालिका ४, कञ्चनपुर) छनौट हुनुभएको छ ।
पुरस्कारका लागि छनौट हुनुभएका सातै जना महिला उद्यमीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिक बधाई तथा शुभकामना प्रदान गर्नुभएको छ । आगामी दिनमा व्यवसाय अझ बढी फस्टाउन सकोस्, रोजगारीका थप अवसरहरू सृजना गर्न सकोस्, उपभोग्य वस्तुहरूको राष्ट्रिय आवश्यकता परिपूर्तिको सन्दर्भमा अझ बढी योगदान गर्न सकोस् भन्दै प्रधानमन्त्री ओलीले सबैलाई शुभकामना समेत दिनुभयो । पुरस्कारका लागि छनौट हुनुभएका सातै जना महिला उद्यमीहरूलाई जनही १ लाख रुपैयाँ र कदर तथा सम्मान पत्र सहित अनुकूल समयमा सम्मान तथा पुरस्कृत गरिने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ । सोही कार्यक्रमलाई सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले वर्तमान सरकार महिलामाथि हुने हरेक हिंसा विरुद्ध दृढताका साथ कार्य गरिरहेको र महिलामाथि हुने कुनै पनि हिंसा क्षम्य नहुने समेत बताउनु हुँदै अन्धविश्वास, अज्ञानता वा अन्य कुनै कारणबाट महिला हिंसा, बलात्कार, कुटपिट, अपमान, गाली बेइज्जती, कुप्रथा र कुचलन विरुद्धको सङ्घर्षलाई जारी राख्नुपर्ने बताउनुभयो ।
...................
तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमको पूर्ण भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।