यहाँ तस्बिरमा देखिएको यो स्कारपियो जिप कञ्चनपुरको बेलौरी नगरपालिका कार्यालयको हो । उक्त जिप सडक किनारको नालीमा फसेको तस्बिरमा स्पष्ट देखिन्छ । उक्त जिपमा प्रायः जसो नगर प्रमुख पोतिलाल चौधरी ओहोरदोहोर गर्नुहुन्छ, कहिलेकाहीँ अत्यावश्यक कामकाजका लागि ओहोरदोहोर गर्नुपर्ने अवस्था आएमा प्रशासनिक काममा समेत प्रयोग हुने गरेको छ । जिप कसरी सडक भन्दा बाहिर गयो, कसले चलाउँदा अनियन्त्रित भयो र परिस्थिति के थियो भन्ने लगायतका विभिन्न प्रश्नहरू र यिनै विषयमा थुप्रै टीकाटिप्पणीहरू अहिले सामाजिक सञ्जालहरूमा भइरहेका छन् । नागरिकले सम्बन्धित व्यक्तिलाई भेटेर सोधिनै हाल्यो भने यी प्रश्नको स्पष्ट जवाफ सरोकारवाला पक्षले दिनु नै पर्ला । तर हामीले यो विषयलाई धेरै महत्त्व दिएर अतिरञ्जित गर्नु भन्दा हामी खुसी यो मानेमा छौँ कि, उक्त जिप अनियन्त्रित हुँदा ठुलो दुर्घटनाबाट जोगियो, धनजनको क्षति हुन पाएन । जसका लागि हामीले मान्ने गरेका ईश्वरलाई धन्यवाद छ ।
प्रसङ्ग मोडौँ,
अहिले नयाँ भेरियन्ट सहितको कोभिड १९ को सङ्क्रमण दिन प्रतिदिन बढिरहेको छ । जसबाट नेपाल, त्यसमा पनि निक्कै गरिबी र असुविधाले भरिपूर्ण हाम्रो सुदूरपश्चिम प्रदेश, त्यसैमा भारतसँग दक्षिणी र पश्चिमी सीमा जोडिएको कञ्चनपुर जिल्लामा समेत भयावह परिस्थिति सृजना भइसकेको छ । यस्तो परिस्थितिमा कोभिड १९ को सङ्क्रमण दर नियन्त्रणको कुरा कञ्चनपुरका स्थानीय तहहरूको क्षमता, दक्षता र तत्परता भन्दा बाहिर गइसकेको छ । तैपनि सबै पक्ष जागरूक र सचेत भइदिने हो भने तपाईं हामी सबैले गर्ने प्रयासले समेत सङ्क्रमणको दर र दुर्घटना न्यूनीकरण गर्न सकिन्छ । यो सम्भव छ ।
कोभिड १९ को सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि पालिकालाई केही सुझावहरू :
१) पालिका भित्र रहेका सबै एम्बुलेन्सहरू एकत्रित गरी तयारी अवस्थामा राखिएको र आवश्यक पर्दा परिचालन गर्ने गरिएको प्रति कृतज्ञता ज्ञापन गर्दछौँ । तर अहिलेको परिस्थितिमा त्यत्ति मात्रै पर्याप्त छैनन् । त्यसका अतिरिक्त पालिकामा रहेका स्कारपियो जिपहरूलाई एम्बुलेन्सका रूपमा र अन्य ठुला साधनहरूलाई उपयुक्त हुने कामका लागि प्रयोग गर्नुपर्ने देखिन्छ । (डडेल्धुराको अमरगढी नगरपालिका र रुपन्देहीको तिलोत्तमा नगरपालिकाले त निर्णय गरी कार्यान्वयनमा समेत ल्याइसकेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । अन्य केही स्थानीय तहहरूले पनि यसको अभ्यास गरिरहेको पाइन्छ ।) त्यस्तै, आपत्कालीन अवस्थामा आवश्यक परेमा निजी सवारी साधनलाई भाडामा लिएर भएपनि प्रयोग गर्ने व्यवस्था मिलाउन आवश्यक छ ।
२) प्रत्येक वडामा क्वारेन्टाइन बनाई बाहिरबाट आउने नागरिकलाई र कोभिड १९ बाट सङ्क्रमित भई स्वास्थ्य अवस्था सामान्य रहेका व्यक्तिहरूलाई कम्तीमा ८/१० दिन क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउनु पर्ने देखिन्छ । नेपाल सरकार र सम्बद्ध निकायले होम क्वारेन्टाइन / होम आइसोलेसनको मापदण्ड बनाए पनि यस ठाउँको लागि उक्त मापदण्ड पालना हुन सक्ने अवस्था छैन । जसका कारण कथम कदाचित सङ्क्रमण परिवारजन र छरछिमेकमा समेत सर्न गयो भने नियन्त्रण गर्न थप जटिल हुन सक्छ ।
३) पालिकाले आइसोलेसन वा कोभिड अस्पतालको परिकल्पना गरी केही संरचना त तयार गरेको छ । तर त्यहाँ आवश्यक जनशक्ति र प्रविधिको अभाव देखिन्छ । ती ठाउँमा थप जनशक्ति र प्रविधिको पूर्ति गरी क्षमता बढाउनुपर्ने आवश्यकता देखिएको छ । त्यत्तिले मात्रै अपुग भएमा कहाँ कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा ठोस निर्णय लिनै पर्छ । र अग्रपङ्क्तिमा खटिने जनशक्तिको स्वास्थ्य सुरक्षालाई समेत प्राथमिकता राख्ने गरी कार्य योजना बनाई कार्यान्वयन गर्न आवश्यक छ ।
४) पालिका भित्र रहेका स्वास्थ्य संस्थाहरू मध्ये कुन कुनलाई कोभिड उपचारका लागि प्रयोग गर्ने र कुन कुनलाई अन्य रोगको उपचारका लागि प्रयोग गर्ने भन्ने निर्धारण गर्ने र त्यही बमोजिम आवश्यक जनशक्ति परिचालन गर्ने तथा अभाव जनशक्ति, प्रविधि, किट तथा औषधिको समयमै पूर्ति गर्न समेत जरुरी छ ।
५) यो नयाँ भेरियन्ट सहितको कोभिड १९ बाट सङ्क्रमित थुप्रै बिरामीहरूलाई अक्सिजनको अति नै आवश्यकता देखिएको छ । तर पालिका भित्र पर्याप्त मात्रामा अक्सिजन सहित अत्यावश्यक प्रविधिको कमी रहेको छ । त्यसका लागि समयमै आपूर्ति व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।
६) महामारीका रूपमा फैलिएको कोभिड १९ को सङ्क्रमण र प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण प्रायः सबै क्षेत्र बन्द भएपछि दैनिक ज्याला मजदुरी गर्दै आएका गरिब अति विपन्न परिवारको जीविकोपार्जनमा निक्कै असहजता भएको छ । त्यस्ता परिवारलाई पालिकाबाट आवश्यक राहतको प्रबन्ध मिलाउनु पर्ने देखिन्छ ।
७) नेपाल भारत खुला सीमा जोडिएका कारण अवैध बाटो भएर भारतबाट नेपाल भित्रिने र नेपालबाट भारत पस्ने व्यक्तिहरूको सङ्ख्या रोकिएको छैन । दैनिक प्रतिबन्धित सामान ओसारपसार देखि तस्करी समेत भइरहेकोले सीमा क्षेत्रहरूमा थप निगरानी बढाउनु पर्ने देखिन्छ । जसका लागि सुरक्षा निकाय, जनप्रतिनिधिहरूसँगै सचेत युवाहरूका समूह पनि प्रभावकारी माध्यम बन्न सक्छन् ।
८) नेपाल सरकार, प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय र स्थानीय तह तथा ती मातहतका कोभिड १९ सङ्कट व्यवस्थापन समितिहरूले जारी गरेका नीति तथा आदेशहरूको पूर्ण पालना गर्ने गराउने, सर्वदलीय सर्वपक्षीय बैठकहरू र कार्यपालिकाबाट गरिएका निर्णयहरूको अक्षरशः पालना गर्ने गराउने हो भने कोभिड १९ को सङ्क्रमण न्यूनीकरण गर्न र थप फैलिनबाट रोकथाम गर्न पालिका सफल हुन सक्छ ।
नोट : यी सुझावहरूलाई सरोकारवाला पक्षले सकारात्मक दृष्टिकोणले बुझिदिन अनुरोध छ । विषयवस्तुको उठान, प्रयोग भएको शीर्षक र धरातलमा देखिएको वास्तविकतालाई उजागर गरेको सम्बन्धमा निकटका व्यक्तिहरूले अपव्याख्या गर्न सक्छन् । दिग्भ्रमित पार्न सक्छन् । उत्तेजित बनाउन खोज्लान् । तर यिनै विषयवस्तुलाई सकारात्मक ढङ्गले बुझिदिने हो भने कार्य सफलताका लागि सहयोगी बन्न सक्छन् ।
धन्यवाद ।
हरिश्चन्द्र बाग
(अध्यक्ष / प्रकाशक)
एन.बी. मिडिया नेटवर्क, कञ्चनपुर ।