हरिश चन्द्र बाग, कञ्चनपुर, ०६ मंसिर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका कृषि विकास शाखाले तीन सय नौ जना कृषकहरुलाई उन्नत जातको गहुँको बिउ वितरण गरेको छ । गाउँपालिका भित्रका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गरिएको बेलडाँडी गाउँपालिका कृषि विकास शाखाका प्रमुख धन बहादुर खड्काले जानकारी दिनुभयो ।
नेपाल सरकारबाट सुचीकृत बि.एल. ४३४१, गौतम, विजय र आदित्य जातको गहुँको उन्नत बिउ कृषकहरुलाई वितरण गरिएको बताइएको छ । युनिक सिड कम्पनीको आधिकारिक विक्रेता मनकामना एग्रोभेट धनगढीबाट जम्मा १६ मेट्रिकटन गहुँ खरिद गरिएको बेलडाँडी गाउँपालिका कृषि विकास शाखाका प्रमुख खड्काले बताउनु भएको छ ।
कृषि विकास शाखाको चालु आर्थिक वर्ष २०७६।०७७ को स्वीकृत कार्यक्रम अन्तर्गत ६ लाख बजेटमा गहुँको बिउ खरिद गरी कृषकहरुको माग र खेतियोग्य जमिनको आधारमा प्रति कृषक कम्तिमा ४० किलो देखि बढीमा १२० किलो सम्म बिउ वितरण गरिएको बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त भट्टले जानकारी दिनुभयो ।
गहुँको बिउ प्राप्त गरेपछि बेलडाँडीका कृषक वाशुदेव ओझाले प्रतिकृया दिँदै भन्नुभयो, “गहुँ छर्ने उचित समयमा गहुँको बिउ पाइयो, मैले कृषि विकास शाखाबाट ८० किलो गहुँको बिउ लिएको छुँ”, उहाँले अगाडी थप्दै भन्नुभयो, “कार्तिक २२ गते लगाएको गहुँ राम्ररी जमिसकेको छ, उत्पादनको लागि समय पर्खनै पर्छ ।”
यहाँका किसानहरुको अवस्थालाई हेरेर कृषि विकास शाखाले आवश्यक बिउविजन, मलखाद्द र किटनाशक औषधी समेत उपलब्ध गराउन सके यहाँका कृषकहरुलाई राहत पुग्ने कृषकहरुको सुझाव छ । बेलडाँडीका कृषकहरुले समयसमयमा कृषि प्राविधिकहरुको रायसुझावको पनि अपेक्षा गरेका छन् ।
कृषकहरुलाई लक्षित गरी बेलडाँडी गाउँपालिकाले समयसमयमा ५० प्रतिशत अनुदानमा गहुँ, धान तथा आलु लगायतका तरकारीबालीको विउविजन वितरण गर्ने गरेको बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले दाबी गर्नुभयो । आगामी दिनमा पनि गाउँपालिका भित्रका कृषकहरुलाई सहयोग गर्ने बताउँदै उहाँले कृषकहरुले उत्पादन गरेका अन्नबाली तथा तरकारीको बजारीकरणका लागि गाउँपालिका केन्द्रित रहेको उल्लेख गर्नुभयो ।