कञ्चनपुर, ०५ बैशाख । कञ्चनपुरका आरक्षपीडित विस्थापित परिवारको पुनर्स्थापनाका लागि सरकारले नेकपा एमालेका युवा नेता सुरेन्द्र बमलाई संयोजकमा नियुक्त गरेको छ । मन्त्रिपरिषद्को वि.सं. २०७७ चैत्र २० गते बसेको बैठकको निर्णयले आरक्षपीडितको समस्या समाधान गर्नका लागि कञ्चनपुरका एमाले युवा नेता बमलाई ३० औँ आयोगको संयोजकमा नियुक्त गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णय अनुरूप वन मन्त्रालयले बमलाई आयोगको संयोजकमा नियुक्त गरेको हो ।
संयोजक बमको अध्यक्षतामा सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरिएको छ । सदस्यमा सहायक प्रमुख जिल्ला अधिकारी, प्रमुख मालपोत अधिकृत, प्रमुख नापी अधिकृत, डिभिजन वन अधिकृत, कोष तथा लेखा नियन्त्रण प्रमुख र सदस्य सचिवमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृतलाई आयोगको पदाधिकारी बनाउने नीतिगत व्यवस्था रहेको छ । वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले संयोजक बमलाई दिएको नियुक्ति पत्र वन मन्त्री प्रेम बहादुर आलेले आइतबार हस्तान्तरण गर्नुभएको छ । एक वर्षका लागि कार्यदल गठन गरिएको बताइएको छ ।
दुई दशक अघि तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज) बाट विस्थापित परिवारको अझैसम्म पनि पुनर्स्थापना नहुँदा उनीहरू खुला आकाश मुनि बस्न बाध्य छन् । २०७४ सालमा सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा एमालेका नेता नर बहादुर धामीले चुनावका बेला जनतासंग आरक्षपीडितको समस्या समाधान गर्ने प्रतिबद्धता अनुरूप छुट्टै आयोग गठन गरिएको छ ।
प्रतिनिधि सभा सदस्य धामीले आरक्षपीडितको समस्या दीर्घकालीन रूपमा समाधानका लागि सरकारले गठन गरेको आयोगले वास्तविक पीडितको समस्या समाधान गर्न सुझाव दिनुभएको छ । ‘आरक्षपीडितले मानिस भएर पनि नारकीय जीवन जिउन बाध्य भएका थिए, ‘सांसद धामीले भन्नुभयो, ‘अब उचित ढङ्गबाट समस्या समाधान गर्नुपर्छ ।’ नयाँ समितिले उचित ढङ्गले पीडितको पीडा सम्बोधन गरेर न्याय दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
आयोगका नवनियुक्त अध्यक्ष सुरेन्द्र बमले सरकारले दिएको जिम्मेवारी निर्भीकताका साथ पुरा गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । लामो समयदेखि पुनर्स्थापनाको पर्खाइमा रहेका आरक्षपीडितको समस्या समाधानका लागि सरकारले आयोग गठन गरेसंगै पीडितले समस्या समाधान हुने पूर्ण विश्वास गरेका छन् ।