हरिश्चन्द्र बाग, कञ्चनपुर, १५ बैशाख । विश्वभर फैलिँदै गइरहेको नयाँ भेरियन्ट सहितको कोभिड १९ को सङ्क्रमण कञ्चनपुरमा समेत उच्च दरमा बढ्दो क्रममा रहेको र उक्त महामारीको सङ्क्रमण जिल्लाको दक्षिणी क्षेत्रमा समेत दिनानुदिन बढिरहेको अवस्था छ । यस समयमा वैधानिक नाकाका रूपमा रहेका कञ्चनपुरको गड्डाचौकी र गौरीफण्टा बाहेक दर्जनौँ अवैध नाकाहरू भएर पनि नेपाल-भारत आवागमनको क्रम जारी रहेकोले कोभिड १९ सङ्क्रमणको जोखिम थप बढिरहेको छ । यस्ता अवैध क्रियाकलाप कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रका सीमा नाकाहरूमा अत्यधिक मात्रामा भइरहेको पाइन्छ । यी गतिविधि तत्कालै नरोकिए कोभिड १९ को सङ्क्रमण विकराल रूपले फैलिने प्रति पूर्व सांसद तथा संविधान सभा सदस्य दिवान सिंह बिष्टले चिन्ता व्यक्त गर्नुभएको छ । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रबाट सीमामा हुने अवैध आवागमन रोक्न पुनर्वास नगरपालिका तयार रहेको छ । पुनर्वास नगरपालिका कार्यालयले सीमामा हुने अवैध आवागमन रोक्नुपर्ने भन्दै सर्वपक्षीय बैठकबाटै त्यसतर्फ ध्यान केन्द्रित गरेको छ । तर पुनर्वाससँगै जोडिएको बेलौरी नगरपालिका भने मुख्दर्शक बनेको छ । बेलौरी नगरपालिकाले यस पटक हालसम्म सर्वपक्षीय बैठक त राखेको छैन तर यही बैशाख १२ र १३ गते बसेको बेलौरी नगर कार्यपालिकाको बैठकले कोभिड १९ को सङ्क्रमण रोकथामका लागि केही महत्त्वपूर्ण निर्णयहरू गरेको छ । तर नगर प्रवक्ताद्वारा सार्वजनिक गरिएका निर्णयहरूमा सीमा क्षेत्रमा भइरहेको अवैध आवागमनको विषय भने अटाएको देखिँदैन ।
बेलौरी नगरपालिकाले गरेका निर्णयहरू :
कञ्चनपुरको बेलौरी नगरपालिकाले कोभिड १९ को सङ्क्रमण रोकथामका लागि केही महत्त्वपूर्ण निर्णय गरेको छ । यही बैशाख १२ र १३ गते बसेको बेलौरी नगर कार्यपालिकाको बैठकले बेलौरी नगरपालिका वडा नम्बर ९ कुण्डामा तत्काल ५० शय्या र १०० शय्याको आइसोलेसन तयार गर्ने, नेपाल सरकारको निर्णय बमोजिम अर्को सूचना जारी नभएसम्म शैक्षिक संस्थाहरूमा भौतिक रूपमा हुने पठनपाठन र परीक्षाका कार्यक्रमहरू स्थगन गर्ने, नगरपालिका क्षेत्र भित्र रहेका सरकारी तथा गैरसरकारी बैङ्क तथा वित्तीय संस्थाहरूमा भिडभाड कम गर्न र सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न ती संघसंस्थाहरुसँग आवश्यक समन्वय गरी व्यवस्था मिलाउने निर्णय गरेको बेलौरी नगरपालिकाका नगर प्रवक्ता विनोद नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार, नगरपालिकाको कार्यालयमा राजश्व सङ्कलनको कार्यलाई वडा स्तरबाटै सेवा प्रवाह हुने गरी व्यवस्था मिलाई अनलाइन राजश्व तिर्ने व्यवस्था मिलाउने, नगरपालिकामा हुने सेवाग्राहीको भिडभाडलाई न्यूनीकरण गर्न सेवा प्रवाहलाई वडा नम्बर अनुसार व्यवस्था गर्ने (जस्तै, आइतबार, मङ्गलवार र बिहीबारका दिन १, ३, ५, ७ र ९ नम्बर वडा तथा सोमबार, बुधबार र शुक्रबारका दिन २, ४, ६, ८ र १० नम्बर वडाका नागरिकहरूलाई सेवा प्रवाह गर्ने) निर्णय भएको छ । त्यस्तै, बेलौरी नगरपालिका वडा नम्बर ५ को कार्यालयलाई वडाबाटै सेवा प्रवाह हुने गरी व्यवस्था मिलाउने, बेलौरी नगरपालिकामा रहेका ३ वटा एम्बुलेन्सहरूलाई चुस्त दुरुस्त अवस्थामा राख्ने र लक्ष्मीपुर स्वास्थ्य चौकीको एम्बुलेन्सलाई आवश्यक परेको खण्डमा शव वाहनका रूपमा समेत प्रयोग गर्ने निर्णय भएको नगर प्रवक्ता नेपालीले जानकारी दिनुभएको छ ।
पुनर्वास नगरपालिकाले गरेका निर्णयहरू :
कञ्चनपुरको पुनर्वास नगरपालिकाको विपद् व्यवस्थापन समितिले आपत्कालीन बैठक बसी कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि लकडाउन गर्ने निर्णय गरेको छ । विपद् व्यवस्थापन समितिका संयोजक तथा नगर प्रमुख जीवनराज थापाको अध्यक्षतामा कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि नगरलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा पुनर्वास नगरपालिका कार्यालयको सभा हलमा बृहत् छलफल गरिएको थियो । मङ्गलवार बसेको बैठकले कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी भएको आदेशको पूर्ण पालना गर्ने गराउने, मुख्यतः कोभिड १९ को सङ्क्रमण दिनानुदिन बढ्दै विकराल रूप लिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै पुनर्वास नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा भौतिक रूपमा उपस्थित भई हुने पठनपाठन २०७८ बैशाख १५ देखि अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्ने र पूर्वनिर्धारित परीक्षाहरू हाललाई स्थगित गर्ने निर्णय गरिएको छ । सम्भव भएमा विद्यालयहरूले वैकल्पिक माध्यमबाट पठनपाठन गर्ने गराउने निर्णय गरिएको विपद् व्यवस्थापन फोकल पर्सन ओमनाथ ढकालले जानकारी दिनुभयो । विपद् व्यवस्थापन समितिको बैठकले हाललाई पुनर्वास नगरपालिकाका सम्पूर्ण खुला नाकाबाट अवैध रूपमा भइरहेको आवतजावतलाई पूर्ण रूपमा बन्द गर्ने, नगरपालिका भित्र भारतबाट भित्रिने सबै व्यक्तिहरूले अनिवार्य रूपमा कोरोना परीक्षण गरी आइसोलेसन तथा एकान्त वासमा कम्तीमा १४ दिन बस्ने र सोको जानकारी सम्बन्धित वडा कार्यालयलाई गराउनु हुन अनुरोध गर्ने निर्णय गरेको छ ।
सोही बैठकले त्रिभुवनवस्ती स्वास्थ्य चौकीमा रहेको कोभिड अस्पतालमा अक्सिजन सिलिन्डर लगायतका अत्यावश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गरी अस्पतालको क्षमता वृद्धि गर्ने र आवश्यकता अनुसार आइसोलेसन सेन्टरहरू स्थापना गर्ने, किसानहरूले गहुँ काटेपछि खेतमा गहुँको छ्वालीमा आगो लगाउनाले हावाहुरीको समयमा आगलागीबाट जनधनको क्षति हुन सक्ने र वातावरणीय दुष्प्रभाव पर्ने हुँदा सम्पूर्ण कृषकहरूलाई सो कार्य नगर्नुहुन अनुरोध गर्ने, नगरपालिका मातहतका सम्पूर्ण वडा कार्यालय, विषयगत शाखा लगायत सम्पूर्ण सरकारी तथा गैरसरकारी संघसंस्थाहरूले कोभिड १९ सम्बन्धी स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रूपमा पालना गरी गराई सेवा प्रवाह गर्ने, विवाह, व्रतबन्ध लगायतका धार्मिक तथा सामाजिक कार्यहरूमा अनावश्यक भिडभाड गर्ने काम, डिजे बजाउने काम नगर्न नगराउन हुन सबैलाई अनुरोध गर्ने, सम्पूर्ण नगरवासीहरूलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनै परे अनिवार्य मास्क लगाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी निस्कनु हुन अपिल गर्ने, नगरपालिका भित्रका सम्पूर्ण वडा कार्यालय तथा सुरक्षा निकायहरूले जनचेतनामूलक कार्यक्रम तथा प्रचारप्रसार गर्न अनुरोध गर्ने जस्ता निर्णयहरू गरिएको पुनर्वास नगर विपद् व्यवस्थापन फोकल पर्सन ढकालले जानकारी दिनुभयो ।
नगर उपप्रमुख शारदा शर्मा बिष्टले नगरवासीहरूमा गत वर्षदेखि नै कोभिड १९ ले सबैलाई सताइरहेको तितो यथार्थ स्मरण गराउँदै आजको अवस्थामा यस पालि त झन् ठुलो महामारीको रूपमा देखा परिरहेको जानकारी दिदैं, यति सुन्दर मानव जीवनलाई सानो लापरबाहीले कोरोना ग्रस्त बन्न दिनु हुँदैन, सबैको रक्षाका लागि सभ्य नागरिकको परिचय दिई मानव रक्षा गरौँ भनी सामाजिक सञ्जाल मार्फत कोरोना कहरबाट आफू बचौँ र अरूलाई पनि बचाऔँ भन्दै अपिल गर्नु भएको छ । त्यस्तै, पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवनराज थापाले कोभिड १९ बारे बेलैमा सचेत नबने यसले गम्भीर परिणाम निस्किने निश्चित देखिएको बताउनु भयो । "आज भोलि यसो बिचार गरी हेर्दा नगरवासीहरूमा जनस्वास्थ्यका मापदण्ड पटक्कै लागु भएको देखिँदैन, सङ्क्रमणको वृद्धि दरले भयावह रूप लिन सक्ने सम्भावना प्रबल रहेको हुँदा नगरवासीको धनजनको सुरक्षा हेतु आपत्कालीन विपद् व्यवस्थापन समितिको बैठक बोलाई अर्को सूचना जारी नहुन्जेल सम्मका लागि यी निर्णयहरू गरिएको हो," नगर प्रमुख जीवन राज थापाले भन्नुभयो । "प्रारम्भिक चरणमा हामी सबैले सामाजिक दुरी कायम गर्दै मास्क स्यानिटाइजरको प्रयोग गरी यस महामारीबाट केही हदसम्म बच्न सकिन्छ । आफू बचौँ र अरूलाई पनि बचाऔँ" नगर प्रमुख थापाले भन्नुभयो ।
नगरद्वारा कोभिड १९ रोकथाम र नियन्त्रणका लागि जारी गरिएका नीति नियमहरू अनुशासित र इमानदारिताका साथ पालन गर्न र गराउनु हुन नगरवासीहरूमा नगर प्रमुख थापाले अपिल गर्नुभएको छ । पुनर्वास नगर कार्यपालिका कार्यालयको सभा हलमा सम्पन्न विपद् व्यवस्थापन समितिको बैठकमा नगर प्रमुख जीवनराज थापा, नगर उपप्रमुख शारदा शर्मा बिष्ट, निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवराज भट्ट, वडाध्यक्षहरू प्रताप बहादुर चन्द, सन्त कुमार चौधरी, कृष्ण बहादुर तामाङ ,प्रेम बहादुर बस्नेत, वीर बहादुर बोगटी, मन बहादुर गुरुङ, राम दुलारे राना, राना श्रवण, नारायण प्रसाद जैसी, शुकदेव राना र तुलसी अर्याल तथा नगर प्रवक्ता भारमल सुनार रहनु भएको थियो भने यसरी नै उक्त बैठकमा नेकपा एमाले पार्टी प्रतिनिधि स्थिर प्रसाद घिमिरे, नेपाली काँग्रेस नगर सभापति यम प्रसाद पौडेल, उद्योग वाणिज्य संघ पुनर्वासका अध्यक्ष कृष्ण बहादुर तामाङ, स्वास्थ्य शाखा उपसंयोजक कल्पना पौडेल, रेडक्रस सभापति युवराज सुयल, राडा नेपालका अध्यक्ष राजेन्द्र सिंह धामी, सञ्चारकर्मी किशोर तामाङ, समाजसेवीहरू पदम पुजारा, पदम थापा, शुकमाया मोक्तान, पार्वती हमाल, देवी पौडेल र सुरक्षा निकायका अधिकारीहरूको समेत सहभागिता रहेको विपद् व्यवस्थापन सम्पर्क व्यक्ति ओमनाथ ढकालले जानकारी दिनुभयो ।