हरिश्चन्द्र बाग, कञ्चनपुर, १२ बैशाख । कञ्चनपुरको बेलौरी नगरपालिका कार्यालयमा कर्मचारी भर्ना सम्बन्धी फेरि विवाद उत्पन्न भएको छ । बेलौरी नगरपालिकाले हालै इन्जिनियर सेवा, सिभिल समूह, विल्डिङ्ग एण्ड आर्किटेक्ट उपसमूह, अधिकृत स्तर छैठौँ इन्जिनियर पद करारमा एक जना पदपूर्ति गर्नको लागि दरखास्त आह्वान गरेको थियो । उक्त पदका लागि यही बैशाख ११ गते शनिबार बिहान ११ बजेबाट लिखित परीक्षा समेत प्रारम्भ गरेको थियो । तर परीक्षा जारी रहेकै बेला परीक्षार्थीहरुले फरक पाठ्यक्रमबाट प्रश्न पत्र तयार गरेको तथ्य थाहा पाएपछि विरोध जनाएका थिए । परीक्षार्थीहरुले विरोध जनाएपछि पदपूर्ति समितिले उक्त लिखित परीक्षा स्थगित गरी यही बैशाख १३ गते सोमबार बिहान ८ बजेदेखि पुनः परीक्षा सञ्चालन गर्ने सूचना जारी गरेको छ ।
यस विषयमा बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं पदपूर्ति समितिका संयोजक नेत्र प्रसाद पौडेलसँग बुझ्दा उहाँले प्रश्नपत्रहरु स्थानीय तह तर्फको हुनुपर्नेमा भूलबस् लोक सेवा आयोगले संघ तर्फका परीक्षार्थीहरूका लागि तय गरेको नेपाल इन्जिनियर सेवा, सिभिल समूह, विल्डिङ्ग एण्ड आर्किटेक्ट उपसमूह, राजपत्राङ्कित तृतीय श्रेणी, सिभिल इन्जिनियर पदको प्रश्न पत्र पर्न गएकोले परीक्षा कार्यक्रम संशोधन गर्नु परेको बताउनु भयो । यति ठुलो गम्भीर त्रुटिलाई समेत पदपूर्ति समितिले सामान्य रूपमा लिएको पाइन्छ । पदपूर्ति समितिका संयोजक पौडेलले यो भूल बस् मानवीय त्रुटि भए पनि निक्कै सामान्य विषय भएको प्रतिक्रिया दिनुभयो ।
लिखित परीक्षामा स्थानीय तह तर्फको हुनु पर्नेमा संघ तर्फको लागि तय गरिएको पाठ्यक्रममा आधारित फरक प्रश्न पत्र हातमा परेपछि परीक्षार्थीहरुले विरोध जनाउनु र पदपूर्ति समितिले जारी परीक्षा स्थगित गरी नयाँ मिति तोक्नु स्वभाविक प्रक्रिया हो । तर सरोकारवाला अधिकांश व्यक्तिहरूले भने इन्जिनियर भर्नामा ठुलै चलखेल गर्न खोजेको आशङ्का व्यक्त गरेका छन् । यो षड्यन्त्र किन र कसले रचेको हो भन्ने कुरा अहिले चर्चा र बहसको विषय बनेको छ । स्वयं बेलौरी नगरपालिकाका जनप्रतिनिधिहरू समेत सशङ्कित बनेका छन् । इन्जिनियर पदको परीक्षामा बदमासी र चलखेल भइरहेको आशङ्कासँगै यसअघि सम्पन्न भएका विभिन्न पदपूर्तिका परीक्षाहरूमा समेत चलखेल भएको हुनसक्ने आशङ्का गरिएको छ ।
बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले परीक्षा स्थगित हुनुको कारणबारे आफू अनविज्ञ रहेको प्रतिक्रिया दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेलको संयोजकत्वमा योजना शाखा प्रमुख सुशीला लेखक र इन्जिनियर पवन बिष्ट सदस्य रहने गरी तीन सदस्यीय पदपूर्ति समिति गठन गरिएको र सोही समितिलाई आवश्यक सल्लाह सहित नीतिगत ढङ्गबाट निष्पक्ष परीक्षा कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी दिइएको नगर प्रमुख चौधरीले बताउनु भयो । यद्यपि, त्यसपछि पदपूर्ति समितिले आफूसँग कुनै पनि सरसल्लाह नगरेको र कुनै जानकारी समेत नगराएको उहाँको गुनासो छ ।
नगर प्रमुख पोतिलाल चौधरी र उपप्रमुख चित्रकुमारी चौधरीले समेत परीक्षा कार्यक्रम संशोधन सम्बन्धी सूचना टाँस गरेको देखेपछि मात्रै आफूहरूलाई थाहा भएको बताउनु भयो । स्थानीय तहको निर्वाचन पछि देशका अधिकांश क्षेत्रका स्थानीय तहहरूमा कर्मचारी भर्नामा चलखेल हुने, सेवा सुविधाका नाममा चरम अनियमितता र भ्रष्टाचार हुने गरेको विभिन्न अध्ययन प्रतिवेदनले देखाएको छ । बेलौरी नगरपालिकाका जनप्रतिनिधिहरूलाई समेत बेलाबेलामा यस्ता आरोप लाग्ने गरेको हुँदा अहिले इन्जिनियर पदपूर्तिमा समेत जनप्रतिनिधिहरू माथि पनि औँला ठडिएको छ । यद्यपि, पदपूर्ति समितिकै सदस्य एवं बेलौरी नगरपालिकाका योजना शाखा प्रमुख तथा सूचना अधिकारी सुशीला लेखकले यो त्रुटि आफ्नो हातबाट भएकोले अरू कसैलाई आरोप लगाउन नमिल्ने बताउँदै क्षमा याचना गर्नुभएको छ ।