हरिश्चन्द्र बाग, कञ्चनपुर, २३ बैशाख । कञ्चनपुरको बेलडाँडी गाउँपालिका कार्यालयले कोभिड १९ को सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि सर्वदलीय सर्वपक्षीय बैठक राखी विभिन्न निर्णय गरेको छ । बेलडाँडी गाउँपालिकाका अध्यक्ष धनबहादुर थापा क्षेत्रीको अध्यक्षतामा बिहीबार गाउँपालिकाको सभा हलमा आयोजित सर्वदलीय सर्वपक्षीय बैठकले हाल फैलिरहेको कोभिड १९ रोगको रोकथाम तथा नियन्त्रणका लागि विगतमा नै समिति गठन भैसकेको र वडा स्तरमा पनि समिति गठन भएको भए सो समितिबाट आवश्यक व्यवस्थापन गर्ने र गठन नभएको भए यथाशीघ्र वडा अध्यक्षको संयोजकत्वमा सर्वपक्षीय समिति गठन गरी आवश्यक व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
कोभिड १९ रोगको रोकथाम तथा नियन्त्रणका लागी आवश्यक पर्ने सरसामान उपकरण व्यवस्थापन गर्न स्वास्थ्य शाखा प्रमुख माधवानन्द भट्टको संयोजकत्वमा स्वास्थ्य शाखा उपसंयोजक, प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख, रौतेली विचुवा स्वास्थ्य चौकी प्रमुख, डा. रवि रोकाया र मनीषा टेर सदस्य रहने गरी खरिद समिति गठन गर्ने निर्णय गर्नुका साथै हाल अत्यावश्यक रहेका अक्सिजन सिलिन्डर १० थान र कोभिड एन्टिजेन किट २०० गोटा तत्काल खरिद गर्ने निर्णय गरिएको छ ।
सोही बैठकले कोभिड १९ रोगको रोकथाम तथा नियन्त्रण तथा व्यवस्थापनका लागि डा. रवि रोकायालाई फोकल व्यक्तिका रूपमा र माधवानन्द भट्ट, राम दत्त जोशी, महेश खत्री, उर्मिला खड्का, मनीषा टेर र साधुराम रानालाई सदस्यका रूपमा रहने गरी आरआरटी टिम गठन गर्ने निर्णय गरिएको बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त भट्टले जानकारी दिनुभयो । त्यसैका लागि ५ वटै वडाहरूमा स्वास्थ्य संस्था प्रमुख वा स्वास्थ्यकर्मीको संयोजकत्वमा महिला स्वास्थ्य स्वयंसेविका र जनप्रतिनिधि वा जनप्रतिनिधिले तोकेको व्यक्ति गरी ३ सदस्य रहेको सिसिआइटी टिम यथाशीघ्र गठन गर्ने निर्णय समेत गरिएको बताइएको छ ।
समुदायमा जनचेतना जगाउन ५ वटै वडाहरूमा माईकिङ्ग गरिदिन प्रशासनलाई अनुरोध गर्ने र सोका लागी आवश्यक पर्ने केही इन्धन गाउँपालिकाबाट उपलब्ध गराउनुका साथै सोको प्रचार प्रसारका लागी सञ्चारकर्मीहरूमा समेत अनुरोध गर्ने निर्णय गरिएको छ । त्यस्तै, प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी कम रहेकोले रौतेली विचवा स्वास्थ्य चौकीमा भएका कर्मचारी यथाशीघ्र व्यवस्थापन गर्न गाउँपालिकालाई अनुरोध गर्ने निर्णय गरिएको बताइएको छ । बैठकमा बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष कमला देवी कार्की सहित कार्यपालिका र वडाका जनप्रतिनिधिहरू, कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योगी व्यवसायी, सुरक्षा निकायका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।