हरिश चन्द्र बाग, कञ्चनपुर, ३० कार्तिक । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले महाकाली सन्धीमा महाकाली नदिको उद्गम स्थलदेखि नै पूर्वपट्टीको भाग नेपालको भूमि भन्ने उल्लेख भएकोले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भूमि रहेको बताउनु भएको छ । त्यस्तै, उक्त सन्धीमा महाकालीको पानी आधा नेपाल र आधा भारतले पाउने भन्ने उल्लेख भएकोले नेपाली पक्षले पनि आधा पानी पाउनुपर्नेमा उहाँले जोड दिनुभयो । यस विषयमा सरकार गम्भीर भएर लाग्नुपर्ने उहाँको सुझाव छ । “अहिले कम्युनिष्टको सरकार छ, राष्ट्रवादको नारा दिने, तर कामै गर्दैन, काम त गर्नुपर्यो नि, सरकारले गर्ने राम्रा काममा हाम्रो समर्थन छ भनेकै छुँ ” नेता देउवाले भन्नुभयो ।
नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले शनिबार बिहान महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुसंग कुराकानी गर्दै नेता देउवाले कांग्रेस नेतृत्वको सरकारको बेलामा स्वीकृत भएका क्रमागत योजनाहरुको बजेट वर्तमान सरकारले कटौती गरेको प्रति दुःख व्यक्त गर्नुभयो । त्यस्तै, सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति सम्बन्धमा कांग्रेसले भाग खोजेर तालाबन्दी गर्न लगाएको हो ? भन्ने पत्रकारहरुको जिज्ञाशामा सभापति देउवाले विश्वविद्यालय सबैको भएकोले एकलौटी कार्यकर्तालाई नियुुक्त गर्न नहुने तर्क गर्नुभयो ।
त्यस्तै देउवाले शनिबार नै बेलडाँडी, बेलौरी र पुनर्वासमा कार्यकर्ता भेटघाट समेत गर्नुभएको छ । बेलडाँडीको चवन्नी बजारमा कार्यकर्ता भेटघाटका क्रममा बोल्दै उहाँले हुलाकी सडक निर्माणको कार्य कांग्रेसले शुरु गरेको दाबी गर्नुभयो । त्यस्तै, बेलौरी नगरपालिका वडा नम्बर ७ को टेडियामा गरिएको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वडा नम्बर ७ का अध्यक्ष प्रकाश श्रेष्ठ लगायतको वडा समितिले वडामा राम्रो काम गरेको भन्दै प्रशंसा गर्नुभयो । सोही क्रममा बेलौरी नगरपालिका वडा नम्बर ४ स्थित नगरपालिका कार्यालयको सम्मुखमा रहेको निर्माणाधिन कालिका मन्दिरको समेत उहाँले अवलोकन गर्नुभएको मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रकाश राज पन्तले बताउनु भयो । सोही क्रममा नेता देउवाले मन्दिर निर्माण समितिलाई धन्यवाद सहित प्रशंसा गर्नुभयो ।
कांग्रेस सभापति शेर बहादुर देउवाले कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ मा यही मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार दीप बहादुर तामाङ (डिबि लामा) लाई निर्वाचित गराउनका लागि प्रचारप्रसारमा लाग्न सबै नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ । उहाँले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका केही जनप्रतिनिधिहरुले निर्वाचन आचारसंहिताको व्यापक उलंघन गर्दै सरकारी गाडीको प्रयोग गरी निर्वाचन प्रचारप्रसारमा लागिरहकोले त्यसको चर्को प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।