कञ्चनपुर, ०६ जेठ । कञ्चनपुरको बेलौरी नगरपालिका कार्यालय परिसरमा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्युए) सँगको सहकार्यमा सँगसँगै अभियानले बेलौरी नगरपालिकामा नागरिक सहायक कक्ष सञ्चालन गरेको हो । कोभिड १९ को सङ्क्रमण बढ्ने क्रम जारी रहेको समयमा कोभिड सङ्क्रमित तथा दीर्घ रोगी एवं भई परी आउने स्वास्थ्य समस्याबाट कोही पनि नागरिकले सास्ती झेल्न नपरोस् भन्ने उद्देश्यका साथ नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको सँगसँगै अभियानका संयोजक लक्ष्मी श्रेष्ठले बताउनुभयो । उक्त सहायता कक्षका लागि सँगसँगै अभियानले एन्टिजीन किट ७५ थान, भिटिएम १०० थान, पी.पी.ई सेट १ थान, स्यानिटाइजर ५ लिटर, ह्यान्ड स्यानिटाइजर १०० थान (१२० मिलिलिटर), मास्क २५ थान, सर्किजल मास्क ३०० थान, एक्जामिनेसन ग्लोब्स १०० थान, युटिलिटि ग्लोब्स १० थान, अक्सिमिटर १ थान, डिजिटल थर्मामिटर १ थान, सिटामोल ५०० ट्याब्लेट, भिटामिन सी ३०० थान र निम्स २०० ट्याब्लेट उपलब्ध गराएको छ ।

त्यस्तै, एनएनएसडब्ल्युएले अटोमेटिक ह्यान्ड स्यानिटाइजर मेसिन १० थान र स्यानिटाइजर १० थान (५ लिटर) सहयोग गरेको छ । ती सामग्रीहरू बुधबार बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी, उपप्रमुख चित्र कुमारी चौधरी, सहितका जनप्रतिनिधि, निमित्त प्रमुख प्रशासकीय अधिकृत सुशीला लेखक सहितका कर्मचारी र सरोकारवालाहरूको रोहबरमा नागरिक सहायक कक्षमा राखिएको हो । कोभिड १९ को सङ्क्रमण व्यवस्थापनमा सामाजिक उत्तरदायित्वलाई वहन गर्दै मानवीय सहायता अन्तर्गत यो सहकार्य गरेको एनएनएसडब्ल्युएका बेलौरी शाखा प्रतिनिधि मीरा श्रेष्ठले बताउनुभयो । यस किसिमको सहकार्यको लागि बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले एनएनएसडब्ल्युए र सँगसँगै अभियानलाई धन्यवाद दिँदै सबैले यसरी नै सहकार्य गरी अगाडि बढ्न सकेको खण्डमा कोभिड १९ को सङ्क्रमण व्यवस्थापनमा सहज हुने बताउनु भएको बेलौरी नगरपालिकाका प्रवक्ता विनोद नेपालीले जानकारी दिनुभयो । उक्त अभियान अन्तर्गत पुनर्वास नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिकामा पनि नागरिक सहायता कक्ष लगायत अन्य स्वास्थ्य सामग्री चाँडै नै सहयोग गर्ने योजना बनाएको छ ।

यसका अतिरिक्त उक्त नागरिक सहायता कक्षमा हटलाइन नम्बर समेत जडान गर्ने बताइएको छ । यद्यपि प्राविधिक रूपमा हटलाइन नम्बरको व्यवस्थापन नभएसम्मका लागि सँगसँगै अभियानले सार्वजनिक गरेको मोबाइल नम्बर ९८६३६४६२५७ मा कोभिडका कारण स्वास्थ्य समस्यामा परेका जो कोहीले पनि फोन सम्पर्क राख्न सक्ने बताइएको छ । नागरिक सहायक कक्ष मार्फत हटलाइन नम्बरमा आएका स्वास्थ्य समस्याको समाधान खोज्नमा सहयोग गर्ने, कोभिड सङ्क्रमित व्यक्तिको अवस्था हेरी नगरपालिका स्वास्थ्य शाखासँग समन्वयन गरी आवश्यक सल्लाह दिने, सङ्क्रमित व्यक्तिलाई पोषणयुक्त खानेकुराको व्यवस्था गर्ने, दीर्घ रोगी तथा सम्पर्कमा आएका अन्य बिरामीहरूका लागि डाक्टरको निर्धारण र नगरपालिकाको सहमतिमा घरदैलोमै औषधी पुर्याउने र सम्पूर्ण सहयोगको प्रतिवेदन तथा अभिलेख राख्ने काम गरिने जनाइएको छ । यो सँगै अभियानले अक्सिजनको जोहो गर्ने, प्लाज्मा दाताहरूको खोजी तथा आवश्यकतामा रहेकालाई सहयोग गर्ने र राहत सामग्री दाताको खोजी तथा स्थानीय सरकारसँग समन्वयन गरी वितरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको छ ।