चक्र कुँवर, डोटी । डोटीको के.आइ. सिंह गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिएको छ । “हाम्रो गौरव हाम्रो पहिचान, साक्षर गाउँ सबैको अभियान” भन्ने नाराका साथ शुक्रबार एक भव्य कार्यक्रमका बीच गाउँपालिकालाई साक्षर गाउँपालिका घोषण गरिएको हो । गाउँपालिकामा रहेका १५ वर्ष देखि ६० वर्ष उमेर समुहका ९५.८ प्रतिशत नागरीक साक्षर भएकोले गाउँपालिकालाई साक्षर घोषणा गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष लोकेन्द्र वहादुर शाहीको अध्यक्षतामा दुर्गामाण्डौको वायलमा आयोजना गरिएको भव्य कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिती डोटीका संयोजक राम बहादुर ऐर रहनु भएको थियो । त्यस्तै कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेल, डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माझी, नेपाली कांग्रेस डोटीका सभापती प्रदिप कुमार देउवा, वडा अध्यक्ष, जिल्ला समन्वय समितिका सदस्य, गाउँ कार्यपालिकाका सदस्य, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा साक्षर गाउँपालिका घोषणका बारे जिल्ला शिक्षा इकाइ प्रमुख शेर बहादुर बोगटीले जानकारी गराउनु भएको थियो भने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज शर्माले कार्यक्रमका अतिथिलाई स्वागत भाषण मार्फत स्वागत गर्नु भएको थियो । साक्षर गाउँपालिका घोषणा कार्यक्रममा स्थानीय झाँकी, विभिन्न विद्यालयका चेतनामुलक नाटक तथा सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएका थिए ।
यसैबीच के. आइ. सिंह गाउँपालिका डोटीको आयोजना र सामुदायिक सेवा केन्द्र तथा समुदाय प्रहरी साझेदारी केन्द्र डोटीको संयोजकत्वमा लंैङ्गिक हिंसा, घरेलु हिंसा, लागु औषध, छाउपडी, बालविवाह, बहुविवाह र ट्रफिक विषयक कार्यक्रम पनि सम्पन्न भएको छ ।