आमाले भनिन्,
छोरा तिमी कार्गिलमा लड्यौ, अर्कैका लागि
फकल्यान्डमा लड्यौ, अर्कैका लागि
गोरखा रेजिमेन्टमा गयौ, अर्कैका लागि
भिसि थाप्यौ, अर्कैका लागि
परमविर चक्र पायौ, अर्कैका लागि
गोर्खाली प्रशिध्दी कमायौ,अर्कैका लागि
वीर भयौ, अर्कैका लागि
बहादुरी को पगरी गुथ्यौ, अर्कैको लागि
तिम्रो रगत बग्यो, अर्कैको लागि
तिम्रो पसिना चुह्यो, अर्कैको लागि
तिमीले कतारलाई हराभरा बनायौ,
तिमीले मलेसियालाई रङ्गीन बनायौं,
तिमीले कुवेतलाई खुबसुरत बनायौ,
तिमीले कोरिया सजायौ, अरब सिंगारेउ,
तर,तिम्रो आफ्नै
जुम्ला ,बाजुरा,दार्चुला
मुस्ताङ,रोल्पा,दैलेख
इलाम,ताप्लेजुङ,पाँचथर
खालि खालि भइरहे, रित्ता रित्ता भइरहे
शून्य शुन्य भइरहे
यता पराशन, कन्चनपुरको पीडा
उता सुस्ता महेशपुरको ब्यथा
बोलिदिने कोहि भएन, सुनिदिने कोहि भएन
तिनको आर्तनाद सुनिदिने कोहि भएन
झन् यता मलाई हेर त छोरा
म कालापानी
म लिपुलेक
म लिम्पियाधुरा
विगत ५७ वर्षदेखि
बिदेशी बुटमुनि पिल्सिदैछु
मेरा छाती माथि तिनको परेड चल्दैछ
तिनका कुन्दाले मेरो शरीर छियाछिया हुँदैछ
मेरो आँशु पुछ्न आउँछौ कि भनी
तिमीलाई पर्खिरैछु, पर्खिरैछु
तिमी त आउँदै आएनाै
तिमी त आउँदै आएनौ
तिमी त कांग्रेस भइरह्यौ
तिमी त कम्युनिस्ट भइरह्यौ
एक आपस मै लडिरह्यौ
एक आपस मै अल्झिरह्यौ
जनजाति भयौ, आदिवासी भयौ
पहाडी भयौ, मधेसी भयौ
बाहुन भयौ, क्षेत्री भयौ
महिला भयौ, पुरूष भयौ
तर, नेपाली हुनै सकेनौ,
नेपाली हुनै सकेनौ ...