विकाश सिंह महता, कञ्चनपुर, २० असोज । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा युएसबी युवा क्लबले हिन्दुहरुको महानपर्व विजया दशमीको उपलक्ष्यमा पहिलो पटक आयोजना गरेको स्थानीय स्तरको फुटबल प्रतियोगितामा त्रिशुली युवा क्लब च्याम्पियन बनी इतिहास रच्न सफल भएको छ । स्थानीय खेलाडीहरुको स्तर वृद्धि संगै प्रोत्साहन गर्ने उद्देश्यले असोज १२ गते देखि संचालन भएको प्रतियोगिताको सोमबार भएको अन्तिम खेलमा त्रिशुली युनेस्को समाज बेलडाँडी २ र एमबिसन युवा क्लब बेलडाँडी ४ वैवाहा बीचको खेलमा एम्बिसनलाई २।० गोलले पाखा लगाउदै त्रिशुलीले उपाधि जितेको हो ।
प्रतियोगिताभर ६ गोल गरेका एमबिसन क्लबका स्ट्राइगर लाल बहादुर सुनार सर्वाधिक गोलकर्ताको एक जोड फुटबल सुज र उत्कृष्ट खेलाडी एमबिसनका मिडफिल्डर रबि रोकायाले जर्सी पुरस्कार हात परेका छन् । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक र उदयमान खेलाडी त्रिशुली क्लबका बिनोद मौनी र किसन मगर बनेका छन् । प्रतियोगिताको फाइनल खेलको निर्णायक मुख्य रेफ्रीको भुमिका नारायण प्रसाद जोशी, पदम राज गिरी र विकाश सिंह महताले गरेका थिए ।
बेलडाँडी फुटबल महोत्सव २०७६ को समापन कार्यक्रमका बीच बिजेता टिमले नगद राशी रु. २५ हजार र उपविजेता टिमले रु. १५ हजार, ट्रफी, प्रमाणपत्र, मेडल पुरस्कार हात पारेको युएसबी क्लबका अध्यक्ष बेद प्रकाश ओझाले बताएका छन् । प्रतियोगितमा २० ओटा टिमको सहभागिता रहेको थियो भने खेल नकआउट बिधिबाट खेलाइएको थियो ।
बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा आयोजित समापन कार्यक्रमको सभापतित्व क्लबका अध्यक्ष बेद प्रकाश ओझाले गरेका थिए । कार्यक्रममा बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष कमला कार्की, वडा नं. २ का अध्यक्ष प्रेम राज खाती, अगुवा महिला शान्ती नाथ, क्याम्पस प्रमुख मदन साउँद लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो । समापन कार्यक्रमको संचालन खेल संयोजक सचिन कठायतले गरेका थिए ।
सहभागीहरुले उक्त प्रतियोगिता राम्रो भएको र अझै स्थानीय खेलाडीको स्तरवृद्धि हुने गरी कार्यक्रम ल्याउन आग्रह गरेका छन् । आगामी दिनमा यस्ता प्रतियोगिता गर्नुपुर्व बेलडाँडी क्षेत्रमा खेलकुद समिति, खेलमैदान र खेल प्रशिक्षकको व्यवस्थापन गरिदिन स्थानीय सरकार संग माग गरिएको खेल संयोजक सचिन कठायतले बताएका छन् ।