डोटी, ६ मंसिर । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रण बहादुर रावलले प्रदेश सरकार विधि र प्रक्रियाभन्दा बाहिर गएर काम गरिरहेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन डोटी शाखाले शुक्रबार दिपायलमा गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
‘प्रदेश सरकार नीति, नियम, प्रद्धति, प्रकृयाभन्दा बाहिर गएर काम गरिरहेको छ,’ उनले भने,‘जसले जनमानसमा संघीयतामाथि नै प्रश्नचिन्ह उठ्न थालेको छ ।’ यसका विरुद्ध कांग्रेसले संसदमा गम्भिर रुपमा आवाज उठाउने गरेको उनले बताए । प्रदेश सरकारले विनियोजन गर्ने बजेट र त्यसको विनियोजन तथा बाँडफाँड शैलीप्रति उनले आक्रोश पोख्दै भने, ‘एकवर्ष सुध्रिएलान भन्यो, सुध्रिन्न ! अर्को वर्ष झन सुध्रिन्न ! तीनवर्षसम्म पनि नसुध्रिएपछि हामीले रातो कितावसम्म पनि च्यात्नुपर्ने स्थिती आयो ।’
प्रदेश सरकारका मन्त्री, कम्यूनिष्ट पार्टीका कार्यकर्ताहरु होटलका कोठामा बसेर बार्गेनिङका आधारमा वजेट बाडिरहेको उनको आरोप छ । ‘विनियोजनका प्रक्रिया र पद्धति नै मिचेर सिधै कमिशनका आधारमा खल्तीका योजनामा बजेट बाँडिरहेका छन्,’ उनले आरोप लगाए । यसरी प्रदेश सरकार ‘भ्रष्ट’भन्दा माथि उठेर ‘लुट’ मच्चाईरहेको बताए । उनले भने,‘यो भ्रष्टाचार मात्रै होईन् । भ्रष्टचार त लुकिचोरी हुन्छ । यो त लुट हो ।’
सांसद भरतबहादुर खड्काले बजेटमै ‘अर्थ विबिध’ शिर्षका नाममा साढे ६ अर्व रुपैयाँ राख्नुको आशय नै भ्रष्ट रहेको आरोप लगाए । ‘सामान्य एनजिओका कामहरुमा पनि बजेटको ब्रेकडाउन हुन्छ । यहाँ त सिधै आँखामा छारो हाल्नेगरी काम भईरहेको छ,’ उनले भने ।
पत्रकारको जिज्ञासापछि प्रदेश सभा बैठक चारमहिनादेखी चल्न नसकेका विषयमा पनि दुबै नेताको आक्रोश छ । ‘लोकतान्त्रिक चरित्र हुन्थ्योभने संसद चल्थ्यो । विधि, प्रक्रिया अपनाईन्थ्यो । संसदप्रति जवाफदेही हुनु नै छैन भने किन संसद चलाउन्,’ संसदीय दलका नेता रावलले भने ।
सांसद खड्काले संसदलार्ई विजनेस दिन नसक्नुपनि सरकारको कमजोरी भएको बताए । ‘संसदलाई विजनेस दिने काम सरकारको हो,’ उनले भने,‘पहिलो कुरा सरकारलाई यसबारे ज्ञान नै छैन् । त्यसभन्दा ठुलो कुरा संसदीय व्यवस्थाप्रति विश्वास नै नभए किन विजनेस दिन्छन् ?’
(ई-रैवार)