हरिश्चन्द्र बाग, कञ्चनपुर, ०८ जेठ । कञ्चनपुरको बेलौरीका केही व्यवसायी तथा सक्रिय युवाहरूले सञ्चालन गरेको अभियानमा एक हप्तामै २३ लाख बढी रकम सङ्कलन भएको छ । कोभिड १९ को महामारी रोकथाम तथा नियन्त्रणमा सहयोगी भूमिका निर्वाह गर्ने उद्देश्यले अक्सिजन लगायत अत्यावश्यक स्वास्थ्य सामग्री खरिदका लागि नागरिक स्तरबाट यही जेठ १ गतेदेखि सुरु गरिएको आर्थिक सङ्कलन अभियानमा शुक्रबार रातिसम्म जम्मा २३ लाख २० हजार ६ सय २५ रुपैयाँ ७० पैसा सङ्कलन भएको उक्त अभियानका संयोजक खडक शाहले जानकारी दिनुभयो । बेलौरीमा अक्सिजन सहितका अत्यावश्यक स्वास्थ्य उपकरणहरूको चरम अभाव भएपछि खडक शाह र दीपेन्द्र बिष्ट लगायतका केही युवाहरूको सक्रियतामा अहिले देश तथा विदेशमा रहेका बेलौरीबासी लगायत अन्य सहयोगीदाताहरूबाट दिन प्रतिदिन आर्थिक सहयोग प्राप्त भइरहेको छ । उक्त सङ्कलित रकमबाट केही थान अक्सिजन कन्सन्ट्रेटर सहितका स्वास्थ्य सामग्री खरिद गरी वितरण गरिएको छ । शुक्रबार मात्रै बेलौरी नगरपालिका भित्रका श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र , कोभिड अस्पताल कुण्डा, इलाका प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टलाई र बेलडाँडीका युवाहरूले सञ्चालन गरेको मेरो सहयोग अभियानलाई समेत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
बुद्धिजीवी प्रेमसिंह बोहराको विशेष उपस्थितिमा श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीलाई अक्सिजन कन्सन्ट्रेटर (७ लिटर) १ थान, सर्जिकल मास्क १ सय थान, पिपिई सेट ५ थान, पल्स अक्सिमिटर २ थान, बि पी डिजिटल सेट १ थान, फेशसिल्ड ५० थान र डिस्पो क्याप १ सय थान वितरण गरिएको छ । यस्तै इलाका प्रहरी कार्यालय बेलौरीलाई सर्जिकल मास्क १ सय थान, प्लस अक्सिमिटर २ थान, सेनिटाईजर (१०० मिलिलिटर) १५ थान र फेशसिल्ड २० थान वितरण गरिएको । त्यसैगरी सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट बेलौरीलाई सर्जिकल मास्क १ सय ५० थान, पल्स अक्सिमिटर २ थान, सेनिटाईजर (१०० मिलिलिटर) १५ थान र फेशसिल्ड २० थान वितरण गरिएको छ । बेलौरी नगरपालिकाले सञ्चालनमा ल्याएको कोभिड अस्पताल कुण्डालाई अक्सिजन कन्सन्ट्रेटर (७ लिटर) १ थान, पल्स अक्सिमिटर २ थान, कारडाईक प्याटेन्ट मनिटर १ थान र डिस्पो क्याप १ सय थान स्वास्थ्य सामाग्री वितरण गरिएको अर्का अभियन्ता दीपेन्द्र बिष्टले बताउनु भएको छ । उहाँका अनुसार, बेलडाँडीका युवाहरूले सञ्चालन गरेको मेरो सहयोग अभियानलाई ५ थान पल्स अक्सिमिटर हस्तान्तरण गरिएको छ । बेलौरीकै लक्ष्मीपुर स्वास्थ्य चौकी र रामपुर स्वास्थ्य चौकीलाई शनिबार स्वास्थ्य सामाग्री वितरण गरिने बताइएको छ ।
बेलौरी नगरपालिकामा रहेको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजनको चरम अभाव भएपछि आज भन्दा ४ वर्ष पहिले २०७४ सालमा खडक शाहकै नेतृत्वमा बेलौरीका समाजसेवी, बुद्धिजीवी तथा सक्रिय युवाहरूद्वारा अक्सिजन अभियान सञ्चालन गरिएको थियो । त्यस समयमा केही थान अक्सिजन लगायतका स्वास्थ्य उपकरण खरिद गरी श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदान गरिएको थियो । त्यही अभियानका अभियन्ताहरू मध्ये अधिकांश अहिले पनि यस अभियानमा सक्रिय रहनु भएको छ । अभियानलाई अहिले खडक शाह र दीपेन्द्र बिष्टले निरन्तरता दिनुभएको छ भने लक्ष्मण दियाल, महेश जोशी, दिनेश कुँवर, नरेश श्रेष्ठ, रवीन्द्र श्रेष्ठ, मेवाराम चौधरी, गङ्गा प्रसाद रिजाल, केशव सिंह बिष्ट, बेलौरी काठमाडौँ समाजका ज्ञानेन्द्र जोशी लगायतका युवाहरूले समेत अभियानमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहनु भएको बताइएको छ । अहिले तत्काललाई अक्सिजन कन्सन्ट्रेटर सहितका अत्यावश्यक स्वास्थ्य सामग्री खरिदका लागि सञ्चालन गरिएको अभियानबाटै निकट भविष्यमै सिआर डिजिटल एक्स-रे मेसिन खरिद गर्ने योजना रहेको अभियन्ता दीपेन्द्र बिष्टको भनाइ छ । यद्यपि यस किसिमका अभियानहरूलाई निरुत्साहित गर्ने गरी अभियान नै बन्द गर्न हालै गृह मन्त्रालयबाट जारी गरिएको आदेश प्रति भने युवाहरूको आक्रोश छ ।
सहयोगदाताहरूको विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।