लाल बहादुर एस के, कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं ९ ख गाउँमा नेपाल सरकारका खानेपानी मन्त्री बिना मगरले मुक्त हलिया पुनस्र्थापन कार्यक्रम अन्तर्गत आवास निर्माणको शिलान्यास गर्नुभएको छ । सोही कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बिना मगरले भन्नुभयो “हामीले निकै महत्वपुर्ण कामको शिलान्यास गरेका छौँ । हलिया मुक्तिका लागी म लगायतको टिमले सरकारका विभिन्न तहहरुमा छलफल गरेका छौँ । कञ्चनपुरको क्षेत्र नं. १ मा अझै पनि केही स्थानमा हलिया बस्नु परेको कहिकतै देखिन आएको छ । हाम्रो पार्टी सरकारमा रहेको बेला हलिया मुक्तिका लागी विभिन्न पहलहरु गर्ने काम पनि गरेका छौँ । मुक्त हलियाका लागी गास, बास, कपास, शिक्षा, स्वास्थ्य र सीपमुलक कार्यक्रमका लागि सरकारका अन्य मन्त्रालयसँग पहल गरी भुमिको व्यवस्था गर्न लागिपरेका छौँ ।”
मन्त्री बिना मगरले आफु राजधानी फर्के लगत्तै पुनः भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयमा यस विषयमा छलफल अगाडी बढाउने बताउनु भएको छ । हलिया सम्बन्धि सम्पूर्ण किसिमका समस्या समाधन भई मुक्त हलियाहरुको सही र सुदृढ तरिकाले व्यवस्थापन हुने समेत उहाँले बताउनु भएको छ । नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको बजेटमा मुक्त हलिया पुनस्र्थापन कार्यक्रम अन्तर्गत बयालीस वटा घरहरू निर्माण हुन लागेको हो । प्रतिघर रु. तीन लाख पचास हजारको लागतमा बन्ने र जसमा गैरसरकारी संस्था ह्याविटेड फर हुम्यानिटि नेपालले प्रत्येक घरलाई रु. अन्ठाउन्न हजार सहयोग गर्ने जनाईएको छ ।
गौरीशंकर माविको ४८ औँ वार्षिकोत्सव
कञ्चनपुरको पुनर्वासमा रहेको गौरीशंकर माविको ४८ औँ वार्षिकोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बिना मगरले आफुले जीवनमा अक्षरारम्भ गरी कक्षा ७ सम्म अध्ययन गरेको स्मरण गर्दै खुसी व्यक्त गर्नुभयो । सोही क्रममा मन्त्री बिना मगरले आफ्नो निर्वाचन क्षेत्र भित्रका सम्पूर्ण विद्यालयको पूर्वाधार विकासको लागि विशेष पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । वार्षिकोत्सव कार्यक्रमका विशिष्ट अतिथि पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन राज थापाले विद्यालयलाई शुभकामना दिदैँ पुनर्वास नगर क्षेत्र भित्रका विद्यालयहरु र अन्य विकासका पूर्वाधारहरुको निर्माण कार्यमा स्थानीय सरकार दत्तचित्त भयर लागिरहेको बताउनु भएको छ ।
त्यसैगरी सोही कार्यक्रमका विशिष्ट अतिथि पुनर्वास नगरपालिकाका उपप्रमुख शारदा बिष्टले पहिलेको तुलनामा अहिले शैक्षिक चेतनाको कारणले लैङ्गिक समानता भएको र महिलाहरु हरेक क्षेत्रमा अगाडि बढीरहेको बताउनु भएको छ । गौरीशंकर माविको ४८ औँ वार्षिकोत्सव समारोहका सभापति तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम पुजाराले विद्यालयको भौतिक पूर्वाधार विकासका लागि स्थानीय, प्रदेश तथा संघीय सरकार गरी तीनै तहका सरकार समक्ष जोडदार माग गर्नुभएको छ । त्यस्तै उहाँले विद्यालयमा गुणस्तरीय शिक्षाका लागि शिक्षक, विद्यार्थी, अभिभावक तथा सम्बन्धित समाजले आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।