हरिश्चन्द्र बाग, कञ्चनपुर, ३१ चैत्र । नेपाल उत्पीडित जातीय मुक्ति समाजको वृहत् राष्ट्रिय भेला काठमाण्डौँमा सम्पन्न भएको छ । “जातपात र छुवाछुत प्रथाको पूर्ण अन्त्य, समतामूलक समाजको निमार्ण हाम्रो लक्ष्य” भन्ने मूलनाराका साथ प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा नेपाल उत्पीडित जातीय मुक्ति समाजको बृहत राष्ट्रिय भेला सोमबार काठमाडौं स्थित राष्ट्रिय सभागृहमा सम्पन्न भएको हो ।
मुक्ति समाजका केन्द्रीय अध्यक्ष जितु गौतमको सभाध्यक्षतामा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा नेकपा एमालेका महासचिव ईश्वर पोखरेल, खानेपानी मन्त्री मणिचन्द्र थापा, पूर्वमन्त्री जगत बहादुर विश्वकर्मा, पूर्वमन्त्री एवं नेकपा एमालेका पार्टी स्थायी कमिटी सदस्य तथा मुक्ति समाजका संस्थापक अध्यक्ष छविलाल विश्वकर्मा, मुक्ति समाजका ईन्चार्ज बम विश्वकर्मा लगायत शीर्ष नेतृत्वको समेत विशेष उपस्थिति रहेको थियो ।
नेपाल कम्युनिष्ट पार्टी एमाले निकट गौरवशाली संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको बृहत राष्ट्रिय भेलाबाट कञ्चनपुरका हिरा सिंह सार्की, कृष्ण राम सुनार, भगत सिंह विके, विष्णु बहादुर बि.क, हस्त बहादुर बिक, ममता टमाटा, तेज बिक, मोहन बिक, भवानी सार्की, सुनिता नेपाली, दिल बहादुर लुहार, बल बहादुर बिक र सुरेश गजुरेललाई समेत केन्द्रीय महाधिवेशन आयोजक कमिटीमा मनोनयन गरिएको छ ।