हरिश चन्द्र बाग, कञ्चनपुर, १४ श्रावण । हुलाकी सडकखण्ड अन्तर्गत कञ्चनपुर र कैलालीमा सर्भे भएका पुलका लागि टेण्डर, सर्भे नभएका पुलका लागि नयाँ सर्भे र कालोपत्रे तथा उत्तर–दक्षिण जोड्ने कञ्चनपुरको कलुवापुर–बेलौरी सडकखण्ड कालोपत्रे लगायतका विषयमा ५ बुँदे माग सहित भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा ज्ञापन पत्र पेश गरिएको छ ।
मंगलबार पूर्वमन्त्री समेत रहनुभएका प्रतिनिधि सभा सदस्य लेखराज भट्टको नेतृत्वमा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री रघुबीर महासेठसँग भेटघाट गरी ज्ञापन पत्र बुझाएको प्रतिनिधि मण्डलका एक सदस्य नेकपाका नेता ओम बिक्रम भाट सरलले बताउनु भएको छ ।
ज्ञापनपत्र बुझ्दै मन्त्री रघुबीर महासेठले यसै वर्षको भदौ महिना भित्र सबै पुल निर्माणका लागि टेण्डर आह्वान गर्ने आश्वासन दिनुभएको छ । मन्त्री महासेठले सर्भे नभएका पुलको नयाँ सर्भे गरी टेण्डर गर्ने र कालोपत्रका लागि समेत निर्देशन दिने बताउनु भएको प्रतिनिधि मण्डलका अर्का सदस्य नेकपाका नेता पल्लव राज भट्टले जानकारी दिनुभयो ।
यस्तो छ भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा पेश गरिएको ज्ञापन पत्र
मितिः २०७६।०४।१४
माननीय मन्त्री ज्यू
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय
सिहदरवार, काठमाण्डौं ।
बिषय ः माग पत्र ।
सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा निर्माणाधीन हुलाकी राजमार्ग बहुसंख्यक जनताको जीवनसँग प्रत्यक्ष जोडिएको सडक हो । दुबै जिल्लामा हुलाकी राजमार्ग कार्यालय धनगढी अन्तरगत कञ्चनपुर जिल्लाको डोकेबजार–बेलौरी–बेलडाडी–दैजी ६२ कि.मि. र कैलाली जिल्लामा सत्ती–भजनी–धनगढी १८ कि.मि.तथा क्याम्पस चोक देखि मोहना पुल सम्म ६.५ किमि सडक गरि जम्मा ८६.५ कि.मि. सडक निर्माणाधिन अवस्थामा रहेको छ ।
तर सरकारी निकायबाट उचित अनुगमन नहुँदा तथा ठेकेदारको लापरवाहीका कारण अहिले १० वर्ष बढी बितिसक्दा पनि हुलाकी सडक सम्पन्न हुन नसक्दा हामी यसक्षेत्रका जनता मर्कामा परेका छौं ।
माननीय मन्त्रीज्यू,
कैलाली जिल्लामा कटनी, पवेरा, कनरी र कान्द्रा गरि ४ ओटा ठुला पुल निर्माणाधिन अवस्थामा छन । जस मध्ये कान्द्रापुलको २०६८ सालमा ठेक्का भएको थियो । २०७१ मा यसको डिजाइन परिवर्तन गरि २०७५ असार मसान्त सम्म म्याद थप गरियो । लामा, सत्यासेर्पा, बिरुवा जेभि कम्पनिले निर्माण गर्न लागेको १०० मिटर लामो कान्द्रापुल म्याद समाप्त भएको १ बर्ष पछि समेत ५ ओटा पिल्लरमा जम्मा २ पिल्लर निर्माण भएका छन् । यस अतिरिक्त कैलालीमा २ ओटा र कञ्चनपुरमा ३ ओटा पुल सर्वे भएर टेन्डर गर्न बाँकी छन् । कञ्चनपुर खण्डमा ३ ओटा स्थानमा थप सर्वे गरि निर्माण गर्नु पर्ने काम अघि बढेको छैन ।
कञ्चनपुर जिल्लाको मध्यभाग पुर्व—पश्चिम राजमार्गको कलुवापुरदेखि बेलौरीको बैसाखा भन्सार भारत सीमासम्म उत्तर—दक्षिण जोड्ने ३० कि.मि. “कलुवापुर–बेलौरी मदन आश्रीत मार्ग” को २०७५ जेष्ठमा सम्पन्न गर्ने शर्तमा २०७३ सालमा सडक डिभिजन अन्तरगत सन्तोषी थेगिम जेभी कम्पनीसँग ठेक्का सम्झौता भएपनि म्याद सकिएको १ बर्ष बिति सक्दा समेत कम्पनिले कालोपत्रे गरेको छैन । कम्पनीको म्याद समेत थपिएको छैन । हाल प्रदेश अन्तर्गत राखिएको उक्त सडक पुरानो डि.पि.आर. अनुसार ५.५ मिटर मात्र कालोपत्रे गर्ने डिजाइन गरिएको हुँदा सडकको डिजाईन परिवर्तन गरि डबल लाइनको बनाउनु पनि जरुरी रहेको छ ।
दाङ जिल्लामा लमही—कोइलाबास लिङ्क रोड, बर्दिया जिल्लामा भुरीगाउँ–गुलरिया–मुर्तिया लिङ्क रोड र कैलाली जिल्लामा लम्की–टिकापुर–खक्रौला लिङ्क रोड हुलाकी सडक परियोजना अन्तरगत निमार्ण भइरहेकोले सोही अनुसार कञ्चनपुर जिल्लाको उत्तर दक्षिण जोड्ने एक मात्र कलुवापुर–बेलौरी लिङ्क रोड हुलाकी सडक परियोजना अन्तरगत राखी डबल लाइनको सडक निमार्ण गरिनु आवश्यक छ ।
यो अवस्थामा सबै सडक र पुलहरु तोकिएको समयमा सम्पन्न गर्न सुदूरपश्चिम प्रदेशको एकमात्र हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीलाई प्राविधिक जनशक्ती र साधनस्रोतले सम्पन्न बनाई निम्न कार्यहरु तत्काल गर्न गराउन हुन जोडदार माग गर्दछु ।
१) दाङ, बर्दिया, कैलालीलगायतका जिल्लाहरुमा निर्माण गरिए अनुरुप कञ्चनपुर जिल्लाको एक मात्र उत्तर दक्षिण जोड्ने “कलुवापुर–बेलौरी मदन आश्रीत मार्ग” हुलाकी सडक परियोजना अन्तरगत राखी दुई लेनको सडक निमार्णको कार्य तत्काल अघि सारियोस् ।
२) कैलाली र कञ्चनपुरमा निर्माणाधिन हुलाकी राजमार्ग अन्तर्गत सर्भे भएका निम्न पुलहरु निर्माणका लागि तत्काल टेण्डर गरि निमार्ण कार्य अघि बढाइयोस् र सर्भे नभएका तर पुल निर्माण गर्न आवश्यक रहेका निम्न स्थानहरुमा समेत तत्काल सर्वे गराई काम सुरु गरियोस् ।
२.१ ) कञ्चनपुर जिल्लाको डोकेबजार–बेलौरी–बेलडाडी–दैजी (६२ कि.मि.)सडक अन्तरगत सर्भे भएका तत्काल टेन्डर गर्नु पर्ने पुलहरु ः
क) सिमरी खोला पुल (८ं१५० कि.मि.)
ख) झरना खोला पुल (३७ं९०० कि.मि)
ग) अमखैया पुल (६५ं१२० कि.मि)
सर्वे नभएका पुल बनाउनु पर्ने ठाउँहरु ः
क) टि.सि.यन नाला कलकत्ता (३४ ं १४० कि.मि)
ख) खप्टी नाला (२८ं१०० कि.मि)
ग) श्याम खोला बेलडाडी (३८ं५०० कि.मि)
२.२) कैलाली जिल्लाको क्याम्पस चोक देखि मोहना पुल (०ं०० – ६ं६५६ कि.मि)सडक खण्डमा सर्भे भई सकेका तर ठेक्कका ब्वस्थापन तत्काल गर्नु पर्ने पुलहरु ः
क) राधा स्वामी खोला पुल – (१ ं १५० कि.मि)
ख) धनगढी १ र २ जोड्ने कैलाली नाला पुल – (३ ं १३० कि.मि.)
३) डोकेबजार–बेलौरी–बेलडाडी–दैजी सडकखण्डको बेलौरी बजार क्षेत्र पानी जम्ने क्षेत्र भएकोले उक्त करिब ३५० मीटर सडकखण्डमा पुर्ण आर.सि.सी. ढलान गरी दुबैतिर पक्की नालीसहित निर्माण गरियोस् ।
(४) सत्ती—भजनी—धनगढी (३१ ं०० – ४९ं ०० कि.मि.) निर्माणधिन सडकको २ कि.मि. बसन्ता वन क्षेत्रको अझैसम्म कटान आदेश नपाएका कारण निर्माण कार्यमा अवरोध भैरहेकोले अबिलम्ब काटान आदेश लिई कार्य अगाडी बढाइयोस् ।
५) हुलाकी राजमार्ग योजना कार्यालय धनगढीलाई आवश्यक प्राबिधिक जनशक्ती थप गर्दै साधन स्रोत सम्पन्न बनाई ब्यवस्थित गरियोस् ।
...........................
(मा. लेखराज भट्ट)
बोधार्थ ः
१)सडक बिभागको कार्यालय, चाकुपाट ललितपुर ।
२) हुलाकी राजमार्ग निर्देशनालय, टेकु काठमाण्डौं ।
३) हुलाकी राजमार्ग योजना कार्यालय, धनगढी कैलाली ।