कञ्चनपुर, २२ जेठ । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. ४ शान्तिपुरमा अवस्थित श्री उग्रतारा बाल विद्यालयले आज ४६ औँ विश्व वातावरण दिवस भव्य रुपमा मनाएको छ । विद्यालयले आज एक कार्यक्रमका बीच वक्तृत्वकला र वृक्षारोपण कार्यक्रमको आयोजना गरेको उग्रतारा बाल विद्यालयका प्रिन्सिपल केशव सिंह बिष्टले बताउनु भयो । “स्वच्छ वायु, स्वस्थ्य जीवन” शिर्षकमा वक्तृत्वकला कार्यक्रम आयोजना गरिएको थियो । नेपाल सरकारले यस वर्षको बातावरण दिवसको नारा पनि “स्वच्छ वायु, स्वस्थ्य जीवन” तय गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि महाकाली माध्यमिक विद्यालयका भुतपुर्व प्रधानाध्यापक प्रेम सिंह बोहरा हुनुहुन्थ्यो भने बेलौरी नगर पालिका वडा नं. ४ का वडा अध्यक्ष अर्जुन ढकाल विशिष्ट अतिथि हुनुहुन्थ्यो । त्यसैगरी अतिथिहरुमा बेलौरी नगरपालिका शिक्षा शाखाका प्रमुख तथा विद्यालय निरीक्षक देव बहादुर चन्द, श्रोत व्यक्ति हिक्मत सिंह ऐरी लगायतका महानुभावहरु रहनु भएको थियो । कार्यक्रम विद्यालयका संस्थापक गंगा प्रसाद रिजालको सभापतित्वमा भएको थियो । कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुले विद्यालय हाता भित्र बृक्षारोपण समेत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्नुहुुदै प्रमु्ख अतिथी प्रेम सिह बोहराले मानव क्रियाकलापले वातावरणमा नकारात्मक असरहरु परिरहेकोले बाढी पहिरो, भू स्खलन, बेमौसमी वर्षा जस्ता हानिकारक कार्यहरुको सुरुवात हुन गएका कारण समस्त प्राणी जगतको लागि चुनौति सावित भएको बताउनु भयो । उहाँले वातावरण सधैँ सफा र स्वच्छ हुनुपर्ने, स्वच्छ वातावरण विना मानिसको भौतिक, आर्थिक, सांस्कृतिक सामाजिक जीवन समेत प्रभावित हुने बताउदै, वातावरणले मानिसको हुर्कने, जन्मने तथा व्यक्तित्व विकासमा प्रभाव परिरहने हुँदा स्वस्थ जीवनका लागि स्वच्छ वातावरणको आवश्यकता रहने कुरामा जोड दिनुभयो ।
त्यसैगरी कार्यक्रमका बिशिष्ट अतिथि बेलौरी नगरपालिका वडा नं. ४ का अध्यक्ष अर्जुन ढकालले पनि प्रकृति र मानव जातिबीच अन्तर सम्बन्ध रहेकोले यी दुवैको बीचको सम्बन्ध एक अर्कामा आश्रित रहेको बताउनु भयो । वातावरण बिना मानव जिवनको कल्पना समेत गर्न नसकिने हुँदा वातावरण जोगाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, वातावरण विभाग, बबरमहल काठमाण्डौँले विद्यालय केन्द्रित वातावरणीय कार्यक्रमहरु आयोजना गर्न, विद्यालयलाई सफा, स्वच्छ र हराभरा वनाउन, सरसफाई तथा फोहोरमैला व्यवस्थापनका तथा हरियाली प्रवद्र्धनका लागि अभियान स्वरुप देशभरका ४९ वटा विद्यालयहरुलाई आर्थिक सहयोग प्रदान गर्ने निर्र्णय अनुरुप शान्तिपुरमा अवस्थित श्री उग्रतारा बाल विद्यालय पनि छनौट भएको छ ।
सो कार्यक्रम अन्र्तगत सुदूरपश्चिम प्रदेश अन्र्तगत ६ वटा विद्यालयहरु समावेश गरिएका छन् । जसमध्ये कञ्चनपुरबाट बेलौरीको शान्तिपुरमा अवस्थित उग्रतारा बालविद्यालय मात्रै समावेश गरिएको छ । विद्यालयमा विद्यालय केन्द्रित वातावरणीय कार्यक्रमहरु सञ्चालन गर्नका लागि वातावरण बिभागले रु. एक लाख सम्म आर्थिक सहयोग गर्ने विद्यालयका प्रिन्सिपल केशव सिंह बिष्टले बताउनु भयो ।
त्यसैगरी विद्यालयमा आयोजित वक्तृत्वकला प्रतियोगितामा अभिनव रिजाल प्रथम, हिमांसु दहाल द्वितीय, रमा मल्ल तृतीय तथा कृतिका बज्गाईले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । कार्यक्रमका बिजेताहरुलाई क्रमशः रु. १ हजार, ७ सय, ५ सय तथा ३ सयका दरले नगद सहित प्रमाण पत्र प्रदान गरिएको विद्यालयका प्रिन्सिपल बिष्टले जानकारी दिनुभयो ।