महेश सिंह,सिरहा, ०६ मंसिर । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उद्देश्यले बिष्णुपुरमा परियोजनाको परिचयात्मक तथा गाउँपालिका स्तरीय मानव अधिकार समुह गठन गरिएको छ । बिष्णुपुर गाउँपालिका स्थित साना किसान सहकारी संस्थाको सभा हलमा एक कार्यक्रमको आयोजना गरी समुह गठन गरिएको हो । बिष्णुपुर गाउँपालिकाका समन्वय एवम् प्रदेश नम्बर २ ईन्सेकको कार्यालय जनकपुरको आयोजनामा सम्पन्न गरिएको सो कार्यक्रममा जम्मा १३ सदस्यीय समुह गठन गरेको हो ।
बिष्णुपुर गाउँपालिकाको पाँच वटै वडाहरुबाट महिला र पुरुषहरुको बृहत रुपमा भेला गरी गठन गरिएको सो गाउँपालिका स्तरीय मानव अधिकार समुहको अध्यक्षमा उमाकान्त साह र उपाध्यक्षमा ममता कुमारी यादव चयन भएका छन् भने समुहको सचिवमा अमर प्रसाद यादव,कोषाध्यक्षमा फुलेश्वरी देवी यादव लगायत सदस्यहरुमा वविता मिश्रा,कारी पाशवान,सुक्रिता कुमारी यादव,रामकली महरा,राम कुमारी यादव,सिता देवी महरा,जगबीर साफी,शोभा कुमारी महतो र राम परी पाशवान रहेका छन् ।
कार्यक्रममा इन्सेक प्रदेश नम्बर २ को फोकल पर्सन तथा कार्यक्रम संयोजक जागेश्वर यादवले मानव अधिकार सम्बन्धी समुह गठनको उद्देश्यमाथि प्रकाश पारेका थिए भने वडा अध्यक्ष्ँहरुले यस गाउँपालिका भित्र रहेको भवभिन्न बेथितिहरुको बारेमा औंल्याउदै पहल र समन्वय गरी मानवीय विकासको सवालमा आधारभुत आवश्यकताहरुलाई त्रुटि रहित बनाउने प्रतिवद्धता गरेका थिए । कार्यक्रममा बिष्णुपुर गाउँपालिका उपाध्यक्ष तथा प्रमुख अतिथि अरुला देवी सिहंले नव गठित समुहका सबै पदाधिकारीहरु र सदस्यहरुलाई अबिर लगाउँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेकी थिईन ।
इन्सेक प्रदेश नम्बर २ का सयोंजक राजु पाशवानको अध्यक्षतामा सम्पन्न गरिएको सो कार्यक्रममा बिष्णुपुर गाउँपालिकाका वडा अध्यक्षहरु गोपिन्दर यादव,राम र्इश्वर यादव,राजकुमार यादव र इलाका प्रहरी कार्यालय बिष्णुपुरका इन्चार्ज शशिकान्त झा लगायत समाजसेवीहरुको उपस्थिति रहेको इन्सेक सिरहाका प्रतिनिधि दुर्गा परियारले जानकारी गराए ।