हरिश्चन्द्र बाग, कञ्चनपुर, १७ बैशाख । नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखा र मर्सिकोर नेपालको संयुक्त साझेदारीमा सञ्चालित आर्थिक विकास मार्फत विपद् जोखिम व्यवस्थापन (एम्.रेड) तेस्रो चरणको परियोजना कञ्चनपुर जिल्लाको अति संकटासन्नमा रहेका लालझाडी गाउँपालिका, शुक्लाफाँटा नगरपालिका, कृष्णपुर नगरपालिका, बेलौरी नगरपालिका र पुनर्वास नगरपालिकामा संञ्चालन भइरहेको छ । परियोजनाले संकटासन्न समुदायहरुमा प्राकृतिक विपद् तथा जलवायुका कारण मानवीय तथा जीविकोपार्जनमा पर्ने क्षति घटाउनका लागि सरकारी, निजि र नागरिक समाजसँग साझेदारी गर्दै समुदायको अग्रसरतामा विपद् जोखिम न्यूनीकरणका क्रियाकलापहरु गर्दै आइरहेको एम्.रेड परियोजनाका कार्यक्रम संयोजक महेश घिमिरेले जानकारी दिनुभएको छ ।
यसैगरी परियोजनाले विपद व्यवस्थापन चक्र अनुसार विपद् पूर्व तयारीका लागि समुदायमा विपदवारे जागरण गराउने, क्षमतामुलक तालिम दिने, समुदायको विपद् प्रतिकार्य योजना बनाउने र समुदायको जोखिमको पहिचानगरी कार्य योजना निमार्ण गर्नुको साथै कटानी रोकथाम र नियन्त्रणका लागि पालिकासँगको सहकार्यमा जैविक तटबन्धकान निर्माणका कार्यहरु गरिरहेको छ । जस अन्तर्गत लालझाडी गाउँपालिकामा १ हजार ८ सय मिटर, कृष्णपुर नगरपालिकामा ५५० मिटर र शुक्लाफाँटा नगरपालिकामा ३०० मिटर जैविक तटबन्धनको कार्य गरिरहेको छ भने पुनर्वास नगरपालिकामा ६०० मिटर र बेलौरी नगरपालिकामा १५० मिटर जैविक तटबन्धनका लागि पालिकाहरुसँग समन्वय भइरहेको छ । यसबाट नदि किनारको जमिन कटानी रोकथाम र नियन्त्रणका लागि महत्वपूर्ण सहयोग पुगेको लालझाडी गाउँपालिकाका उपाध्यक्ष सत्यदेवी महराले बताउनु भयो ।
यस क्षेत्रको बीच भागबाट बग्ने दोँदा नदिमा २०६५ सालमा आएको बाढीले सयौँ घरपरिवार विस्थापित भएका थिए । विशेषतः लालझाडी गाउँपालिका वडा नम्बर २ का प्रायःजसो नागरिकहरु उक्त बाढीबाट विस्थापित हुनुु परेको थियो । उक्त क्षेत्रमा जैविक तटबन्ध निर्माण भइसकेपछि यहाँका नागरिकहरुको खेतीयोग्य जमिन सुरक्षित रहने लालझाडी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष हेमराज रानाले अपेक्षा गर्नुभयो । जैविक तटबन्ध निर्माण कार्यमा स्थानीय साधनश्रोत बाँस, कट्टा, बालुवाको प्रयोग गरी स्थानीय जनशक्ति २ हजार ५ जना परिचालित भएका छन् । जैविक तटबन्ध निर्माणबाट करिब २५ बिघा जमिन संरक्षित भएको छ ।
स्थानीय तह, प्रधानमन्त्री रोजगार कार्यक्रम र एम् रेड परियोजना मार्फत भइरहेको जैविक तटबन्धनको कार्यले केही बेरोजगार नागरिकहरुले रोजगारीको अवसर पाएका छन् भने बाढीको जोखिम न्यूनीकरण गर्न पूर्वतयारी समेत भइरहेको कञ्ज सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष खुसीराम रानाले बताउनु भयो । यसका अतिरिक्त बाढी प्रभावित समुदायहरुमा बाढीको जोखिम घटाउन तथा आम्दानी बढाउनका लागि कृषकहरुलाई उखु खेती तर्फ प्रेरित गरिएको छ । जसको परिणाम स्वरुप नदिले कटानी तथा पटानी गरेको बगर तथा नदि किनारमा उखु खेती मार्फत बाढी नियन्त्रणमा मद्दत पुगेको र उखुबाट समुदायको आम्दानी समेत बढेको छ ।
परियोजनाले एकातर्फ प्रयोगबिहिन भइरहेको बगरलाई पुनः प्रयोग गरी उत्पादनमूलक आयआर्जनका गतिविधि गरेको छ भने अर्कोतर्फ बाढीको जोखिमलाई न्युनीकरण गर्दै माटोको उर्वराशक्ति बढाउन मद्दत गरेको छ । नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाले चिनी मिल र कृषि शाखाको समन्वयमा ६८.६५ बिघा जमिनमा कात्तिके उखु खेती र १८९.९ बिघा जमिनमा फागुने उखु खेतीमा सहयोग गरिरहेको छ । जसबाट ४ सय ४८ घरधुरी प्रत्यक्ष लाभान्भित भएका छन् । परियोजनाको तर्फबाट पुराना किसानहरुलाई मलखादमा सहयोग गरिएको छ भने नयाँ किसानलाई उन्नत जातको बिउमा ५० प्रतिशत अनुदान, दुई आख्ले बिउको प्रयोग, बिउ उपचार र ट्रेन्च विधि प्रयोगमा प्रोत्साहन गरिएको छ ।
चालुआर्थिक वर्ष २०७७।०७८ मा समुदायहरुले ६३ हजार ७ सय ७२ क्विन्टल उखु उत्पादन गर्न सफल भएका छन् । जस्को बजार मुल्य ३ करोड ३४ लाख ८० हजार ३ सय रहेको छ । त्यस्तै, कात्तिके उखु खेतीमा अन्तरबालीका रुपमा मसुरो र तोरी बिक्रीबाट रु ७ लाख ५० हजार आम्दानी गर्न सफल भएका छन् । मुख्यमन्त्री नमुना कृषि गाँउ उखु कार्यक्रम अन्तर्गत साना कृषि औजार वितरण, कृषि जेटिए, स्वयंसेवक परिचालन, सघन उखु खेती सम्बन्धी तालिम, नमुना प्रदर्शनीमा समेत परियोजनाको सहयोग रहेको छ । त्यसैगरी चिनिमिल र उखु उत्पादक हकहित संरक्षण समितिसँगको सहकार्यमा सघन उखु खेती सम्बन्धी किसानहरुलाई तालिम, उखु खेती क्षेत्र विस्तारमा पारस्परिक सहयोग, उखु खेती एवं रोग किरा नियन्त्रणबारे चेतनामूलक कार्यक्रम र परियोजनाको पहलमा शुक्लाफाँटा नगरपालिका वडा नम्बर ६ वनसमितिमा नयाँ काटा तौलको सुरुवात समेत भएको छ ।