कञ्चनपुर, २१ कार्तिक । कञ्चनपुरको बेलौरीमा बिहीबारबाट दोस्रो बेलौरी कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव–२०७६ शुरू भएको छ । बिहीबार एक भव्य कार्यक्रमका बीच बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले सो कार्यक्रमको उद्घाटन गर्नुभयो ।
गरिब तथा अनाथ बालबालिकाको सहयोगार्थ पूर्व विद्यार्थी समाज शान्ति मावि बेलौरीको आयोजनामा सो महोत्सव सञ्चालन गरिएको हो । एघार दिन सम्म चल्ने सो महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुति रहने बताइएको छ ।
स्थानीय उत्पादनहरुलाई प्रोत्साहन गर्ने, त्यसको बजारीकरणमा गरी उपभोक्ता सम्म आपूर्ति गर्ने, व्यापारी, उद्योगी तथा उपभोक्ताहरुबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्दै आर्थिक गतिविधिहरुको प्रवर्द्धन गर्ने अवधारणाका साथ महोत्सव आयोजना गरिएको हो ।
यस क्षेत्रको समग्र पर्यटकीय दृष्टिकोणबाट आम नागरिकहरुमा सबै आयामका पक्षहरुलाई प्रचार–प्रसार गर्ने, विकास र प्रवर्द्धनमा सहयोग पुग्ने र सामाजिक चेतनामा अभिवृद्वि जगाउने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको महोत्सव समितिका सचिव इन्द्रनाथ रेग्मीले बताउनु भयो ।
महोत्सवले अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको व्यापार, व्यवसाय, उद्योग–धन्दा तथा उत्पादनको प्रवर्द्धन गर्नुका साथै स्थानीय कृषि, पर्यटन लगायत अन्य पेशासंग सम्बन्धित विभिन्न पक्षको समुन्नती गरी स्थानीय जनताको क्रयशक्तिमा वृद्धि ल्याउन मद्दत गर्ने विश्वास लिइएको संयोजक रामेश्वर न्यौपानेले बताउनु भयो ।