हरिश्चन्द्र बाग, कञ्चनपुर, ०७ बैशाख । कञ्चनपुरको बेलौरी नगरपालिका अन्तर्गतको कृषि विकास शाखाले नगर क्षेत्र भित्रका ९० वटा कृषक समूह, कृषि सहकारी र व्यावसायिक कृषि फर्महरुलाई छनौट गरी ५० प्रतिशत अनुदानमा कृषि औजार उपकरण वितरण गरेको छ । चालुआर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषकहरुको आवश्यकतालाई मध्यनजर गरी ४० लाख रकम कृषि विकास शाखाको र ४० लाख रकम किसानहरुको गरी जम्मा ८० लाख रकमबाट कृषकहरुको मागका आधारमा कृषि मेसिनरी औजार उपकरण वितरण गरिएको बेलौरी नगरपालिका कृषि विकास शाखाका प्रमुख सुमनराज जोशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, कृषकहरुको मागलाई मध्यनजर गरी गतवर्ष माघ १८ गतेका दिनदेखि २१ दिनको माग संकलनका लागि सूचना प्रकाशन गरिएको थियो । उक्त सूचनाका आधारमा बेलौरी नगरपालिका भित्रका ९४ वटा कृषक समुह, कृषि सहकारी र कृषि फर्महरुको आवेदन संकलन भएको थियो । ९४ वटा आवेदनहरुका आधारमा गतवर्ष फागुन १२ गतेका दिन आर्थिक विकास समितिले गरेको निर्णयको आधारमा ९० वटा समूह, सहकारी र फर्महरु छनौट गरिएको थियो । छनौट गरिएका ९० वटा कृषक समुह, कृषि सहकारीहरु र कृषि फर्महरुसँग सम्झौता गरी गतवर्ष चैत्र मसान्तसम्म कार्य सम्पादन गर्ने गरी कार्यादेश दिइएको थियो ।
सोही प्रक्रिया पूरा गरी सोमबार बेलौरी नगरपालिका कृषि विकास शाखाको प्रांगणमा आयोजित कार्यक्रममा बीच कृषकहरुलाई हस्तान्तरण गरिएको छ । मागमा आधारित ५० प्रतिशत अनुदानमा कृषकहरुलाई कृषि औजार उपकरण हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले परम्परागत खेती प्रणालीलाई विस्तारै निरुत्साहित गरी आधुनिक खेती प्रणालीलाई अवलम्बन गर्ने नीतिका साथ कृषि औजार उपकरण वितरण गरिएको बताउनु भयो । पारदर्शिताका लागि कृषकहरुलाई नै स्वयं कृषि औजार उपकरण खरिद गर्न लगाई त्यस वाफतको ५० प्रतिशत रकम नगरपालिकाबाट अनुदान उपलब्ध गराउने कार्य भएको नगर प्रमुख पोतिलाल चौधरीले स्पष्ट पार्नुभयो ।
अधिकांश नागरिकहरु कृषिमा आधारित भएकोले पुरानो तरिकाले गरिने कृषिलाई आधुनिक र वैज्ञानिक प्रणालीमा रुपान्तरण गर्न आवश्यक देखिएकोले कृषि उत्पादनलाई वृद्धि गर्दै लैजाने, कृषिमा रोजगारीका अवसरहरु सुनिश्चित गर्दै लैजाने, कृषकको आयआर्जनमा वृद्धि गर्दै लैजाने उद्देश्यका साथ मागका आधारमा ५० प्रतिशत अनुदानमा कृषकहरुलाई कृषि औजार उपकरण हस्तान्तरण गरिएको बेलौरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत देव बहादुर चन्दले उल्लेख गर्नुभयो । त्यस्तै, कृषिमा आधुनिकीकरण ल्याउनका लागि मेसिनरी औजारहरुको प्रयोग गरी उत्पादन लागत घटाई कृषि उपजहरुको उत्पादन र उत्पादकत्व बढाउनमा सहयोग गर्ने मुख्य उद्देश्यले कृषि औजार उपकरण वितरण गरिएको बेलौरी नगरपालिकाका प्रवक्ता विनोद नेपालीको भनाइ छ ।
यस कार्यक्रममा नगरपालिका भित्रका कृषकहरुलाई २० र २२ एच.पि.का २८ वटा पावरटिलर, ७ एच.पि. का १५ वटा मिनिटिलर, ५ एच.पि. का २६ वटा पम्पसेट, २ वटा रिपर, १७ वटा मोटर र केही बोरिंग सामग्री गरी जम्मा ९० वटा औजार उपकरण वितरण गरिएको छ । ती औजार उपकरणहरुले कृषकहरुको आयआर्जनमा मद्दत पुग्ने र जीवनशैलीमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको बेलौरी नगरपालिका आर्थिक विकास समिति संयोजक नेत्रराज गिरीले बताउनु भयो ।
पछिल्लो समयमा संघीय, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारले कृषिमा अनुदानका कार्यक्रम सञ्चालन गरिरहेका छन् । जसबाट व्यावसायिक कृषि पेशामा लागेका कृषकहरु लाभान्वित भइरहेका छन् । बेलौरी नगरपालिकाले समेत विभिन्न समयमा कृषकहरुलाई अनुदानमा बिउविजन, मलखाद, यन्त्रउपकरण र प्राविधिक सहयोग गरिरहेको भएपनि यस किसिमका कार्यक्रम समयमै गर्न उपयुक्त हुने अगुवा कृषक करमसिंह रानाको भनाइ छ । हाम्रो देशको अर्थतन्त्रको मुख्य आधार नै कृषि भएतापनि बढ्दो बेरोजगारी समस्याले युवा जनशक्ति विदेश पलायन भइरहेको समस्या सर्वविदितै छ । युवा जनशक्तिलाई कृषि पेशामा आकर्षित गर्न पनि यस किसिममा कार्यक्रमले ठुलो भुमिका खेल्ने देखिन्छ ।