भुवन भट्ट, कञ्चनपुर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा अध्ययनरत गरिब विद्यार्थीहरु भर्ना शुल्कमा मिलेको प्रक्रिया कार्यान्वयनमा नआउदा परीक्षा दिनबाट बञ्चित हुने अवस्थामा पुगेका छन् । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले ५० प्रतिशत भर्ना शुल्कमा परीक्षा फारम बुझाउने व्यवस्था गरेपनि व्यवस्थापन संकायले उक्त निर्णय कार्यान्यवन नगरिदिँदा ५० प्रतिशत भर्ना रकम बुझाएका विद्यार्थी परीक्षा दिनबाट बञ्चित हुने अवस्थामा पुगेका हुन् ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायमा अध्ययनरत एक विद्यार्थीले पारिवारिक समस्याका कारण अपुग रकम पछि बुझाउने भन्दै पटक पटक व्यवस्थापन संकायका विभागीय प्रमुखलाई हारगुहार गरेपनि कुनै सुनुवाई नभएको गुनासो गरे । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले व्यवस्थापन संकाय अन्तर्गतको विविएस चौथो वर्ष र तेश्रो वर्षका लागि परीक्षा फारम खुलाएको छ । जसको समयावधि जेठ १७ गते सम्म तोकिएको थियो । ती विद्यार्थीले जेठ १५ गते पारिपारिक समस्या सहित विभागीय प्रमुख प्रेम सिंह खातीलाई भेटे । तर विभागीय प्रमुखले सबै विद्यार्थीलाई मिलाउन नसकिने बताए ।
विद्यार्थीका अनुसार विभागीय प्रमुख खातिले उनिमाथि पुरा रकम बुझाउन दबाब मात्र दिएनन् नेताको पहुच नपुगेका विद्यार्थी पनि आफुकहाँ आग्रह गर्न कसरी आईपुग्छन् भनी आफुलाई प्रक्रिया नै मिलाउन नसक्ने भन्दै बाहिर लगाएको बताए । श्रोतका अनुसार विगत ८ वर्ष सम्म पनि भर्ना शुल्क नबुझाएका विद्यार्थीहरु परीक्षामा सहभागि भएका छन् । पावर र पहुचका आधारमा त्यस्ता विद्यार्थीहरुलाइ विश्वविद्यालयले भर्ना शुल्क समेत मिनाहा गर्ने गरेको श्रोतको दाबी छ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले ५० प्रतिशत भर्ना शुल्क बुझाएका विद्यार्थीले पनि परीक्षामा सहभागी हुने व्यवस्था मिलाएको छ ।
व्यवस्थापन संकायका विभागीय प्रमुख संग नेविसंघको ३ पटकको वार्तापछि ५० प्रतिशत शुल्क बुझाएका विद्यार्थीले परीक्षा दिन पाउने सहमति भएको नेविसंघका नेता नागेश प्रसाद पन्तले बताए । पटक पटक विभागीय प्रमुख खातिलाई गरीब विद्यार्थीका समस्या सुल्झाउन आग्रह गरेको बताउँदै नेविसंघका नेता पन्तले तेश्रो पटक गत ३ साता पहिले मात्रै परीक्षा फारम बुझाउन बाँकी रहेका विद्यार्थीलाई अन्तिम चरणमा पुगेर ५० प्रतिशत शुल्क बुझाई प्रथम वर्ष, द्वितीय वर्ष र तृतीय वर्षका विद्यार्थीले परीक्षा फारम भर्न पाउने सहमति सहित नेविसंघले वार्ता टुङ्ग्याएको बताए ।
तत्कालीन एमाले निकट अनेरास्ववियुका विद्यार्थी नेता केशव राज अवस्थीेले सबै विद्यार्थीलाई समान व्यवहार गरिनुपर्ने बताए । आठ वर्ष सम्म पनि शुल्क नबुझाएका विद्यार्थीले परीक्षा दिन पाइरहेकोे अवस्थामा कसैलाई परीक्षाबाट नै बञ्चित हुने अवस्था आउनु गलत भएको उनले बताए । विश्वविद्यालयले वर्षाेदेखी भर्ना शुल्क नबुझाएका विद्यार्थीहरुलाई पनि परीक्षामा समावेश गरेको भए त्यसको जिम्मेवारी संकाय प्रमुख र लेखा प्रमुखले लिनुपर्ने उनले बताए ।
विविएस तेश्रो वर्षमा अध्ययनरत कृष्णसिंह ऐरले पनि विद्यार्थीहरुलाई काखापाखा नगरिनु पर्ने बताए । उनले विश्वविद्यालयमा राजनिति हावि भएको बताउदै आसोपासे, तालाबन्दी गर्ने र धाकधम्की दिने विद्यार्थीलाई मात्रै टेर्ने तर गरिब, पहँुच नपुगेका, ईमान्दार विद्यार्थीलाई नर्टेने विश्वविद्यालयको प्रवृतिमा सुधार आउनु पर्ने बताए ।
यता व्यवस्थापन संकायका विभागीय प्रमुख खातिले भने १८ गते सम्म पारिवारिक अवस्थाबारे स्पष्ट विवरण सहित ती विद्यार्थीलाई आउन भनेको बताएका छन् । उनले ती विद्यार्थी आफु कहाँ १५ गते आएको बताउदै आर्थिक वर्षपनि सकिनै लागेकाले पूरै भर्ना शुल्क पूरा गरिनुपर्ने भन्दै सम्झाई बुझाई गरी पठाएको बताएका छन् ।