हरिश्चन्द्र बाग, कञ्चनपुर, २१ बैशाख । नयाँ भेरियन्ट सहितको कोभिड १९ को सङ्क्रमण कञ्चनपुरमा समेत उच्च दरमा बढ्दो क्रममा रहेकोले त्यसको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले यही बैशाख १६ गतेदेखि बैशाख मसान्तसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । यस अवधिमा वैधानिक नाकाका रूपमा रहेका कञ्चनपुरको गड्डाचौकी र गौरीफण्टाबाट मात्रै नेपाल–भारत आवागमनको अनुमति दिइएको छ । यी दुई नाका बाहेक अन्य दर्जनौँ अवैध नाकाहरूबाट आवागमन तथा सामान ओसारपसार गर्न प्रतिबन्ध लगाइएको भएपनि यिनै अवैध नाकाहरूबाट प्रतिबन्धित मालसामान दैनिक रूपमा भित्रिरहेको पाइन्छ ।
यसैबिच, कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ३ खिरियाबाट मङ्गलवार बिहान १० बजेको समयमा अवैध एवं प्रतिबन्धित अखाद्य पेय पदार्थ डिउ आधा लिटरका ८३ बोत्तल, २.२५ लिटरका १६२ बोत्तल गरी जम्मा २४५ बोत्तल र जय भारत लेखेको तेल ७ डिब्बा बरामद गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । बेलौरी प्रहरीका अनुसार, जम्मा अन्दाजी मूल्य ३७ हजार ७ सय १० रुपैयाँ बराबरका ती सामग्रीहरूलाई मङ्गलवार दिउँसो बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष, पत्रकार सहित स्थानीय मानिसहरूको रोहबरमा नष्ट गरिएको छ । प्रहरीले ती सामग्री भारतबाट भन्सार छली ल्याइएकोले बरामद गरी नष्ट गरेको दाबी गरेको छ ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलीले कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर १० सिसैयामा भारतबाट भन्सार छली गरी ल्याइएका चिनी, बिडी, सलाई, स्याम्पु समेत गरी अन्दाजी मूल्य ३ लाख १६ हजार १ सय २० रुपैयाँ बराबरको सरसामान बेवारिसे अवस्थामा फेला पारी कानुन बमोजिम बरामद गरिएको छ । बरामद गरिएका ती सरसामानलाई आवश्यक कारबाहीको लागि मङ्गलवार गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लाल बहादुर बमले जानकारी दिनुभयो ।
निषेधाज्ञाको समयमा पनि नेपाली बजारमा भारतीय सामान कसरी भित्रिन्छ भन्ने प्रश्न यतिबेला जनजनमा रहेको छ भने सीमा क्षेत्रमा सयौँ सशस्त्र प्रहरी र दर्जनौँ नेपाल प्रहरी तयनाथ हुँदा पनि बरामद नहुने प्रतिबन्धित सरसामान नेपाली बजारका पसलहरूबाट कुन नियतले बरामद गरिन्छ भन्ने अर्को प्रश्न उब्जिएको छ । सीमा क्षेत्रहरूमा सुरक्षा निकायका प्रतिनिधिहरूकै मिलेमतोमा अवैध मालसामान ओसारपसार हुने गरेको कतिपय सर्वसाधारणहरुले आरोप लगाउने गरेका छन् । यस्ता अवैध क्रियाकलाप कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रका सीमा नाकाहरूमा अत्यधिक मात्रामा भइरहेको पाइन्छ । यी गतिविधि तत्कालै नरोकिए कोभिड १९ को सङ्क्रमण विकराल रूपले फैलिने देखिन्छ ।