हरिश चन्द्र बाग, कञ्चनपुर, ११ भाद्र । कञ्चनपुरको बेलौरी नगरपालिकालाई धार्मिक पर्यटकीय स्थल बनाउने योजना अन्तर्गत बेलौरी नगरपालिका वडा नं. १ मा २१ फिट अग्लो हनुमानको मुर्ती निर्माण गरिएको छ । बेलौरी नगरपालिका र स्थानीय नागरिकको सहयोगमा संयुक्त मन्दिर समितिले बेलौरी नगरपालिका वडा नं. १ को उभियाँफाँटामा मुर्ती निर्माण गरेको हो । कञ्चनपुर जिल्ला मै सबैभन्दा अग्लो दाबी गरिएको हनुमानको मुर्तीको मंगलबार बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले रिवन काटेर र पुजा गरेर अनावरण गर्नु भएको छ ।
करिब ५ लाख रकममा निर्माण गरिएको मुर्ती अनावरणका क्रममा नगर प्रमुख चौधरीले स्थानिय तहको निर्वाचन पछि सम्पूर्ण जनप्रतिनिधिहरु पुर्वाधार विकास, शिक्षा, स्वास्थ्य, आर्थिक विकास र विभिन्न पर्यटकीय स्थलहरुको प्रवर्धनका संगसंगै धार्मिक पर्यटकीय स्थलहरुको निर्माणमा समेत लागिपरेको बताउनु भयो ।
बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीको प्रमुख आतिथ्यता रहेको कार्यक्रम संयुक्त मन्दिर समितिका अध्यक्ष रजक बहादुर शाहीको सभापतित्वमा सञ्चालन गरिएको हो । उक्त कार्यक्रममा विशिष्ट अतिथिमा बेलौरी नगरपालिका वडा नं. १ का वडाध्यक्ष रतन बहादुर शाही, नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य अमर चौधरी र नेकपा प्रदेश कमिटी सदस्य फुल्लन राना सहित वडा सदस्य, स्थानीय समाजसेवी, बुद्धिजीवी, सुरक्षाकर्मी, सञ्चारकर्मी र भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको थियो । श्री लक्ष्मी युवा क्लबको सहआयोजना र संयुक्त मन्दिर समितिको आयोजनामा भएको मुर्ती अनावरण कार्यक्रमलाई नयाराम ढुंगानाले सञ्चालन गर्नुभएको थियो ।
यो पनि पढ्नुहोस्,
बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले समाजको चौतर्फी विकासको लागि आफू निरन्तर रुपमा लागिपरेको दाबी गर्नुभएको छ । बेलौरी नगरपालिकामा निर्वाचित भएर आइसकेपछि ९५ प्रतिशत सडकहरु ग्राभेल भैसकेको र आफ्नो कार्यकालमा हिलो मुक्त नगरपालिका बनाएरै छोड्ने नगरप्रमुख चौधरीले बताउनु भयो । नगरपालिकाको सबै वडामा स्वास्थ्य चौकी स्थापना गर्ने लक्ष्य अनुरुप सबै वडामा स्वास्थ्य चौकी स्थापना गरिसकेको र आर्थिक विकासको लागि नगरबासीहरुलाई कृषि र पशुमा आत्मनिर्भर बनाउन विभिन्न किसिमको अनुदानहरु दिइरहेको बताउनु भएको छ ।
नेपालको १०० ओटा पर्यटकीय गन्तव्य स्थलहरुमा बेलौरीको बन्दाताललाई पनि पार्न सफल भएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । बेलौरी नगरपालिकाले धार्मिक पर्यटकीय स्थलहरुको संरक्षणको क्रममा त्रिपूरा मन्दिर, कालिका मन्दिर, सिद्धबाबा मन्दिर निर्माण गरेको र महत्वपूर्ण धार्मिक स्थल अन्तर्गत नक्टाबाबा मन्दिर रहेको उल्लेख गर्नुभयो । त्यही क्रममा धार्मिक पर्यटकीय स्थल निर्माण अन्तर्गत बेलौरी नगरपालिका वडा नं. १ मा रहेको संयुक्त मन्दिरमा २१ फिट उचाई भएको हनुमानको मुर्ती स्थापना गरेको बताउनु भयो । धार्मिक पर्यटकीय स्थलको निर्माण गरेर बेलौरी नगरपालिकालाई शान्ति क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य रहेको समेत बताउनु भयो ।