हरिश्चन्द्र बाग, कञ्चनपुर । कञ्चनपुर जिल्लामा यही बैशाख १६ गते बिहिबार बिहान ६ बजेदेखि लागु भएको निषेधाज्ञा जारी रहेको छ । यही बैशाख २२ गतेसम्मका लागि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले निषेधाज्ञा आदेश जारी गर्नुभएको हो । यस अवधिमा औषधी तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल व्यवसाय तथा अत्यावश्यकीय बस्तु तथा सेवाहरु साविकको समय अनुसार सञ्चालन गर्न.पाइने छ । तर बैंक तथा वित्तीय संस्था बिहान १० देखि दिउँसो १ बजेसम्म र तरकारी, फलफूल तथा खाद्य पसल व्यवसायहरु भने आइतबार, मंगलबार र बिहिबार बिहान ६ बजेदेखि ९ बजेसम्म जनस्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्रै सञ्चालन गर्न आदेश जारी भएको छ ।
यी बाहेक अन्य सबै पसल व्यवसाय पूर्णरुपमा बन्द राख्नुपर्ने आदेश दिइएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिनुभयो । त्यस्तै, कुनैपनि सभा, सम्मेलन, गोष्ठी, सेमिनार लगायत भिडभाड हुने ठाउँ सबै बन्द गरिएको छ भने अत्यावश्यक बाहेकका अन्य सार्वजनिक सेवा हाललाई स्थगन गरिएको हुँदा अत्यावश्यक कामकाज बाहेक घरबाहिर हिडडुल नगर्न समेत प्रशासनले आदेश जारी गरेको छ । लकडाउनको सुरुवाती चरण भएकोले प्रशासनको आदेश अटेरी गर्ने केही व्यक्तिहरुलाई सुरक्षाकर्मीहरुले सम्झाइबुझाई गरेका छन् । गन्तव्यतर्फ जाने यात्रुहरुको चाप भने बढेको छ । यात्रुहरुको गन्तव्य प्रस्थान यात्राको उचित व्यवस्थापनका लागि आवश्यक समन्वय भइरहेको प्रशासनले जनाएको छ ।
सीमा क्षेत्रबाट भित्रिने नागरिकहरुका लागि होल्डिङ सेन्टर समेत तयार भइरहेको छ । त्यस्तै, विवाह वा व्रतबन्धको हकमा बढीमा १५ जनाको मात्रै सहभागिता गराएर पूर्वस्वीकृति लिई स्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिने बताइएको छ । विश्वभर फैलिदै गइरहेको नयाँ भेरियन्ट सहितको कोभिड १९ को संक्रमण कञ्चनपुरमा समेत उच्च दरमा फैलिएकोले सोको रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारबाट जारी भएको आदेश र प्रमुख जिल्ला अधिकारीबाट जारी भएको आदेशको पूर्ण पालना गर्न गराउन हुन सबैलाई अनुरोध गरिएको छ । आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने उपर प्रचलित कानून बमोजिम कारबाही हुने बताइएको छ ।
भारतबाट आउने नागरिकहरुको सीमा क्षेत्र गड्डाचौकी र गौरीफन्टामा बाक्लो घुइचो रहेको छ । त्यस्तै, अन्य अवैध खुला नाकाहरुबाट आवागमन रोक्न नसक्दा थप चुनौती र अत्यधिक जोखिम बढेको छ भने बैधानिक नाकाहरुमा समेत चेकजाँच र आवश्यक व्यवस्थापनको अभाव रहेको छ । गड्डाचौकी र गौरीफन्टा नाकाहरु कञ्चनपुरका लागि मात्रै नभई देशका विभिन्न भूभागका नागरिकहरु आउने नाका भएकोले यात्रुहरुको व्यवस्थापन गर्न र गन्तव्यसम्म पुर्याउन समस्या भइरहेको प्रशासनले जनाएको छ । स्थानीय तहको तयारीमा अझै पनि कमी, यहाँका अस्पताल सहितका सबै स्वास्थ्य संस्थामा अक्सिजन ग्यास, थप एम्बुलेन्स सेवा, एनटिजेन किट र दक्ष जनशक्ति तथा स्वास्थ्यकर्मीको अभाव, भएका स्वास्थ्यकर्मीहरु समेत अधिकांश संक्रमित हुनुले पनि कञ्चनपुर जिल्ला कोभिड १९ बाट अत्यधिक प्रभावित हुने देखिन्छ ।