हरिश चन्द्र बाग, कञ्चनपुर । पश्चिम नेपालको तराईमा आएको विनाशकारी हावाहुरीले ठूलो क्षति पुर्याएको छ । कञ्चनपुर र कैलालीमा बिहीबार साँझ करिब १ घण्टासम्म चलेको हावाहुरीका कारण अहिलेसम्म दुई जनाको ज्यान गएको छ भने एक सय भन्दा बढी मानिसहरू घाइते भएका छन् । ज्यान गुमाउनेमा कैलालीको गोदावरी नगरपालिका स्थित मझगाउँ बस्ने वर्ष २६ का बीर बहादुर चौधरी र कैलाली कै टिकापुरका लहानु डंगौरा रहेको कैलाली प्रहरीले जनाएको छ । हावाहुरीका कारण मोटरसाइकल र टिप्पर एकापसमा ठोक्किदा मोटरसाइकल चालक गोदावरीका बीर बहादुर चौधरीको मृत्यु भएको हो भने पर्खालले च्यापिएर टिकापुरका लहानु डंगौराको मृत्यु भएको बताइएको छ ।
घाइते भएकाहरूको महाकाली अञ्चल अस्पताल महेन्द्रनगर, सेती अञ्चल अस्पताल धनगढी, निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर धनगढी लगायत केही निजी अस्पतालका साथै ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरूमा उपचार भइरहेको खबरहरु प्राप्त भएका छन् । शुक्रबार बिहानसम्म अधिकांश घाइतेहरू उपचार पछि घर फर्किसकेका छन् । यहाँका सुरक्षाकर्मी, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरु, सञ्चारकर्मी, नागरिक समाज, अधिकारकर्मी र स्थानीय समाजसेवी सहितका विभिन्न संघसंगठनहरु क्षतिको विवरण संकलन र पीडितको उद्दारका लागि रातिदेखि नै निरन्तर खटिएका छन् ।
धनगढीका विभिन्न अस्पतालमा उपचार गराइरहनु भएका घाइतेहरुको स्वास्थ्य अवस्था बुझ्न सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी सहितको टोलीले मध्यरात मै अस्पतालमा गएर उपचारमा कुनै किसिमको ढिलाइ र कमी नगर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएको छ भने मन्त्री सुवेदीले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको उहाँका स्वकीय सचिव लोकेन्द्र धामीले बताउनु भयो ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी सहितको टोली मध्यरात मै अस्पतालमा
कञ्चनपुर र कैलालीका विभिन्न क्षेत्रमा हावाहुरीका कारण सयौँको संख्यामा घर–टहराहरु भत्किएका छन् भने ठाउँठाउँमा विद्युत् पोलहरु भाँचिएका र तारहरु टुटेका कारण विद्युत् सेवा पूर्ण रुपमा अबरुद्ध भएको छ । विद्युत् लाइन आउन कम्तीमा पनि ५ दिन लाग्न सक्ने अनुमान गरिएको छ । त्यस्तै, बाटो वरपरका रूखहरू ढल्दा बाटोघाटो समेत ठाउँठाउँमा अबरुद्ध भएको छ । कृषकहरुले लगाएका केरा, तरकारी लगायत बालीनालीमा समेत नोक्सानी पुगेको कृषकहरुले बताएका छन् । केही विद्यालय तथा कार्यालयहरुका छाना समेत हावाहुरीले उडाएको छ ।
बिहीबार साँझपखको विनाशकारी हावाहुरीले कञ्चनपुरको महेन्द्रनगरमा रहेको रेडियो कञ्चनपुरको टावर आधाभाग भाँचिई रेडियो प्रशारण अबरुद्ध भएको रेडियो कञ्चनपुरका स्टेशन म्यानेजर कुन्दन पाण्डेयले बताउनु भएको छ ।
रेडियो कञ्चनपुरको टावर आधाभाग भाँचिई रेडियो प्रशारण अबरुद्ध
उता कैलालीको सुख्खडमा रहेको रेडियो कैलालीको टावर पूरै भाँचिई रेडियो प्रशारण नै अबरुद्ध भएको रेडियो कैलालीका प्रबन्ध निर्देशक नवराज खनालले बताउनु भयो ।
रेडियो कैलालीको टावर पूरै भाँचिई रेडियो प्रशारण नै अबरुद्ध
यसैबीच, कञ्चनपुरको बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले प्राकृतिक विपदबाट भएको क्षतिबारे चिन्ता व्यक्त गर्दै सावधानी अपनाउन र पीडितको उद्दारमा खटिन सबैलाई आह्वान गर्नुभएको छ । काठमाण्डौँमा रहनुभएका नगरप्रमुख चौधरीले बिहीबार साँझपख कञ्चनपुर र कैलालीमा आएको भीषण हावाहुरीबाट घाइते भएकाहरुको उद्दारमा खटिन हुन र क्षतिको विवरण संकलन गर्न सम्पूर्ण वडा अध्यक्ष लगायत जनप्रतिनिधि र प्रशासनलाई अनुरोध गर्नुभएको छ । आफ्नो क्षेत्रमा प्राकृतिक विपद आइलागेपछि उहाँ शुक्रबार गृह नगर फर्किदै हुनुहुन्छ । नगरपालिका भित्रको क्षतिको विवरण संकलन गरी लगत्तै नगरपालिकाले राहातका लागि पहल गर्ने उहाँले आश्वासन दिनुभएको छ ।